समाज

बझाङमा जीप दुर्घटना: ज्यान गुमाउने चारको पहिचान खुल्यो (अपडेट)

बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने चार जनाको पहिचान खुलेको छ। दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।  

उनका अनुसार अन्य मृतक र घाइतेको पहिचान खुलेको छैन। बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो। सु प प्र ०१–००१ च ११७ नम्बरको जीप तुफानडाँडामा दुर्घटनामा परेको थियो। 

जीप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो। अहिले घाइतेलाई जिल्ला अस्पताल सिमखेत ल्याउने काम भइरहेकोसमेत सूचना अधिकारी अवस्थीले बताए।

प्रकाशित: २ कार्तिक २०७९ १३:०१ बुधबार

बझाङमा जीप दुर्घटना