समाज

ताप्लेजुङबाट ७ सय ३६ जना म्यादी प्रहरीमा छनौट

आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि ताप्लेजुङबाट ७ सय ३६ जना म्यादी प्रहरी छनौट भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार ५ सय ५२ जना पुरुष र १ सय ८४ जना महिला म्यादी प्रहरीमा छनौट भएका हुन्। गत स्थानीय तहको निर्वाचनमा यहाँ ६ सय ५५ जना म्यादी प्रहरी छनौट भएका थिए। 

स्थानीय तहको निर्वाभचनका बेला भन्दा यहाँ दुईवटा मतदानस्थल थप भएको छ। म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुने छ। जसअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७ सय ६० रूपैयाँ प्राप्त हुने छ। 

यस्तै खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २ सय रूपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीले जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन्। तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट उपलब्ध हुनेछ। हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई गाढा निलो रंगको कपडाको ज्याकेट खरिद गर्न प्रति व्यक्ति थप १ हजार रुपैयाँ उपलब्ध हुने भएको छ। 

निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एकमुष्ट १ हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सय रुपैयाँको दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ। प्रहरी प्रधान कार्यालयले भदौ ३० गते देखि असोज ६ गते सम्ममा म्यादी प्रहरी भर्नाका लागि आवेदन दिने समयसीमा निर्धारण गरेको थियो। म्यादी प्रहरीका लागि करिब एकहजार जनाको आवेदन परेको थियो।  

प्रकाशित: २६ आश्विन २०७९ १०:३० बुधबार

म्यादी प्रहरी