समाज

कर्णालीमा बाढी पहिरोको वितण्डा: चार दिनदेखि हेलिकप्टरबाट उद्धार र राहत

राहत सामाग्री लिएर कालिकोट जाँदै गरेको हेलिकप्टर। तस्विर ः नागरिक

दशैँकाे दिनसँगै सुरु भएको झरीले कर्णालीमा ठूलो धनजनसहित मानविय क्षति गरायो। असोज २१ गतेदेखि कर्णालीमा पानीले बाढी पहिरोसहित ठूलो क्षति गरायो। २१ गतेदेखि २३ गतेसम्म तीन दिनमा ३८ जनाले ज्यान गुमाउनुपर्‍यो। २८ जना घाइते भए। अझै २० जना बेपत्ता छन्। पहिरोले पशुचौपाय २ सय ४६ वटाको मृत्यु भयो। त्यस्तै धेरै घरबार विहीन भएका छन्। पहिरोले यातायात पूरै बन्द छ। विस्थापितहरुलाई सरकारले हेलिकप्टरमार्फत सुर्खेतदेखि कालिकोट, जुम्ला, हुम्ला र मुगुमा उद्धारका साथै राहत वितरण गरेको हो।  

चार दिनदेखि नेपाली सेनाको हेलिकप्टर उद्धार र राहतमा केन्द्रित भएको छ। कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा बाढी पहिरोले मानविय क्षति भयो। कर्णाली राजमार्ग कर्णाली करिडोर (हुम्ला जाने), रत्न राजमार्गसहित जाजरकोट, दैलेख जाने सडकहरुमा ठूलो क्षति भयो। कर्णाली करिडोर र कर्णाली राजमार्ग सुल्न अझै महिनादिन बढी लाग्ने प्रहरीको भनाई छ। प्रहरीका अनुसार ५ दिनसम्म लगातार परेको पानीले कर्णालीमा पूर्णरुपमा ११ सय ४० घर भत्किएका छन् भने आंशिक १६ सय १२ घर भत्किएको छ। त्यस्तै बाढी तथा पहिरोबाट उच्च जोखिममा १४ सय ७७ घरधुरी रहेको मुख्यमन्त्रीको कार्यालय कर्णाली प्रदेशले जनाएको छ।

कर्णाली प्रदेश सरकारका अनुसार १० हजार ७ सय १४ जना घरवारविहिन भई विस्थापित भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार २७ सय ४ जना प्रहरी बाढी पहिरोका बेला उद्धार तथा राहत वितरणमा परिचालन गरिएको कर्णाली प्रदेश प्रमुख (डिआईजी) पोषराज पोखरेलले बताए। नेपाली सेनाको हेलिकप्टर टेण्ट, कम्मलसहित अन्य राहतका सामाग्री बाढीपहिरो प्रभावित जिल्लाहरुमा पुगेको छ। सडक सञ्चाल पुरै विच्छेद भएपछि हेलिमार्फत उद्धार र राहत सामाग्री प्रभावित क्षेत्रमा लगिएको हो।

जुम्लाको हिमा गाउँपालिका, सिजाँ गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, मुगुको छायाँनाथ रारा नगरपालिका ११ र खत्याड गाउँपालिका ४, हुम्लाको ताजकोट गाउँपालिका, चंखेली गाउँपालिका, सार्केगाड गाउँपालिका, कालिकोटको तिलागुफा नगरपालिकाको राँचुली, वाली र पलाता गाउँपालिकामा हेलिमार्फत उद्धार र राहत सामाग्री वितरण भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कालिकोटको रास्कोट नगरपालिका र शभकालिका गाउँपालिकामा राहतको माग भएकाले हेलिबाट पठाउने तयारी भईरहेको जनाईएको छ। जाजरकोट, दैलेख, सल्यान र रुकुम पश्चिममा स्थानीय सरकारहरुले विस्थापितहरुलाई राहत वितरण गरिरहेको छन्।  

 बाढी पहिरोबाट जुम्लामा १० जना, मुगुमा ८ जना, कालिकोटमा ६ जना, हुम्लामा ४ जना जाजरकोटमा ३ जना, सल्यानमा ३ जना, दैलेखमा १ जना र डोल्पामा १ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

कालिकोटको राँचुलीमा राहत सामाग्री लिदैं बाढीपहिरो पिडितहरु।

प्रकाशित: २८ आश्विन २०७९ १२:४१ शुक्रबार