समाज

सडक भासिँदा आवागमनमा ठप्प

क्याप्शनफाइल तस्बिर।

तनहुँको भिमादस्थित श्रृगपथ सडक खण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमनमा ठप्प भएको छ।

गत मंगलबार साँझदेखि परेको अविरल वर्षाले जिल्लाको घिरिङ गाउँपालिका-५ देउराली नजिकको सडक भासिंदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गुड्ने सवारीसाधन रोकिएको हो।

पहिरा अगाडिको भाग पहिरिएकाले दुई पांग्रे सवारीबाहेक ठूला सवारी साधन गुड्न नसक्दा चाड-पर्वका समयमा टीका लगाउन आवतजावत गर्ने मानिसहरूले सास्ती भोग्नुपरेको जनाइएको छ।

गाडी नचलेपछि लामो दूरी हिंडेरै भए पनि मानिसहरू आफन्त, इष्टमित्र र मान्यजनको हातको टीका थाप्न जान बाध्य भएको उनले बताए। कि त त पहरापट्टिको भित्ता काट्नुपर्छ कि त तलबाट पर्खाल उठाएर सडक सञ्चालन गर्न सकिने हुँदा तत्कालका लागि पहरा काट्न छिटो हुने देखिएको उनले बताए।

उक्त सडकबाहेक वैकल्पिक मार्गका रूपमा रहेको भिमाद, ऋषिङपाटन हुँदै ऋषिङ भञ्ज्याङदेखि घिरिङ देउराली जान सकिने भए पनि ठाउँठाउँमा पहिरा खसेर अवरोध भएकाले सम्भव देखिएको छैन।

तत्कालका लागि यताको गाडी यतै र उताको गाडी उतै व्यवस्था मिलाई यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने योजना बनाइएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले जनाए।

उक्त सडक भएर सवारीसाधन गुड्ने चारवटै पालिकासँग समन्वय गरी जतिसक्दो चाँडो दीर्घकालीन रूपमा सञ्चालन गर्न पहल भइरहेको उनको भनाइ छ।

प्रकाशित: २२ आश्विन २०७९ ०८:२१ शनिबार

सडक भासिंदा आवागमनमा ठप्प तनहुँको भिमादस्थित श्रृगपथ सडक खण्ड