समाज

अर्घाखाँचीको मौलिक ‘सराएँ नाच’

कोजाग्रत पुर्णिमा पछी औपचारिक रुपमा दसैं सकिएको मान्यता

सन्धिखर्कको अर्घामा मौलिक सराएँ नाच नाचिँदै।

बडादशैंको दिनदेखी कोजाग्रत पुर्णिमा सम्म जिल्लाका कोट तथा शक्तिपीठहरुमा सराएँ नाच हुन्छ। सराएँ नाच अर्घाखाँचीको मौलीक नाच हो। यस नाचमा महिला र पुरुषहरु हातमा तरवार, खुँडा, खुकुरी आदि लिएर ‘वाखै भाइ हो ह..’ भन्दै सराएँ नाच्ने गर्दछन्।  

हिन्दु साँस्कृतिक परम्पराको जगेर्ना साथै सबै समुदायबीच धार्मिक र जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न सराएँ नाच नाच्ने  गरिन्छ। सराएँ महिला, पुरुष मात्र नभई सबै जातजाती एकै ठाउँ भएर नाचिने नाच हो। विजयादशमीको दशमीदेखी पुर्णिमासम्म जिल्लाका अधिकांश कोट तथा शक्ति पीठहरुमा नाचिने सराएँ नाच चैते दशैंमा पनि केहि ठाउँमा नाचिने गरिन्छ।  

हिन्दूहरुको महान पर्व बडादशैंमा नाचिने सराएँ नाच एकादशीको दिन सन्धिखर्क, द्वादशीको दिन शितगंगा नगरपालिकाको ठाडादह, भुमिकास्थान नगरपालिकाको ढिकुरा, त्रयोदशीको दिन सन्धिखर्क नगरपालिकाको खाँचीकोट, भुमिकास्थान नगरपालिका नुवाकोटको ताराखसे, भुमिकास्थानकै पाकु, पाणिनी गाँउपालिकाको मालिका, चतुर्दशीको दिन मालारानी गाँउपालिकाको हंसपुर राँगामारे, सन्धिखर्कको कुर र पुर्णिमाको दिन भुमिकास्थानको सुवर्णखाल र सन्धिखर्कको अर्घा दरबारमा नाचिने गरिन्छ। अर्घाको अर्घा भगवती मन्दिरमा सराएँ नाच, पुर्णिमा मेला सहित फूलपाती विसर्जन गरेपछी यस बर्षको दशैंको समापन भएको अर्घा भगवती मन्दिरका पुजारी धर्मराज पोख्रेलले बताए।  

तरबार, खुँडा, खुकुरी लगायतका हतियार लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देवीहरुको प्रतीक आलमलाई समेत लिएर नाच्ने गरिन्छ। हतियार प्रदर्शन सहित नाचिने यो नाचले देवी खुसी हुने जनविश्वास छ। अर्घाखाँचीबाट बसार्इंसराई गरी रुपन्देही र कपिलवस्तु गएकाहरुले पनि सराएँ नाच निकाल्ने गर्दछन्। अर्घाखाँचीको विभिन्न क्षेत्रबाट बसाई सरेर गएका वासिन्दाले सराएँ नाचको विस्तार गरिरहेका छन्। पाणिनीको मैदानबाट बसाईंसराई गरि रुपन्देहीको बाँसगढी बस्ने अभिनव घिमिरेले रुपन्देहीमा पनी सराएँ नाचको विस्तार हुन लागेको बताए।  

सराएँ नाच अर्घाखाँची आसपासका जिल्लामा बढी प्रचलित छ।  किम्बदन्ती अनुसार देवीले राक्षस महिसासुर र शुम्भको बध गरेको खुशियालीमा सराएँ नाच्न थालिएको हो। सराएँ नाच्न कहिलेदेखी सुरु गरियो भन्ने यकिन नभएपनी सयौं बर्षदेखी देवीलाइ खुशी पार्न यो नाच नाच्ने प्रचलन रहिआएको र आफुहरुले परम्परालाई पच्छाएको सरोकावालाहरुको भनाई छ।

कोजाग्रत पुर्णिमामा सराएँ विसर्जन गरेपछी औपचारिक रुपमा दशैं सकिएको मान्यता रहँदै आएको छ।

प्रकाशित: २५ आश्विन २०७९ ०५:३६ मंगलबार

सराएँ नाच