समाज

पाल्पाबाट मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना,५ जनाको घटनास्थलमै मृत्यु

पाल्पाबाट मनकामना दर्शनकालागि भनेर यात्रु लिएर हिँडेको बस नवलपरासीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। २३ जना घाइते भएका छन। पाल्पाको रम्भा गाँउपालिका १ हुँगीबाट आज बिहान हिडेको ना ६ ख ७५८० नम्बरको बस पुर्वी नवलपरासीको बुलिङटारमा दुर्घटना भएको हो।

प्रहरीले दुर्घटना स्थलबाट ५ जनाको शव भेटिएको र २३ जना घाइतेको उद्यार गरीएको जनाएको छ। मृत्यु हुनेमा  रम्भा गाँउपालिका १ हुँगीका ५८ वर्षीया देवी गाहा,६२ वर्षीया धनी विक,४१ वर्षीया तारा विक,१७ वर्षीय विनय विक र स्याङजा गल्याङ ९ की ४५ वर्षीया फुलमाया विकको मृत्यु भएको प्रहरी चौकी डेढगाँउले जनाएको छ।

घाइतेहरुलाइ उद्यार गरी चितवनका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घाइते मध्ये केही गम्भिर रहेको बताइएको छ। बस सडकबाट झण्डै एक सय मिटर तल खसेर भिर अडकेको प्रहरीले जनाएको छ।  

शनिबार राती ९ बजेपछि रम्भाबाट छुटेको बस बिहान साढे ३ बजेतिर दुर्घटनामा परेको बताइएको छ। बसमा रम्भा गाँउपालिकाको नौंगाँउ,गैरी,साठी,च्याङलिङ लगायतका गाँउबाट दुइ वटा बसमा गाँउलेहरु मनकामना दर्शनकालागि आज बिहानै हिँडेको र त्यसमध्ये एउटा बस दुर्घटनामा परेको बताइएको छ।

प्रकाशित: १३ कार्तिक २०७९ ०२:०१ आइतबार

बस दुर्घटना