समाज

बढ्यो खानेपानीको समस्या,अझै एक महिना लाग्ने

पहिरोले बगाएपछि पाइपलाइनको अवस्था।

सदरमुकाम मान्म बजारमा एक हप्तादेखि बन्द भएको खानेपानी आपूर्ति अझै एक महिना लाग्ने भएको छ। गत बुधबारबाट पाँच दिन सम्म परेको अबिरल वर्षातको बाढीपहिरोले पाईपलाईन बगाउँदा मान्म बजारमा खानेपानी आपूर्ति बन्द भएको हो।  

पहिरोले रोटेपानीदेखि तालाखोर मुहान सम्मको पाइपलाईन बगाएको छ। पहिरोले ठूलो क्षति भएपछि मंगलबार स्थानीय बासिन्दा र वडा नम्बार १ का अध्यक्ष धर्मराज ताम्राकार मर्मतका लागि पानीको मुहान पुगेका थिए।

‘पानी खुवाउन नसकेकोमा क्षमाप्रार्थी छौं,बनाइसकेको पाइपलाइन फेरी ठूलो पहिरोले बगाएपछि समस्या बढ्यो’ अध्यक्ष ताम्राकारले भने,‘सकेसम्म बैकल्पीक उपायबाट एक हप्तामा  पानी संचालन गर्नेछौं। खाँडाचक्र नगरपालिकाको रोटेपानी देखि तालाखोर सम्म पर्ने सडक माथिबाट आएको पहिरोले खानेपानीको पाइपलाईन बगाएको छ। मुहानमा पनि ठाउँ ठाउँमा पहिरो छ।’

कालिकोटको सदरमुकाम मान्म बजारमा एकहप्ता देखि खानेपानीको समस्यामा छ। रोटेपानी देखि ताला खोरसम्म पर्ने खानेपानी मुहानमा खाँडाचक्र नगरपालिकाले डोजरमार्फत जंगल फडानी गरी सडक निर्माण गर्दा यस्तो समस्या भएको  स्थानीयले बताएका छन्।

चुलिमालिका लेककै नाममा दाँहाँ,पाखा र मान्म बजारबाट दुईवटा गरी चार वटा सडक निर्माण गर्न थालिएको छ। यसले परापूर्वकाल देखी संरक्षण गर्दै आएको वनजंगल फडानीका साथै कृतिम पहिरो सिर्जना गरेको छ। जसको शिकार सदरमुकाम मान्म बजारको खानेपानी पनि बनेको छ।

मान्म बजारदेखी उक्त खानेपानीको मुहानतिर न कुनै मानव बस्ती छ। न उक्त सडक आवश्यक छ। तर डोजर मार्फत धमाधम बन फँडानी गरी सडक निर्माण गरेकै कारण पहिरो नजाने वन पनि पहिरोमा परिणत भएको छ।  

यसकै कारण मान्म बजारमा व्यापार व्यवसाय गर्ने तथा अन्य झण्डै एक हजार परिवारहरुले खानेपानीको संकट खेप्नु परेको छ। खानेपानीको अनुगमनका लागि पहिरो स्थल पुगेका खाँडाचक्र नगरपालिका–१ का वडा अध्यक्ष धर्मराज ताम्राकारले पहिरोले धेरै क्षति गरेको हँुदा मर्मतमा समस्या भएको बताए।  

‘दृर्घकालिन रोकथाम र खानेपानी आयोजनाको नियमितता कालागि पहल गरिरहेका छौं। अहिले तत्कालका लागि रोटेपानीबाट पाइप जडान गरेर बैकल्पीक उपायबाट अबको एक हप्तामा मान्म बजारमा खानेपानी ल्याउने तयारी गरेका छौं।’

प्रकाशित: २८ आश्विन २०७९ ००:५२ शुक्रबार

खानेपानी