समाज

दशैं मानेर फर्कनेलाई सास्ती

कच्ची सडक भएर ट्रकमा यात्रा गर्दै गोरखा सदरमुकाम आउँदै गरेको यात्रु। गोरखा सदरमुकामबाट काठमाण्डौँ, चितवन, पोखरा जान गाडी कुर्दै गरेको यात्रु। <br>

गोरखाको ग्रामिण सडक हिलाम्य हुँदा दशैं मनाएर फर्कनेहरुले सास्ती भोग्नु परेको छ। विजया दशमीको दिन बुधबारदेखि शनिबार आज सम्म वर्षात भइरहेको छ। मंगलबार दिउँसो समान्य घाम लागेपनि बिहान र साँझ वर्षात भएको थियो। लगातारको झरीले दशैं अघि मर्मत गरिएको गोरखाको ग्रामिण सडक फेरि बिग्रिएको छ।  

मर्मत गरेको सडक, खाल्डा पुरेको माटोमा फेरी हिलो जम्दा यात्रुवाहक सवारी साधन चल्न सकेको छैन। सवारी साधन नचल्दा दशैं मानेर फर्कने, आफन्तकहाँ टिका थाप्न आउजाउ गर्नेहरु फैदल हिँड्न बाध्य छन्। बारपाक, बोर्लाङ, ताकु लगायत ग्रामिण रुटमा यात्रुवाहक बस चलेको छैन।  

केही रुटमा चालकले जबरजस्ती जोखिम मोलेर सवारी चलाइरहेका छन्। यात्रुवाहक बस नचलेपछि बोलेरो जिप, ट्रक, ट्याक्टर चढेर स्थानीय आउजाउ गरिरहेका छन्। पक्की सडकमा पनि सवारी साधनको चाप बढेको छ। जोखिम मोलेर सदरमुकाम सम्म आएका सर्वसाधारण सदरमुकामबाट गाडी नपाएर कोचिएर यात्रा गर्न बाध्य छन्।  

गोरखाको ग्रामिण भेगका सबै रुटमा वर्षातले सडक बिग्रिँदा गाडी पठाउन नसकिएको दरौँदी यातायात सेवा प्रालीले जनाएको छ। पक्की सडकका रुटमा भने सबै गाडी चलेका छन्। काउन्टर खुलेका छन्। पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालीले सबै सबै रुटमा गाडी क्यू थप भएर चलिरहेको जनाएको छ। तर यात्रु गोरखा सदरमुकामको सडक छेउमा उभिएर घण्टौँ गाडी कुर्न बाध्य छन्।  

फोटो

 

तस्विर ः नागरिक

 

प्रकाशित: २२ आश्विन २०७९ ०७:५५ शनिबार

दशैं