समाज

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको स्वास्थ्य शिविर

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले स्वास्थ्य शिविर सम्पन्न गरेको छ। नेपाली सेना र राजापुर नगरपालिकाको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो।

बर्दियास्थित राजापुर नगरपालिका वडा नम्बर ४ मा रहेको अमर सहिद दशरथ चन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नेपाली सेनाले जनाएको छ। विशेषज्ञ डाक्टरसहित निःशुल्क स्वास्थ शिविर गरेको नेपाली सेनाले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका जनतालाई सहयोग गर्ने उद्देश्यले सिविर आयोजना गरिएको थियो।  

नेपाली सेना श्री ४ नम्बर बाहिनी अड्डा बाँकेका सहायक रथी उत्तमकुमार बिस्टको निर्देशनमा बज्रदल गण राँझा बाँकेका गणपति श्याम आत्रेय पौडेल, सेनानी शिव थापासहितको टोलीले स्थलगत अध्ययन गरी नगर प्रमुख दिपेश थारुको सल्लाहअनुसार उक्त शिविर सञ्चालन भएको हो। उक्त स्वास्थ शिविरमा जनरल फिजिसियन सेवा, प्रसूति तथा महिला रोगसम्बन्धी सेवा, छाला तथा यौनजन्य रोगसम्बन्धीलगायत अन्य स्वास्थ्य सेवा दिइएको थियो। राजापुर(८ का ज्येष्ठ नागरिक ८५ वर्षीय मानबहादुर थारुको स्वास्थ जाँच गरी शिविरको उद्घाटन गरिएको थियो। शिविरमा जनरल स्वास्थ सेवामा चार सय ८७ जना, महिला तथा स्त्रीरोग सेवामा ५५ जना, छालारोगका एक सय आठजना गरी ६ सय ४१ जनाले सेवा लिएका थिए। सोही शिविरमा ल्याबसेवा ५० जना, एक्स(रे सेवा ४० जना, इसिजी सेवा १० जनाले लिएको सिविर व्यवस्थापनमा खटिएका सेनानी शिव थापाले जानकारी दिए।

बाढीपीडितहरुको स्वास्थ्यलाई ख्याल गर्दै शिविर आयोजना गरिएको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जनाए।

प्रकाशित: ५ कार्तिक २०७९ १२:१५ शनिबार

स्वास्थ्य शिविर