समाज

जथाभावी सडक निर्माणले पानीकाे मुहान संकटमा

सडक निर्माण पछि पानीको मुहान नै भासिएको क्षेत्र, जहाँ हिउँदे सिजनमा पानी नै हुँदैन।<br>

सुख्खा याम होस, की हिउँदे मौसम बाजुरा जयवागेश्वरीका मनवीर शाहीको परिवारलाई न खानेपानी अभाव हुन्थ्यो, न त पशुचौपाया पाल्न नै पानीको समस्या। घर छेउमै बग्ने मुहानको पानी खाएर ७ दशक बिताए। आफ्नो जीवनका ६९ वर्ष खानेपानीको असुविधा नै भोग्न परेन।  

जब शाही जीवनको ओराली लाग्न थाले पानीको समस्या भोगिरहेका छन्। उनको परिवारले करिब ७ दशकदेखि पिउँदै आएको फणिल्ला पानीको मुहान सुकेको छ। मुहान सुकेको अढाइ वर्ष भयो। मुहान माथि हाल डोजरले सडक बाटो खनेको छ।  

सडक जयवागेश्वरीको गाउँदेखि खप्तड छेडेदह गाउँपालिकाको केन्द्र डोगडीसम्म जोड्न निर्माण गरिएको हो। मुहान भरिएको क्षेत्र खप्तड छेडेदह गाउँपालिकाको २ नम्बर वडा पर्छ। सडक खनेदेखि पानीको मुहान भासिएर छ। मुहानमाथि नै सडक खनेपछि पानी सुकेको स्थानीय दिर्घ शाहीले बताए।  

हाल शाही सहीत गाउँका अन्य ३५ बढी परिवारलाई खानेपानीको संकट छ। हिउँद र जेठ बैशाखको सुख्खा याममा त पानी नै पाउँदैन। मुहान भासिएपछि बर्षातमा समेत अभाव भोग्नु परेको छ। मौसमी बसाइका लागि प्रयोग हुने उक्त बस्ती नै २ घण्टा लामो समय पानीकै लागि बिताउन बाध्य छ।

बोकेर ल्याउनु पर्ने पानी समेत खुला बग्ने खोलाको हो। पुर्खेउली श्रोत नै नरहेपछि मान्छेलाई मात्र नभई पशुचौयापालाई पनि समस्या परेको छ। घर छानामा गरिने कृषि तथा तरकारी खेती समेत लगाउन छोडेको गुनासो स्थानीय रेश्मी शाहीको छ।  

पछिको अवस्था बारे विचार नै नगरी, स्थानीयलाई नसोधेरै जथाभावी सडक निर्माण गरिदा दुख भोग्नु परेको निष्कर्ष स्थानीयको छ। तत्कालिन नगरबहादुर रावत अध्यक्ष भएको गाउँपालिकाले बाटो निर्माण गरेको छ। निर्माण गरिएको बाटो विना स्टमेट, विना सर्भे र कार्यपालिकामा निर्णय नै नगरी खनिएको थियो।  

सीमित व्यक्तिको स्वार्थका कारण योजना विनै सडक निर्माण गरिँदा भएका संरचना र श्रोतको ठूलो क्षति पुगेको देखिन्छ। कागजी प्रक्रिया पछि मिलाउने गरी काम गरिएको तत्कालिन समयमा कार्यरत इन्जिनियरको दाबी छ। सके डिपीआर नै गरौं, नभए, प्रारम्भीक सर्भे गरौ? पालिकाको निर्णय पनि चाहिन्छ भन्दा सुनुवाई नगरेरै सडक खनिएको कर्मचारी श्रोतकै दाबी छ।तर पालिकाले भुक्तानी प्रक्रिया मिलाउन भने पछि निर्णय गरेको कर्मचारी श्रोतको भनाई छ।  

