समाज

शिवजट्टाको पानी ल्याउन स्थानीय उपभोक्ताको अवरोध, भालुखोलाबाट ल्याउने सहमति

स्थानीय उपभोक्तासँग भालुखोलाबाट पानी ल्याउने सहमतिलगत्तै स्थलगत निरीक्षणमा पुगेका मेयर हर्क साम्पाङ। तस्बिर : रोहित राई

आफुहरुले उपभोग गरिरहेको खानेपानीको मुहान क्षेत्र शिवजट्टाबाट मेयर हर्क साम्पाङले सहमति नगरि खानेपानी लैजान लागेको भन्दै स्थानीय उपभोक्ताहरुले विरोध जनाएका छन्।

स्थानीयको चर्को विरोध तथा दबाब पछि मेयर साम्पाङले मुहान क्षेत्र परिवर्तन गर्न सहमत भएका छन्। मेयर साम्पाङले जनश्रमदानबाट बिहिबार (आज) देखि वडा नं १५ लाई लक्षित गरेर शिवजट्टाबाट पानी ल्याउने काम शुरु गर्न लागेका थिए। यो थाह पाएपछि स्थानीय उपभोक्ताहरु बिहानैदेखि कोशी राजमार्गसँग जोडिएको शिवजट्टा जाने बाटो शिवधारामा भेला भएका थिए। 

शिवजट्टामा निर्माण सामग्रीहरु लैजान नदिन वडा नं ४ र १४ का उपभोक्ताहरु आएर बाटो छेकेपछि केही बेर तनावग्रस्त स्थिति बनेको थियो। सुरक्षाको लागि प्रहरी पनि तैनाथ भएका थिए।

उपभोक्ताहरुसँगै वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टारई र वडा ४ का वडाअध्यक्ष धनबहादुर कुलुङ राई पनि अवरोध गर्न पुगेका थिए। मेयर साम्पाङलाई आफुहरुले शिवजट्टाबाट नभै उपभोक्ताहरुको मुहान नभएको भालुखोला क्षेत्रबाट पानी लैजान आग्रह गर्दा नमानेपछि अवरोध गर्न आउनुपरेको वडा ४ का अध्यक्ष कुलुङले बताए। 

उनले भने, ‘मेयर साबले जहाँबाट पानी लैजाने भन्नुभएको छ, त्यो क्षेत्रभन्दा मुनिबाट धेरै उपभोक्ताहरुले पानी लगेर खाइरहेका छन्। त्यसैले हामीले भालुखोलाबाट लैजानुस्, बरु हामी पनि सघाउन आउछौं भनेका थियौं, उहाँले नमानेपछि हामी यसरी आउनुपरेको हो।’

स्थानीय उपभोक्ता र मेयर साम्पाङका समर्थकहरुबीच शिवधारा क्षेत्रमा विवाद भएपछि मेयर साम्पाङ आफै पुगेका थिए। उनलाई पनि स्थानीयले घेरा हालेपछि मेयर साम्पाङले उपभोक्ता समितिका प्रतिनिधि र वडाका जनप्रतिनिधिहरुलाई छलफलको लागि कार्यकक्षमा बोलाएका थिए। 

मेयर साम्पाङले आफु स्थलगत निरीक्षणमा जादा उपभोक्ताहरुले खोलाबाट पाइप हालेर पानी लगेको नदेखेपछि मात्र सेउतीको माथिल्लो क्षेत्र शिवधाराबाट पानी ल्याउने योजना शुरु गर्न लागेको बताए। उपभोक्ताहरुले भने बर्षामा खोलामा बाढी आउने भएकोले आफुहरुले पाइप भिरको जरुवा पानीमा राखेर लगिरहेको भन्दै आफुहरुसहित स्थलगत निरीक्षणमा जान आग्रह गरेका थिए।

उपभोक्ताहरुको आग्रह पछि मेयर साम्पाङले उपभोक्ताको इन्टेक भेटिएको तल्लो क्षेत्रभन्दा माथि नजाने र भालुखोलाबाट नै पानी ल्याएर वडां १५ लाई वितरण गर्ने भनेपछि सहमति भएको थियो। साथै, मेयर साम्पाङले आफुहरुको आग्रह स्वीकार गरेपछि खुशी व्यक्त गर्दै वडा ४ र १४ का वडाअध्यक्ष साथै उपभोक्ताहरु पनि श्रमदानमा आउने प्रतिवद्धता जनाएका छन्। वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले भने,‘वडा नं १५ लाई पानी नदिने भन्ने थिएन। मात्र अहिले उपभोक्ताहरुले खाइरहेको मुहान क्षेत्रभन्दा माथिबाट पानी नल्याइयोस् भन्ने थियो। मेयर ज्युले यो कुरामा सहमति जनाउनुभएपछि विवाद हल भयो। अब म आफै पनि श्रमदानमा आउनेछुँ।’

छलफलमा यो सहमति लगत्तै मेयर साम्पाङ वडाअध्यक्ष र स्थानीय उपभोक्तासहित सेउती हुदैं भालुखोला मुहान निरीक्षणमा गएका थिए। निरीक्षण पश्चात मेयर साम्पाङले भने,‘अस्ति निरीक्षणमा आउदा खोलाबाट पानी लगेको पाइप देखिएको थिएन। तर, बाढीले बगाउने भएकोले भिरतिर पाइप राखेर पानी लगेको रहेछ। कसैले उपभोग गरिरहेको मुहान असर पर्ने गरि लैजादैनौं, उपभोक्ताहरुले भनेजस्तै भालुखोलाबाट नै लैजान्छौं। काम भोली शुक्रबारदेखि नै शुरु भैहाल्छ।’

गएको बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएर मेयरमा निवार्चित साम्पाङको प्रमुख एजेण्डा नै खानेपानी थियो। पानीको चरम अभाव भोगीरहेको धरानबासीलाई आफु निवार्चित भएदेखि नै खानेपानी पर्याप्त पुर्याउन मेयर साम्पाङ जनश्रमदानबाट विभिन्न योजना अघि सारिरहेका छन्। उनले पकुवा खोलाको पानी श्रमदानबाट ल्याएका छन् भने निशाने, सर्दु र खर्दुको पानी पनि स्वास्तिका चोकमा ल्याएर वितरण गरिरहेका छन्। यस्तै, निशाने सर्दु दोभानमा गोर्खा पिस फाउण्डेशन र हर्क साम्पाङ सपोर्ट कमिटी युकेले २ लाख १० हजार लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिरहेको छ भने ३ करोड बढी लगानीमा गोर्खा वेल्फेयर ट्रष्टले पनि खर्दुबाट पानी थप्ने योजना कार्यान्वयन गर्न लागेको छ।

प्रकाशित: २७ आश्विन २०७९ १३:३६ बिहीबार

मेयर साम्पाङ