समाज

सशस्त्र प्रहरीको गाडी दुर्घटना हुदा ३ सशस्त्र प्रहरीसहित ४ जनाको मृत्यु

कपिलवस्तुको चार नम्बरबाट तौहिलवा तर्फ फर्किदै गरेको सशस्त्र प्रहरीको वानटेन गाडी दुर्घटना हुदा ३ जना सशस्त्र प्रहरीसहित ४ जनाको मृत्यु भएको छ। बेस क्याम्प बिसनपुरबाट फर्कर्दै गरेको सशस्त्र प्रहरी गण नम्बर २८ को सशस्त्र प्रहरी सवार ना १ ग ५५४ वान टन गाडी शुक्रबार साझ बाणगंगा नगरपालिका वडा नम्बर ३ सिउटीमा अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा गाडी चालक सशस्त्र प्रहरी सहायक हवल्दार  रमेश चौधरी र साइकलयात्री स्थानीय अमर संग्रामी मगरको जीतपुर स्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।  

गम्भीर घाइते भएका सशस्त्र प्रहरी हवल्दार रमेश चौधरी र सशस्त्र प्रहरी जवान जनक चौधरीको भैरहवा स्थित युनिभर्सल मेडीकल कलेजमा उपचारको क्रममा शुक्रबार राति साढे १० बजे मृत्यु भएको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलले जानकारी दिए।  

गम्भीर घाइते भएका सशस्त्र प्रहरी नायब उपरिक्षक गोबिन्द सुबेदी, जवान प्रेम मल्ल र बरिष्ठ प्रहरी हवल्दार कुल बहादुर घर्तीको भैरहवा स्थित युनिभर्सल मेडीकल कलेजमा उपचार भईरहेको छ।  

उनीहरुको अवस्था नाजुक रहेको र तीब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरी निरीक्षक यागेन्द्र तिमिल्सिनाले बताए।  घटना के कसरी भएको हो त्यसको अनुसंधान गरिने इलाका प्रहरी कार्यालय पिपराको प्रहरी निरीक्षक शशीबावु केसीले बताए।  

प्रकाशित: ५ कार्तिक २०७९ ०३:४२ शनिबार

सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना