समाज

नक्कली चिकित्सक पक्राउ

प्रहरीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा डेन्टल क्लिनिक सञ्चालन गर्दै आएका एक नक्कली चिकित्सकलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक डिलबहादुर महतारालाई बुधबार पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार वीरेन्द्रनगरकी एक महिला महताराको क्लिनिकमा उपचारका लागि गएकी थिइन्। एउटा दाँत अत्याधिक दुखेपछि उपचारका लागि गएकी ती महिलालाई नक्कली चिकित्सक महताराले दुख्ने दाँत निकाल्नुपर्ने सुझाव दिए। उनको सुझाव अनुसार निज महिलाले आवश्यक पैसा काउन्टरमा डिपोजिट गरिन्। नक्कली चिकित्सक महताराले दुख्ने दाँतसँगै अर्को दाँत पनि निकालिदिए। सँगसँगै अत्याधिक दुखाई र रक्तश्राव हुन थालेपछि महिलाले महतारामाथि शंका गर्न थालिन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार नक्कली चिकित्सक भएको थाहा पाएपछि महिलाले उजुरी दिएकी हुन्।

प्रहरीले महिलाको उजुरीका आधारमा महतारालाई पक्राउ गरेको छ। उनको घर जाजरकोट जिल्लाको शिवालय गाउँपालिका–१ हो। २२ वर्षीय महराता क्लिनिकका सञ्चालन भए पनि डेन्टिस सम्बन्धी उनको अध्ययन छैन। प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा आफू चिकित्सक नभएको उनले स्वीकार गरेका छन्।  

‘आफू डक्टर हुँदै भन्दै उपचार गरेको पक्राउ गरेका सञ्चालकले स्वीकार गर्नु भएको छ,’ डिएसपी सुरज कार्कीले भने, हामीले महिलाको घाउजाँच केस फारमका लागि पठाएका छौं, नक्कली डाक्टरलाई इलाज सम्वन्धी कसुरमा मुद्दा लचाउने तयारी भइरहेको छ।’

प्रकाशित: २७ आश्विन २०७९ ०९:३२ बिहीबार

पक्राउ