खप्तड राष्टिय निकुञ्जसँग जोडिएको जंगलका रुख काटिएका छन्। पानीका दर्जनौ श्रोतहरु क्षतबिच्छेद भएका छन्। पैदल यात्रीका लागि समेत खाने पानी छैन। उकालो बाटोको प्यास मेटाउने पानीको मुहान सुकेकोमा स्थानीय चिन्तित छन्। सुविधा बढ्न भन्दा सडक आएपनि झन् समस्या थपियो भन्छन्, स्थानीय वीरु शाही। शाही उमेरले ८४ वर्ष नाघे।  

पानी मात्रै होइन, खानेपानी मुहानको अवशेष समेत बाँकी छैन्। बाजेका दिनदेखिको पानी सुकेपछि वीरु शाही आक्रोशित छन्। अन्य ठाउँको पानीको स्वाद नै मन पर्दैन। खोलाको भल बगेको पानी खादाँ रुघाखोकी लागेको लागै छ, उनले दुखेसो सुनाए।  

स्थानीयले हाल पानी नआएको दिन खोलाको पानी खाने गरेका छन्। भने पानी परेको दिन खोलामा धमीलो पानी आउने हुँदा आकाशको पानी खान बाध्य छन्। स्थानीय सडक सुविधामा जोडिएकोमा खुसी हुनु भन्दा पानीको मुहान सुकेकोमा दुखी छन्।  

यो प्रतिनिधी घटना मात्रै हो। बाजुराका नौ वटै स्थानीय तहमा यहि समस्या छ। सयौँ मुहानहरु डोजर दोहनमा दबिएको नागरिक अगुवा महेश कार्कीले बताए। बाजुराका लागि सडक सञ्जाल जोडिन पहिलो साँफे मार्तडी सडक २०५२ मा निर्माण सुरु गरिएको हो।

त्यसपछि कामका लागि खाद्यन्न कार्यक्रम अन्र्तगत विश्व खाद्य कार्यक्रमले बाटो निर्माण २०५६ पछि गरेको हो। तत्कालिन जिल्ला विकास समितिका सभापति लालबहादुर थापाले बाजुरामा चार वटा रणनीति सडकको लिखित निर्णय गरेको देखिन्छ। तर डोजर प्रयोग र अस्तव्यस्त सडक निर्माणको काम २०६५ पछि मात्र भएको देखिन्छ।  

मान्छेले निर्माण गर्न नससकेको ठाउँमा डोजर प्रयोग हुने गरेको थियो। २०७० पछि भने बाजुरामा डोजरको विकल्प अर्को साधन छैन, जस्तो छ। मार्तडी कोल्टी, बल्दे आटीचौर, मार्तडी थामलेक, मार्तडी घटमुना, डाब खप्तड, मौरे त्रिवेणी सडक त्यसपछि नै निर्माण थालिएका हुन्। यी मध्ये पनि मैरे त्रिवेणी, कैलाशमाडौं छतारा सडक बाहेक सबै सडक डोजरकै प्रयोगमा निर्माण गरिएका छन्।

गाउँ बस्तीमै सडक पुग्ने भएपछि सुरुमा स्थानीय खुसी भए। जब डोजरको खनाइपछिको पहिरो र प्राकृतिक श्रोत पानीका मुहानमा पुर्याएको क्षतिले सास्ती दिएको छ। सडक निर्माण नै पहिलो समस्या भएको भन्छन्, नागरिक अगुवा समेत रहेका स्थानीय महेश कार्की।

कार्कीकै गाउँ बुढीनन्दा ७ मा खानेपानीको समस्या छ। पाण्डुसैन जगन्नाथ सडक निर्माण सुरु भएदेखि नै पानीको अभाव देखिएको हो। गाउँमा रहेको कालेगाड खानेपानीको मुहान सुकेको छ। ३४ परिवार पानीको अभाव छन्।  

तत्कालिन जिल्ला विकास समितिले हालको जगन्नाथ गाउँपालिका जोड्ने सडक निर्माण गरेकै दिनबाट पानीको मुहान सुकेको स्थानीयको भनाई छ। त्यो सडक पनि विना डिपीआर नै निर्माण  गरिएको थियो। डोजर चालक नै सडक निर्माणका इन्जिनियर थिए। चालकको दिमागमा लागेको भूगोल नै नक्सा बनाएर सडक निर्माण गरिएको थियो।

