समाज

हरिवंश आचार्यको घरमा बालेनको देउसी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले वरिष्ठ अभिनेता हरिवंश आचार्यको घरमा देउसी खेलेका छन्। उनी फिल्म ‘महापुरूष’ ले आयोजना गरेको देउसीभैलो कार्यक्रममा नजिकका साथीहरूसँग अभिनेता आचार्यको निवासमा पुगेका थिए।

उनले त्यहाँ आफू मेयरभन्दा पनि साथीभाइ बनेर देउसी खेल्न आएको बताए। र्यापर बालेनले लोकभाकामा भट्याउँदै गर्दा अभिनेता आचार्यसहित फिल्मका निर्माता म्याक्स दिपेश खत्री, निर्देशक प्रदीप भट्टराई, कलाकारसमेत रहेका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ, कलाकार अरुण क्षेत्रीसहितको टोली छमछमी नाचेका थिए।

सामाजिक कार्यका लागि फेसबुकमा खोलिएको मेन्ज रूम रिलोडेड (एमआरआर) ग्रुपसँग जोडिएका केही सदस्यहरूसँगै सामाजिक अभियन्ताहरू देउसी खेल्न अभिनेता आचार्यको निवासमा पुगेका थिए। अभिनेता आचार्यकहाँ देउसी खेल्ने योजना बनेको थाहा पाएपछि आफू सहभागी भएको बालेनले बताए। आफ्नो प्रांगणमा देउसी खेल्न आइपुगेका युवाहरूलाई स्वागत गर्दै कला संस्कृतिको प्रवर्द्धन गर्न अभिनेता आचार्यले सुझाए। ‘हाम्रो कला, संस्कृतिलाई युवाले आउँदो पुस्तासम्म पुर्याउनुपर्छ। उहाँहरू देउसी खेल्न आउनु भयो। खुसी लागेको छ,’ अभिनेता आचार्यले भने। 

प्रकाशित: ९ कार्तिक २०७९ ०६:४८ बुधबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह