समाज

उम्मेदवारले निर्वाधरुपमा घरदैलो गर्न पाउने, सरकारी कर्मचारीले पक्ष वा विपक्षमा टिप्पणी गर्न नपाउने

अब राजनीतिक दलहरुले निर्वाध रुपमा घरदैलो कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन्। निर्वाचन आयोगले यसअघि गत भदौ १३ गते जारी गरेको आचारसंहितालाई असोज १६ गते राजपत्रमा सूचना प्रकाशित गर्दै शंसोधन गरेको छ। 

जस अनुसार आयोगले मूल आचारसंहिता(२०७९ साल भदौ १३ गते जारी भएको)को दफा १३ को उपदफा १ को खण्ड म(३)लाइ झिकेको छ। सो खण्डमा उम्मेदवारको अन्तिम नामावाली प्रकाशन भएपछि मतदान हुने दिन भन्दा १७ दिन अघिदेखि मात्र प्रचारप्रसारका क्रममा घरदैलो गर्न पाउने व्यवस्था थियो। आयोगले सो खण्डनै झिकेर उम्मेदवारले प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्न नपाउने व्यवस्थालाई खारेज गरेपछि राजनीतिक दलहरुले निर्वाध रुपमा घरदैलो कार्यक्रम सञ्चालन गर्न पाउने भएका हुन्। 

तर मतदान हुने दिन भन्दा १७ दिन अघिदेखि मात्र जुलुस,आमसभा वा कोणसभा गर्न तथा सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने छ। घरदैलो बाहेक अन्य प्रचारका कार्यहरु भने मतदान हुने दिन भन्दा १७ दिन अघिदेखि मात्र गर्न पाइने प्रावधान रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए।  

सामाजिक सञ्जालमा कडाई  

जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिले सामाजिक सञ्जाल सहितका माध्यमको प्रयोग गरेर कुनैपनि उम्मेदवारको पक्ष वा बिपक्षमा सूचना सम्प्रेषित गर्ने कार्य भएमा कडाईका साथ प्रस्तुत हुने जनाएको छ ।‘हामी यस्ता कार्यबारे सुक्ष्म र सम्बेदनशिल तवरले निगारानी गरिरहेका छौं’प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भने। 

अझ सरकारी कर्मचारी,शिक्षक तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले सामाजिक सञ्जाल(फेसबुक,युट्युव,ट्विटर लगायत प्रयोग गरेर) कसै उम्मेदवारको पक्ष वा बिपक्षमा आफ्नो टिप्पणी लेख्ने,अरुले लेखेको सामग्री शेयर गर्ने तथा लाइक वा कमेन्ट गर्ने कार्य गरेमा कडाईका साथ कारवाही गर्ने योजना बनेको जिल्ला न्यायाधीस समेत रहेकी मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले बताईन्। 

प्रकाशित: २८ आश्विन २०७९ १४:०६ शुक्रबार