तर सडक दशक सम्म पनि सवारी चल्ने गरि बनेको छैन। मानव जीवनलाई सहज बनाउनुको साँटो पानीको मुहान नै सुकाएर थप सास्ती दिएको गुनासो स्थानीयको छ। उनीहरु हाल खोलाको पानी खान बाध्य छन्। पानीकै लागि स्थानीय दर्जनौ पटक नगरपालिका र जिल्लामा पुगेका छन्। तर खानेपानीको माग पुरा भएको छैन।  

यो वर्ष भने स्थानीय पालिकाले खानेपानी बनाइदिने योजना अघि सारेको छ। त्यो बेला विना सर्भे पानीको श्रोत नै मासिने गरि सडक बनाउन हुदैन, थियो, क्षति भइहाल्यो अब अन्यन्त्रबाट भएरपनि खानेपानी व्यवस्था गरिने बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए।  

डोजर आतंक नै चल्यो, सीमित व्यक्ति धनीहुन स्थानीय तहको पहिलो कार्यकालले विकास भन्दा बढी विनाश गरेको देखिन्छ, अब त्यसको सुधारमा हामी लाग्छौं, प्राकृतिक श्रोत नै सकिए हामीले बाँच्ने आधार नै नरहने नगर प्रमुख बोहराले भने।

जिल्लाका सबै जसो पालिकाको यो साझा समस्या जस्तै हो। हिमाली गाउँपालिका १, २ र ३ बाहेक जिल्लाका अन्य सबै वडासम्म सडक पहुँच पुगेको देखिन्छ। बाजुरामा ६९ वटा वडा छन्। ती सबै वडा पुग्ने सडक मध्ये एकआध बाहेक कुनैको पनि डिपीआर छैन। वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन नै तयार छैन।  

सडकले प्राकृतिक श्रोत मात्र सुकेको छैन्, मानव जीवन लाई नै सास्ती दिएको छ। भावि पुस्ताका लागि संकट निम्त्याउने काम भएको भन्छन्, स्थानीय समेत रहेका खानेपानी तथा उपभोक्ता महासंघ बाजुराका निवर्तमान अध्यक्ष तुलसीराम रोकाया।

रोकाया हाल बाजुरा जिल्ला समन्वय समिति अध्यक्ष पनि हुन्। गाउँ जाँदा पुराना मुहान भेटिनै छोडेको अवस्था छ। सडककै समस्याले मुल सुकेको दुखेसो स्थानीयबाटै आउँछ, विना योजना र प्राविधिक सर्भे नगरिदा यो अवस्था आएको हो, यसो हुनु राम्रो होइन, अब सकेजति सुधार गर्न पर्छ रोकायाले भन्नु भयो।

उनले नौ वटौ पालिकालाई समन्वय गरेर थप क्षति हुन नदिने गरि लाग्ने भूमिका खेल्ने बताए। मुहान सुक्दा गाई बस्तुलाई समेत पाल्न समस्या थपिएको छ। हिउँदमा समेत उही मात्रामा दुध दिने भैसी गोदाको रुघेपानी सुकेपछि दुध घटाएको स्थानीय केशे सार्कीले बताए।  

खप्तड छेडेदह गाउँपालिका ७ गोदामा रुघे पानीको मुहान थियो। हिउँदमा समेत पानी निकै तातो हुने, पशुचौपायालाई समेत नुहाउन, खुवाउन सजिलो हुन्थ्यो। मार्तडी थामलेक सडक निर्माण पछि मुहान भासिएको छ। बर्षादमा भलको पानी जस्तै बग्ने देखिएपनि हिउँदमा पानी नै भेटिदैन्। सडक तत्कालिन जिल्ला विकास समितिबाटै निर्माण गरिएको हो। जहाँ स्थानीय सय बढी परिवारलाई असर परेको छ।  

