समाज

जुम्लामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध

जुम्ला सदरमुकाम खलङ्गामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ। गत असोज तेस्रो साताको अविरल वर्षापछिको बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो।

नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार बाढीपहिराबाट जुम्ला र कालीकोट खण्डमा ९० वटा पोलमा क्षति पुगेको छ।'खलङ्गामा दुई सातादेखि विद्युत् आपूर्ति भएको छैन', उनले भने, 'स्थानीय घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुली वितरण भइरहेको छ।'

अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्राथमिकता दिएर वितरण गरिएको छ। क्षतिग्रस्त भएको स्थानमा बिजुलीका पोल गाड्ने र तार जोड्ने काम भइरहेको छ। सडक अवरुद्ध भएकाले विद्युत् सामग्री ओसारपसारमा समस्या भएको केन्द्रले जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०७९ १४:०१ सोमबार