समाज

क्याङरुङ गाउँ पहिराेकाे उच्च जोखिममा

लगातारको वर्षाले पाल्पाको निस्दी गाउँपालिका-३ झिरुवासको क्याङरुङ गाउँ पहिराेले उच्च जोखिममा परेको छ। यहाँका करिब २२ घरमा पहिराेले जोखिम बढाएको छ। शनिबार बिहान पहिरो खस्दा क्याङरुङको डाँडाथर टोल जोखिम परेको हो।

पहिराले विस्थापित परिवारलाई तत्कालका लागि छिमेकीको घरमा सारिएको छ। पहिराे-पीडितलाई पालिकाले सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी गरिरहेको वडाध्यक्ष नवीन्द्र थापाले बताए। उनका अनुसार तत्कालका लागि घरमा राखिएका अन्नपात र गाईवस्तुलाई ओत लाग्न त्रिपाल दिइएको छ।

बसोबासका लागि गाउँ नै जोखिम बनेको स्थानीय गोकबहादुर सोती गुनासो गर्छन्। उनले भने, ‘तत्कालका लागि मानवीय र घरमा क्षति नदेखिए पनि कतिबेला घर पहिराले लैजान्छ भन्ने निश्चित छैन। गाउँ पूरै जोखिममा छ। यसपटक वर्षाले ठूलै पहिरो खसेपछि गाउँका स्थानीयमा त्रास बढेको छ।’

यहाँ रहेको लक्ष्मी माविमा पनि जोखिम पुर्‍याएको प्रधानाध्यापक पदमबहादुर थापाले बताएका छन्। निस्दी-४ मित्यालको एक विद्यालय र दुई  घरमा पनि धेरै क्षति भएको छ। वर्षाले खोपलाकका दुई घर भत्केको छ। माथिबाट खसेको पहिराले जनकल्याण आधारभूत विद्यालय भवनमा ठूलो क्षति पुगेको धनबहादुर ठाडाले बताए। रासस

प्रकाशित: २४ आश्विन २०७९ ०४:५४ सोमबार

लगातारको वर्षा पहिराले २२ घर जोखिममा