स्थानीयले हिउँदमा उक्त पानीको प्रयोग गर्ने गरेका थिए। पानी मानवका लागि भन्दा बढी गाइ भैसीका लागि प्रयोग हुने गरेको थियो। हिउँदमा समेत तातो हुने हुँदा गाइ भैसीलाइए प्रयोग गर्ने र निरोधि हुने, विराम नहुने, चिसोले नछुने विश्वास थियो।  

सडक समस्याकै कारण बडीमालिका नगरपालिका ७ जिल्लीका स्थानीय ३० बढी परिवारलाई समेत पानीको समस्या छ। गाउँमा खानेपानी निर्माण गरिएपनि पुरानो कुवा बनाएर पानी खाने गरेको जिल्ली कुवा हराएको छ।  

हिउँदमा समेत तातो हुने हुँदा गाइ भैँसी पालनका लागि पनि उक्त मुहान अति उपयुक्त थियो। तर गाउँमा शहरी विकासले सडक निर्माण पछि जिल्ली कुवाको पानी सुकेको स्थानीय भानुभक्त जैशीले बताए।

बृहत खानेपानी नियमित छैन। उक्त मुहान सुकेपछि पानी नआएको दिन २ घण्टाको दुरीबाट बोकेर पानी खानु परेको छ। सडक निर्माणकै कारण मुहान सुकेपछि बुढीगंगा नगरपालिका १ कुँडीका स्थानीय २ सय बढी परिवारलाई पानीको समस्या छ।  

स्थानीयले बिगत ४ दशक देखि पानीको समस्या भोगिरहेका छन्। सडक निर्माण पूर्व सानो मात्रामा पानी आउने भएपनि हाल बर्षादमा बाहेक हिउँदमा सुकेको स्थानीय राजेन्द्र परिले बताए। स्थानीय पानी सुके पछि १ घण्टा लगाएर आटीचौरको बगर खोलाको पानी खान बाध्य छन्। सडक तत्कालिन जिल्ला विकास समितिले जिल्लाकै पहिलो रणनीतिक सडकका रुपमा निर्माण गरेको हो।  

गाउँमा डोजर प्रयोग कै कारण पहिरो लाग्ने गरेको छ। पानीका मुहान सुकेका छन्। पुराना सँस्कृति र सभ्यता मासिने खतरा छ। तर पनि स्थानीय तहका प्रतिनिधी डोजर विना सडक निर्माण गर्न तयार छैनन्। डिपीआर निर्माण पछि मात्र सडक निर्माणको गर्नुपर्ने मनस्थिति नै बनाएका छैनन्।  

बडीमालिका नगरपालिका ७ रजातोलीका स्थानीयको जल भर्ने पानीको मुहान नै भासिएको छ। मार्तडी कोल्टी सडक निर्माण पछि धार्मीक कार्यका लागि प्रयोग हुने जल भर्ने पानीको मुहान नै सुकेको स्थानीय अर्जुनराज जैशीले बताए।  

स्थानीयले ऋषिमाडौं देवता मान्ने गरेका छन्। त्यही मन्दिरका लागि पाती सेलाना मुहानको पानी जलको रुपमा प्रयोग गर्ने गरेका थिए। धार्मिक आस्थाको धरोहर बुढीनन्दा क्षेत्र जान नसक्ने अवस्थामा त्यही मुहानलाई जलको रुपमा प्रयोग गर्ने गरेका थिए। ८० परिवार तिमिल्सेनाको जल भर्ने मुहान नै गायब छ।  

परापूर्व कालदेखि नै जल पानीको रुपमा प्रयोग हुन्थ्यो। सडक निर्माण गर्दा मुहान सुक्छ, हराउँछ भन्ने थाहै पाएनन्। निर्माण गर्नेले पनि यो हुन सक्छ भनेनन अहिले गाउँले पछुताएका छन्।  

सुविधा होला भनेर चुप बस्यौं, सुविधा आएपनि सँस्कृति नै मासिने अवस्थामा पुग्यो, परम्परा नै मुहान सुकेर तोडियो, धार्मिक आस्था र विश्वासको मुहान नै हराएकोमा ७० कटेका स्थानीय मनरुप पाध्यायको चिन्ता छ। धर्म माथि नै प्रहार भएको आरोप स्थानीयको छ।  

