समाज

बाढी पीडितलाई गाँसको चिन्ता

बाँके,राप्ती सोनारी–१ स्थित कुसुमका बाढी पीडित। तस्बिर : अर्जुन ओली/नागरिक

बाँके, राप्ती सोनारी–१ कुसुमस्थित बाँडा टोलकी लक्ष्मी थापाको घरमा विगत पाँच दिनदेखी चुलो बल्न सकेको छैन। राप्तीको बाढी पसेर बिस्थापित भएपछि उनको परिवारले आफन्तको घरमा आश्रय लिइरहेको छ।

अविरल वर्षाका कारण आएको बाढीले घरभित्र रहेको लत्ताकपडा, खाद्यान्न, भाडा वर्तन सबै बगाएर लग्यो। करिव २ मिटर उचाइँसम्म पानी पसेको उनको घर बस्नै नमिल्ने अवस्थामा पुगेको छ। राप्तीको बाढी अहिले घटेपनि घरभित्र पस्न उनलाई डर लाग्छ।  

बाढीले घरमा केही नछाडेपछि अहिले उनलाई दिनहुँ गाँसकै चिन्ताले सताउँछ। ‘कहिलेसम्म आफन्तको साहारामा बस्ने ?’ आँसु पुछ्दै उनले भनिन् ‘बाढीले सबै लगेर गयो, बचेको घर पनि काम नलाग्ने भएको छ।’ यही असोज २१ गते राती नदीको सतह एक्कासी बढ्यो। राप्तीमा बाढी आउने पुर्वसूचना पाएपछि उनको परिवार छिमेकी सहित घर छाडेर सुरक्षित स्थानमा पुगे।  

ठुलो बाढी आउँला भन्ने कल्पना समेत नगरेका उनको परिवारले शरिरको कपडा बाहेक साथमा अरु केही लगेनन्। तर, बाढी सोचेको भन्दा ठुलो आयो। बाढीले घरमा रहेको सामान मात्र नभएर लक्ष्मीका चार वटा सुंगुर र दुई वटा बाख्रा पनि बगायो।  

लक्ष्मीलाई जस्तै सोही टोलकी भावना कुमाललाई साँझ बिहानको छाककै चिन्ता छ। बाढी पसेर बाँडा टोल पुरै खण्डहर बनेको छ। बाढीले भत्काएको उनको घरको भग्नावशेष मात्र देखिन्छ। घरभित्र राखेको सबै सामान बाढीले बगायो। बाढी पसेर घर समेत भत्किएको छ।  

अहिले बिस्थापित जीवन बिताइरहेका भावनाको परिवारले पनि आफन्तको साहारा लिइरहेका छन्। अहिलेसम्म राहत सामाग्री लिएर गाउँमा कोहीपनि आएका छैनन्। 

‘अहिलेसम्म कोहीपनि राहत लिएर आएका छैनन्, क्षति टिपेर गएकाहरु अहिलेसम्म देखा परेनन्,’ उनले भनिन् ‘हामी भोकभोकै मर्ने अवस्थामा पुगिसक्यौं।’ बाढीले उक्त टोलमा दर्जनौं घर डुबान गर्नुका साथै केही घर भत्काएको थियो।  

राप्ती सोनारी १ स्थित चप्परगौडी निवासी फुलमती कुमालले पनि राप्ती नदीमा ठुलो बाढी आउँला भनेर कल्पना समेत गरेकी थिइनन्। नसोचेको बाढी घरमा आएर बिस्थापित नै गराएपछि उनी अहिले खुल्ला आकाशमुनि बसेर रात कटाइरहेकी छन्।

 ‘बाढीबाट बिस्थापित भएपछि साँझ बिहानको खाना कहाँबाट ल्याएर पकाउने भन्ने चिन्ता छ, केटा केटीहरु भोकले कराउँछन्, हामीले कहाँबाट ल्याएर खुवाउने?,’ उनले भनिन्।  

बाढीले विस्थापित गराएको एक साता पुग्न लाग्दा समेत अहिलेसम्म कुनैपनि निकाय राहत बाँड्न नपुगेको अधिकांस पीडितहरुको गुनासो छ। राप्ती सोनारी–१ बाघखोर निवासी माधव रावतले गाउँका गरिव तथा विपन्न घर परिवारको अवस्था अत्यन्त दयनीय रहेको सुनाए। ‘मध्यम वर्गका बाढी पीडितले जसोतसो छाट टारेका छन्, तर जो अत्यन्त गरिव र विपन्न वर्गका छन्, उनीहरुको अवस्था दयनीय छ,’ उनले भने ‘अहिलेसम्म राहतका लागि कुनैपनि सरकारको उपस्थिती देखिदैन, समोसा र चाउचाउ खाएर प्राण बचाउने काम भइरहेको छ।’ राहतको कुरा त परै जाओस्, बाढी पीडितलाई शुद्ध पिउने पानीको समेत हाहाकार मच्चिएको रावतले बताए। ‘गाउँमा रहेका धारा र ईनारबाट हिलो मात्रै आउँछ, त्यो पानीले हैजा लाग्ने डर भइसक्यो, शुद्ध पानीको ब्यवस्था गरिदेउ भन्दा पनि कसैलाई चासो छैन,’ उनले दुखेसो पोख्दै भने।  

बाढीले उक्त गाउँमा रहेका करिव २२ घर, परिवारलाई बिस्थापित गराएको छ। कुसुमस्थित बाढी मापन केन्द्रमा रेकर्ड भए अनुसार राप्ती नदीको सतह बढेर १० मिटर पुगेको थियो। बाढीले राप्ती सोनारी–१ कै लौकी, खोकरी, चुनाहा, बसेरी, तितिनघारी, भवानियापुर, अमुवा, भम्का, बैरिया, सौैरी, गाभर र सिक्टा गाउँमा पनि क्षति गरेको थियो।  

राप्तीको बाढीले धेरै क्षति पुर्याएको अर्को गाउँ हो, टिकुलीपुर। राप्ती सोनारी २ मा पर्ने उक्त गाउँमा बाढीबाट करिव ४ सय घर परिवार बिस्थापित भएका छन्। अधिकांसले खाद्यान्न, लत्ताकपडा, भाडावर्तन बाढीमा गुमाए। उक्त गाउँमा बाढी पीडितको अवस्था हेर्न मन्त्रीदेखी नेता र जनप्रतिनिधीहरु पुगे। तर, अहिलेसम्म पनि गाउँमा राहत नपुगेको स्थानीय अगुवा कृष्ण केसी बताउँछन् ।  

‘बाढीका बेलामा मन्त्रीदेखी धेरै नेता र जनप्रतिनिधीहरु आए, तर अहिलेसमम पनि राहत आएको छैन,’ बाढीले किसानको खेती सर्बनाश भयो, मानविय क्षति नभएपनि सर्वश्व गुम्यो,’ उनले भने । गरिव तथा विपन्न समुदायका बाढी पीडितलाई साँझ बिहानको छाक टार्ने चिन्ता रहेको केसीले बताए।  

राप्तीको बाढीले यसअघि २०७१ र २०७४ सालमा पनि उक्त गाउँमा ठुलो क्षति गरेको थियो। होचो भुभागमा रहेको उक्त बस्ती बाढीको जोखिमपूर्ण अवस्थामा छ। यहाँका स्थानीयले पटक–पटक बाढीको चपेटामा परेको भन्दै सुरक्षित बस्ने ठाउँको ब्यवस्थापन गरिदिन माग गरेका छन्। 

प्रकाशित: २५ आश्विन २०७९ १६:२२ मंगलबार