समाज

बाढीले क्षतिग्रस्त विद्युत सञ्चालन नहुँदा राप्तीपारीका गाउँ अन्धकार

अविरल बर्षाका कारण बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित राप्तीपारी अवरुद्ध भएको विद्युत सेवा अझै सुचारु हुन सकेको छैन। राप्ती नदीमा यही असोज २१ गते आएको ठूलो बाढीले ठाउँ–ठाउँमा पोल र तार टुटेका कारण सेवा सूचारु गर्न कठिनाई भएको हो।  

कुसुम ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष समेत रहेका राप्ती सोनारी १ का वडाअध्यक्ष यमबहादुर खड्काले राप्तीको बाढीले करिब ४२ वटा पोल र झण्डै २ किलोमिटर बराबरको तारमा क्षति पुर्याएकाले मर्मत गर्न समस्या भइरहेको बताए।  

‘राप्तीवारीबाट पारीतिर करिब ६ ठाउँमा बत्तीको तार क्रस भएको छ, एक ठाउँमा करिब ३ देखी साढे ३ सय मिटर जति राप्ती नदीको एरिया छ,’ उनले भने, ‘नदीको सतह अझै नघटेको हुँदा मर्मतको काम थाल्न जोखिम देखिन्छ।’ तर, केही ठाउँमा मर्मतको काम चलिरहेको अध्यक्ष खड्काले बताए।  

बाढीले करिव १५ लाख रुपैयाँ बराबरको क्षति गरेको उनले जानकारी दिए। विद्युत सेवा सुचारु नहुँदा कुसुमस्थित राप्तीपारीका गाउँहरु अन्धकार भइरहेका छन्। सेवा सुचारु हुन अझै एक हप्ता जति समय लाग्ने र तिहार अगाडी जसरी पनि बत्ती बाल्ने योजनामा आफूहरु रहेको अध्यक्ष खड्काले बताएका छन्।

राप्ती सोनारी १ खोकरीका स्थानीय युवा कृष्ण चौधरीले विद्युत सेवा नहुँदा मोबाईल फोन चार्ज गर्न अर्को गाउँमा पुग्नुपर्ने बाध्यता रहेको बताए। ‘विगतका दिनमा मट्टीतेलबाट बालिने टुक्कीहरु अहिले बालेर गुजारा गर्न बाध्य भएका छौं,’ उनले भन,े ‘विद्युतको कार्यालयमा सम्पर्क गर्दा जिम्मेवार व्यक्तिहरु बाटै कतिपयले तार झरी सक्यो भन्नुभयो भने कतिपय व्यक्तिहरुले अझै तार नआएको बताउनुभयो, त्यसैले सत्यतथ्य बोलियोस् र कामप्रति पूर्ण बफादार भई लाग्न हार्दिक अनुरोध गर्दछु।’  

सोही गाउँका अर्का युवा ईन्द्र ओलीले विद्युत सेवा सुचारु गर्न ढिलासुस्ती भइरहेको गुनासो गरे। ‘हाम्रो खोकरीमा बत्ती सुचारु गर्न त्यति ठुलो समस्या नै छैन, लौकीदेखी हाम्रो गाउँ वारीतिर तार तान्नलाई कुनै गाह्रो छैन, प्राविधिक मात्रै पठाईदेउ, हामी श्रमदान गर्छौ भन्दा पनि विद्युतका पदाधिकारीले सुनेनन्,’ ओलीले भने।  

पोल र तार क्रस गर्ने राप्ती नदीको वारी र पारी बलियो संरचना नबनाउँदा सम्म पटक पटक यस्ता समस्या दोहोरिरहने उनले सुनाए। गाउँमा विद्युत सेवा नहुँदा सबै कामहरु ठप्प भएको ओलीले बताए। नेपाल विद्युत प्राधिकरणले ‘बुटवल–कोहलपुर दोस्रो सर्किट आयोजना’ अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा निर्माण गरेको सव–स्टेशनमार्फत उक्त गाउँमा ग्रामिण विद्युत सेवा दिइएको छ।

प्रकाशित: २९ आश्विन २०७९ ०५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App