उसो त भूसंवेदनशीलता ख्याल नगरी ग्रामीण सडक जथाभावी खन्दा मुहान सुकेका छन्, पानी अभावकै कारण स्थानीय बासिन्दाको बसाइँसराइ तीव्र बनेको छ। ‘मनपरी तरिकाले बाटो खनेका छन्, त्यसबाट हुनसक्ने क्षतिको मूल्यांकन गरिएको छैन, विकास गर्ने नाममा पानीको मुहान सुकिरहेका छन्,सडक खन्नुअघि वातावरणीय प्रभाव मूल्यांकन गरिनुपथ्र्यो। तर, डोजर चालक प्राविधिक भएर समस्या थपिएको छ।’ इन्जिनियर उपेन्द्र साउँद भन्छन्।  

पानीका मुहान खलबलिएर सुकेका छन्। बाढी पहिरोको पनि उत्तिकै डर छ। पछिल्लो समय जलवायु परिर्तनका कारणले पानीका स्रोतहरु घट्ने, सुक्ने क्रम रहेको छ,। ‘पानी हाम्रो सभ्यता हो।संरक्षणले मात्रै यो सम्भयता बाँच्छ। तर, पैसा कमाउने दाउले यसको अनावश्यक दोहन भइरहेको देखिन्छ।  

पहाडका कन्दराबाट रसाएर बग्ने पानीका झरना र कुवा अहिले सुक्दै गएपछि गर्मी सुरु हुने बित्तिकै गाउँ गाउँमा खानेपानीको अभाव भएको छ। वनजङ्गल, डाँडाकाँडा जताततै जथाभावी डोजरले सडक खन्दा बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप त बढेका छन् नै गाउँ बस्तीमा खानेपानीको अभाव हुन थालेको छ।

पालिकाको मनपरिले प्राकृतिक श्रोतको खुलेआम दोहन  

देशका तीन सय बढी पालिकामा हालै गरिएको अध्ययनले पानीका मुल सुक्ने र सर्ने समस्या अत्यधिक बढेको पाइएको छ । जसका कारण पहाडी र हिमाली क्षेत्रका जनताको जनजीवन कष्टकर बन्दै गएको छ भने बसाइँ सरेका कारण कतिपय गाउँ नै खाली भएका छन्।  

परम्परागत मुल सुक्दा पिउने पानीका लागि विगतमा नामै नसुनेका लिफ्ट, बोरिङ, डिप ड्रिलिङजस्ता महँगो विकल्प रोज्नुपर्ने बाध्यतासमेत सिर्जना भएको छ । जसले गर्दा अन्य क्षेत्रमा लगानी गर्नुपर्ने अर्बौं बजेट पानीको जोहोका लागि खर्चिनुपर्ने अवस्था देखिएको छ ।

७ सय ५३ पालिकामध्ये हिमाल, पहाड र चुरे क्षेत्रमा ४ सय ७५ वटा छन् । ४ सय ७५ मध्ये हिमाल, पहाड र चुरेका ५४ जिल्लाका ३ सय पालिकामा पानीको उपलब्धताबारे अध्ययन गरिएको हो । तराई÷मधेसमा पानीका स्रोत सिधै नजोडिने भएकाले अध्ययनका लागि हिमाल, पहाड र चुरेका पालिकालाई छानिएको प्रतिवेदनमा उल्लेख छ ।  

नेपाल पानी सदुपयोग फाउन्डेसन (एनडब्लूसीएफ) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले तराई–मधेसबाहेक पहाड र हिमालका ३ सय पालिकामा गरेको अध्ययनले करिब ७४ प्रतिशत पालिकामा पानीका मूल सुक्ने र ५८ प्रतिशतमा मूल सर्ने घटना भएको देखाएको छ ।

