समाज

ताप्लेजुङमा ११ प्रहरी पुरस्कृत, दुई जना अमर प्रहरीका परिवार अभिनन्दित

ताप्लेजुङमा ६७औं प्रहरी दिवसको अवसरमा कार्यरत ११ प्रहरी कर्मचारी पुरस्कृत भएका छन् भने दुई जना अमर प्रहरीका परिवार अभिनन्दित भएका छन्। पुरस्कृत हुनेमा प्रहरी नायब निरीक्षक रुद्रमणि निरौला, प्रहरी सहायक निरीक्षक बाबुराम वाग्ले, प्रहरी हवल्दार महेन्द्रबहादुर तामाङ, ज्ञानसागर यादव र दोर्जे शेर्पा रहेका छन्।

यस्तै प्रहरी सहायक हवल्दारद्धय कुमोदकुमार पाल र डिवलभबिक्रम नेम्बाङ तथा प्रहरी जवानहरु दिब्य राई, अनिस राई, केवशबहादुर भुजेल र पर्वत मुखिया रहेका छन्। त्यस्तै अमर प्रहरीतर्फ राममबहादुर थापाकी श्रीमती रामकुमारी सुब्बा थापा र बीर्खबहादुर लिम्बूकी श्रीमती आईतरानी लिम्बूलाई अभिनन्दन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए।

कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले समाजमा शान्ति सुव्यवस्था र अमनचयन कायम गराउन प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए। प्रहरी–समुदाय सहकार्यले अपराध रोकथाम तथा न्यूनीकरणमा ठूलो टेवा पुग्ने भन्दै प्रजिअ पोखरेलले जनताको जीउधन सुरक्षाका लागि अहोरात्र खट्ने प्रहरीको कार्यप्रति प्रशंसा समेत व्यक्त गरे।

कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको थियो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए। शुभकामना सन्देशमा प्रहरी महानिरीक्षक सिंहले आपसी भाईचारालाई अक्षुण राख्दै एकताबद्ध भइ राष्ट्र नागरिकको सेवा गर्ने सुम्पिएको गहन जिम्मेवारी अझ सुद्रिढ र व्यवसायिक ढंगले पूरा गर्ने कार्यमा सम्पूर्ण प्रहरी कर्मचारीले विश्वसनीय योगदान दिनुपर्ने उल्लेख गरेका छन्।

कार्यक्रममा भीमकाली गुल्मका गुल्मपति अदित श्रेष्ठ, शसस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति बिनोद थापा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी, जिल्ला सरकारी वकिल कार्यालयका निमित्त प्रमुख दीपेन्द्र दनुवार, पूर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष बलराम भारती लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ३१ आश्विन २०७९ ०८:०६ सोमबार

६७औं प्रहरी दिवस