समाज

चितवनमा त्रिपालमुनि कैदीबन्दी

चितवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या पर्दै आएको छ। कारागार कार्यालय चितवनमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी भएकाले रात कटाउन कैदीबन्दीले त्रिपालको सहारा लिनुपरेको छ।

अहिले दैनिक १२ कैदीबन्दी रातको समयमा त्रिपालको सहारामा बिताउन बाध्य छन्। दुई सय ८० जनाको क्षमता रहेको यस कारागारमा अहिले सात सय ७८  कैदीबन्दी छन्। क्षमताभन्दा तेब्बर कैदीबन्दी भएकाले उनीहरूको व्यवस्थापनमा समस्या देखिएको हो। कार्यालय प्रमुख कमलप्रसाद आचार्यले अहिले रातको समयमा कैदीबन्दी व्यवस्थापनमा समस्या आएको बताए।

उनले भने, ‘कारागारमा अहिलेको समस्या भनेको कैदी-बन्दी बढी हुँदा त्रिपालमुनि बस्नुपर्ने रहेको छ।’ कारागारको समस्याबारे कारागार व्यवस्थापन विभागलाई जानकारी गराइएको उनले बताए। आचार्यले भने, ‘विभागमा सबै जानकारी गराएका छौं। सबैतिर यस्तै समस्या हो।’

उनले थपे, ‘कैदीबन्दीको चाप बढेपछि साउनमा केही कैदी स्थानान्तरण समेत गरेका थियौं। फेरि चाप बढ्न थाल्यो।’

चाप बढेकै कारण साउन महिनामा ५१ जनालाई स्थानान्तरण गरिएको उनले बताए। स्थानान्तरणको समयमा समेत त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेका कारण स्थान्तरण गरिएको र अहिले पनि त्यही समस्या आएको उनले बताए।

दुई सय ५५ पुरुष कैदीबन्दीको क्षमता रहेको ठाउँमा सात सय २९ र २५ जनाको क्षमता रहेको महिला कैदीगृहमा ५९ जना छन्। चार नाबालिक रहेको आचार्यले बताए।

कारागारमा छिमेकी जिल्लाबाट समेत कैदीबन्दी ल्याइने हुँदा दिनहुँ कैदीबन्दी बढ्दै गएको आचार्यले बताए। विशेषगरी नवलपुर र मकवानपुरबाट कारागारमा बढी संख्यामा कैदीबन्दी ल्याइन्छ। उपचारका लागि बाहिरी जिल्लाबाट कैदीबन्दी चितवन ल्याउनुपर्ने हुँदा चाप बढेर व्यवस्थापनमा कठिनाइ भएको हो।

प्रकाशित: २७ आश्विन २०७९ ०४:२४ बिहीबार

चितवनमा त्रिपालमुनि कैदीबन्दी व्यवस्थापनमा कठिनाइ