पहाडी र हिमाली क्षेत्रका पालिकामा पानीका मूल सुक्ने, मूल हराउने र मूल सर्ने घटनामा वृद्धि भएको हुदै गएको छ। ‘यो समस्या आगामी दिनमा अझै बढ्ने देखिन्छ ।’ पछिल्लो दशक मुहानमा पानीको मात्रा घट्ने र मुहान सुक्ने क्रम बढेको देखिएको हो । अध्ययनअनुसार भौगोलिक विभाजनका आधारमा हेर्दा हिमाली क्षेत्रमा भन्दा चुरे क्षेत्रमा पानीका मुहान सुक्ने समस्या धेरै देखिन्छ । हिमाली क्षेत्रमा मुहान सुक्ने समस्या ६४ प्रतिशत छ।  

पानीका मुहान सुक्दा र पानीको स्रोत अन्यत्र सर्दै जाँदा कतिपय सदावहार मुहान मौसमी बन्न पुगेका छन् भने नदीनाला, खहरे आदिमा बाढी, पहिरो र डुबानजस्ता जलजन्य विपद्को मात्रा र क्षति बढेको छ ।  

मुहान सुक्दा मानव जीवन संकटमा  

पानीका मूल सुक्दा सिंगो मानव जीवन नै संकटमा पर्ने देखिन्छ। त्यसमा पनि महिला, बालबालिका, गरिब र पिछडिएका वर्गले बढी समस्या झेल्नुपरेको छ । मुहान सुकेका कारण महिलाको दैनिकी नै पानी बोक्नमा बितेको छ।  

चार घण्टाको दूरी हिँडेर मुहानबाट पानी बोक्न बाध्य गाउँहरु पनि छन्। यसले दैनिक जीवनयापनमा प्रत्यक्ष असर पारेको छ। परिवारको कामकाजमा प्रत्यक्ष असर गरेको छ।  

बालबालिकाहरूले विद्यालय जाने समयलाई पानी बोक्नका लागि खर्चिनुपर्ने अवस्था छ। क्तिपय दिन समयमा खाना नबन्दार अभिभावक काममा गएको दिन आफै पानी बोक्न जाँदा विद्यालय नै छुटाउनु पर्ने बाध्यता छ।  

‘मुहान सुक्दा मानव मात्र होइन, समग्र पारिस्थितीय प्रणालीमाथि नै असर परिरहेको छ,’ जानकारहरु बताउँछन्। ‘मुहान सुक्ने र स्रोतबाटै पानी थुनेर अन्यत्रै लैजाने प्रवृत्तिले खुला रूपमा बग्ने पानीका स्रोतहरू कम हुँदै गएका छन् ।’

पानीका स्रोत सुक्दै र मासिँदै जाँदा जताततै आगलागी बढ्नुका साथै जीवजन्तु तथा वनस्पतिलाई समेत पानी अभाव हुन थालेको छ। जलीय प्रणालीका अन्य महत्वपूर्ण गुण नै लोप हुने जोखिम बढेको छ।  

मुहानमा आश्रित जलचरको बासस्थान नै मासिने खतरा बढेको बताउँछन्, वन वातावरणका जानकार गोविन्द्र थापा। मानव जीवनको अस्तित्व प्रकृतिले नै राख्ने हो, यदी हामीले प्रकृतिलाई नै संरक्षण गरेनौं र जोगाउन तर्फ ध्यान दिएनौं भने ढिलो चाँडो मानव जीवनको अस्तित्व नै संकटमा पर्छ, थापाले भन्नु भयो।

आर्थिक जीवनमा समेत पानी अभावले बाधा पुर्याएको छ। उत्पादनको समय पानीका लागि खर्च गर्नुपरेको अवस्था छ, सडक सुविधासँग अन्य मानव जीवनका विषयलाई जोड्न नसक्नु नै हाम्रो दुर्भाग्य भएकोमा चिन्ता थापाको छ।

प्रकृति संरक्षणमा पालिकाको पहल नै छैन।  

गाउँमा पानीको अभाव छ। भएका मुहान सकेका छन्। जंगल मासिदै गएको छ। सुख्खा तथा खडेरी याममा वन डडेलोले हराभरा नै हराउने अवस्थामा छ। तर स्थानीय तह त्यसमा जिम्मेवार देखिदैनन्।  

