समाज

भारतीयले विस्फोट गरेको ढुंगा उछिट्टिएर नेपाली बालकको मृत्यु

दार्चुलाको व्यास गाउँपालिका–२ तम्बाकुमा भारतमा विस्फोट गरिएको ढुंगा उछिट्टिएर नेपालमा बाटोमा हिडिरहेको बालकको मृत्यु भएको छ।

शुक्रबार बिहान तम्बाकुबाट घर फर्किने क्रममा बाटो हिडिरहेको अवस्थामा पारीबाट उछिट्टिएर आएको ढुंगा लागेर व्यास गाउँपालिका–२ का हिक्मत महराका ९ वर्षीय छोरा पवन महराको मृत्यु भएको छ।

बिहान साढे ९ बजेतिर व्यास गाउँपालिका–२ स्थित तम्बाकु नजिकको थि भन्ने ठाउबाट दुम्लिङ्तर्फ आफ्ना बुवा र बहिनीसँगै आइरहेका पवनको पारी भारतबाट आएको ढुंगा लागेको व्या गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धिरन सिंह बुढाथोकीले बताएका छन्।

भारत पिथौरागढ जिल्लाको दार्चुला अन्तर्गतको तवाघाट–लिपुलेक सडक खण्डको लखिमपुरको चट्टानी भू–भागमा सडक निर्माण गरिरहेको गर्ग एण्ड गर्ग निर्माण कम्पनीले सीमा क्षेत्रमा कुनै जानकारी नदिइ विस्फोट गराउँदा घटना भएको उनले बताए। पवनसँगै हिडिरहेकी उनकी बहिनी समेत पारीबाट उछिट्टिएर आएको ढुंगा लागेर घाइते भएकी छिन्।

दुम्लिङ्देखि माथिल्लो क्षेत्रमा भारतीय पक्ष नेपालतर्फको सीमा क्षेत्रमा व्यापक नोक्सान हुने गरी सीमा पारी सडक निर्माण गरिरहेको छ। अहिले घटनास्थलमा दुम्लिङ्बाट नेपाल प्रहरी र सशस्त्र प्रहरी गराएका छन्। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०७९ १०:५८ शुक्रबार

दार्चुलाको व्यास गाउँपालिका जिल्ला प्रहरी कार्यालय