समाज

पोखरा महानगरका प्रमुख भन्छन्: फेवातालको सरसफाई सबैको ड्युटी

हिउँद लाग्नै थाल्दा फेवातालमा जलकुम्भी देखिन थालेको छ। वर्षायाममा देखिने जलकुम्भी यतिबेला दशैंको छेकोमा परेको पानीले मौलाउन शुरु भएको हो। जलकुम्भी झार न्युनिकरणको लागि महानगरपालिकाले केहीदिन यता अभियान नै शुरु गरेर सरसफाई गरेको छ।  

ताल सरसफाईमा महानगरपालिका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ नै सक्रिय भएका छन्। प्रमुख र उपप्रमुख नै ताल किनारमा जलकुम्भी झार फाल्न कस्सिएपछि विभिन्न संघसंस्था पनि जलकुम्भी झार फाल्न सहयोगी हात बढाएका छन्। महानगरले शुरु गरेको फेवाताल सरसफाइ महाअभियानमा स्वयंसेवी अभियान्ताहरुले सक्रियता पूर्वक सहभागिता जनाएका छन्। विभिन्न ३३ स्थानबाट शुभारम्भ गरिएको छ।

महाअभियानमा पोखरा महानगरपालिकाका ३३ वटै वडाका जनप्रतिनिधि सहित ५ हजार बढी अभियान्ताहरुले सक्रिय सहभागिता जनाएको महानगरले दावी गरेको छ। यो फेवाताल सरसफाइका क्रममा भएको नागरिक सहभागिता मध्ये अहिले सम्म कै सबैभन्दा धेरै भएको समेत महानगरले जनाएको छ। ‘सबै ठाउँमा उल्लेख्य सहभागितामा सरसफाई शुरु गरिएको छ,’ प्रमुख धनराज आचार्यले भनm‘ ‘सुरुमा ३५ ट्रक फोहोर जम्मा गर्न सकिन्छ कि भन्ने थियो, तर अन्तिमसम्म आइपुग्दा २ सय बढी ट्रक फोहोर संकलन गरिएको छ। ’  

महाअभियानको पहिलो दिन २ सय बढी ट्रक जलकुम्भी झार लगायतको फोहोर फेवातालबाट बाहिर निकालिएको उनले सुनाए।  तालको करिब ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार मंगलवारको अभियानका क्रममा निकालिएको छ। अभियानलाई निरन्तर गर्ने सम्बन्धमा महानगरपालिकाले स्थायी संयन्त्र बनाएर अगाडी बढ्ने उनले बताए।  

‘यो सुरुवात मात्र हो, यसलाई आगामी दिनमा निरन्तरता दिने सन्दर्भमा महानगरपालिकाले स्थायी संयन्त्र निर्माण गरेर अगाडि बढ्ने छ,’ प्रमुख आचार्यको भनाई थियो ‘सरसफाई अभियानमा स्थानीय पर्यटन व्यवसायी तथा होटेल व्यवसायीहरूको साथ सहयोग पनि जरुरी छ।’ तालको छेउमा ठुला व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूको ताल संरक्षण तथा सरसफाइमा कम चासो देखिएकोप्रति प्रमुख आचार्यले रोष प्रकट गरे। आफ्नो आसपासको क्षेत्रमा नियमित सरसफाइ गर्ने कार्यमा उनीहरूको ध्यानाकर्षण समेत प्रमुख आचार्यले गराएका छन्।  

फेवाताल सफाइका लागि ल्याइएको मेसिनमा पटक पटक खराबी आएका कारण नियमित सञ्चालन गर्न नसकिएको समेत महानगरपालिकाले उल्लेख गरेको छ। लामो समय मेशिन खराबी कारण अलपत्र परेको थियो। ‘मेशिनलाई मर्मतसंभार गरी आजदेखि मेसिनको क्षमता अनुसार सञ्चालनमा ल्याइएको छ,’ उनको भनाई थियो,‘फेवाताल संरक्षण गर्नु तपाई हामी सबैको ड्युटी हो।’ पोखरा महानगरपालिका फेवातालको संरक्षण, विकास र प्रवर्द्धन प्रति प्रतिबद्ध रहेको प्रमुख आचार्यले स्पष्ट पारे।  

फेवाताल सरसफाइ अभियानमा आमा समूह, टोल विकास संस्था, युवा क्लब, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरू, सहकारी, बैंक तथा वित्तीय संस्था, राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन सम्बद्ध सङ्घसंस्थाको सहभागिता रहेको छ। सरसफाईका लागि फेवाड्याम, ड्यामसाईड पार्क, केदारेश्वर घाट, फिस्टेल घाट, अम्बोट घाट, नयाँघाट, गौरी घाट, बाराही घाट, नेपाल ट्रष्ट, पाहारी घाट, माछा सेक्सन ,फेवाघाट, स्वीमिङ पुल, हल्लनचोक ,क्याम्पीङ चोक ,खहरे घाट, बंगलादी घाट, गैरी चौतारा, वाटर फ्रन्ट, रातेमाटो डाँडा, फ्याउरे घाट दुनाटपरी, क्यारोनोभा खपौदी र इन्ड अफ दि लेक गरी ३३ वडा क्षेत्र निर्धारण गरेर सरसफाई अभियान शुरु गरिएको छ।  

प्रकाशित: २५ आश्विन २०७९ ०९:४८ मंगलबार

फेवाताल जलकुम्भी