प्रकृति आगोले खराप भइरहेको हुन्छ, हाम्रा स्थानीय तह दृश्य हरेर बस्ने गरेका छन्। मानव जीवनका लागि प्रमुख सम्पत्ती नै प्राकृतिक श्रोत हो। यही बचाउन सकिएन भने हाम्रो अस्तित्व रहने अवस्था नै हुन्न, इन्जिनियर दस्पक भारतीले भन्नु भयो।  

यो सबै हुनुमा समस्या राज्यको नीतिमा छैन्, सरकार सञ्चालन गर्ने शासकको नियतमा छ भारतीले थप्नु भयो। नीति बनेको छ, कार्यान्वयन छैन्, केही व्यक्तिलाई धनी बनाउन नितान्त फाइदाका लागि निर्माण गरिएका सकड नै पानी सुकाउने पहिलो कारक बनेको आरोप पनि भारतीको छ।

बाजुराका नौ पालिका मध्ये जलसंरक्षण नीति कुनै पालिकाले कार्यान्वयनमा ल्याएका छैनन्। खानेपानी सुनिश्चित गर्ने नीति लिएका छन्, तर कुन श्रोतको संरक्षण गरेर ग्यारेन्टी गर्ने हो, योजना नै छैन।  

हिमाली गाउँपालिकाले एक वृक्षारोपणका लागि चालम सहयोग गरेरै अभियान थालेको छ। अन्य पालिकाले पनि वृक्षारोपण अभियानको घोषणा गरेका छन्, लगाउने अभियान पनि जारी छ, तर भएको श्रोतको संरक्षण गरिएको देखिदैन।  

यत्तिसम्मकी पालिकामा भएका पानीका मुहानको समेत कुनै पालिकामा एकीन तथ्यांक छैन। सडक बाटो, पैदल बाटो, सिँचाइ, अन्य संरचना कुन नीति र विधी, कुन प्राविधिक स्टेमटमा कसरी बनाउने ठोस योजना नै नहुँदा नै यो अवस्थामा पुगेको देखिन्छ।  

एक अध्ययनका अनुसार पानीका मुल सुके पनि ३ सय पालिकामध्ये ४२ प्रतिशतले त्यसको समाधानका लागि केही पनि उपाय खोजेका छैनन्। जुन समस्या बाजुराका नौ वटा स्थानीय तहमा पनि छ। श्रोत साधानको संरक्षण र संम्वद्र्धनको योजना सहित अघि बढ्ने लक्ष्य लिएको बुढीनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बोहराले बताएका छन्।

पालिकाहरूले परापूर्वकालदेखिका मूल, कुवा, पँधेराको मर्मतसम्भार तथा संरक्षणमा भने खासै चासो देखाएको पाइँदैन। पानीका मुहान मानव जीवन बचाउने श्रोत मात्र होइनन्, त्योसँग जोडिएका कुवा मुहान, पँधेरा हाम्रा सम्पति पनि हुन्, संरक्षणका प्रतिवद्ध रहेको बुढीनगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको भनाई छ। तर ठोस योजना र नीति भने कुनै पालिकामा देखिएको छैन।  

विज्ञहरूले पानीका मुहान–स्रोत सुक्ने समस्या रोक्न सडक, भवन, विमानस्थल, खेल मैदान, विद्युत् उत्पादन तथा प्रसारणजस्ता विकासलाई वातावरणमैत्री र दिगो बनाउनुपर्ने सुझाव दिएका छन्। राज्यको नीति समेत बनेको छ। तर कार्यान्वयन कतैबाट छैन।  

जथाभावी उत्खनन र खनजोत नै मुख्य कारण देखिएकाले अबका दिनमा स्थानीय सरकार तहमै वातावरणमैत्री भौतिक विकास निर्देशिका बनाएर कार्यान्वयन गरिनुको विकल्प नै छैन।

प्रकाशित: १ कार्तिक २०७९ ०६:५५ मंगलबार

पानीको मुहान