केही वर्षदेखि तराई–मधेसमा मधेसी समुदायले पनि टीका लगाएर दशैं पर्व मनाउन थालेका छन्। धनुषासहित तराई–मधेसका विभिन्न जिल्लामा यसपटक मधेसी समुदायका अधिकांश परिवारले दशैंको टीका थाप्दै दशैं मनाउन थालेका छन्।
समाज परिवर्तनको गतिशीलतासँगै जसरी मधेसी समुदायले मात्रै मनाउँदै आएको छठपर्व पहाडी समुदायमा समेत मनाउन थालिएको छ, त्यसरी नै तराई–मधेसमा मधेसी समुदायले समेत दसैँ पर्व मनाउन थालेका हुन्। मधेसको संस्कृति पहाडमा र पहाडको संस्कृति तराईमा साटासाटबाट भाइचारा वृद्धि हुने प्राज्ञ तथा संस्कृतविद रमेश रञ्जन झा बताउँछन्।
उनी भन्छन्, ‘यस पहिचानलाई फराकिलो गर्दै टीका ग्रहण तथा मान्यजनबाट आर्शिवाद लिने परम्परा मधेसमा बढ्दै गएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने यो नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड भएको छ।’ नौराथाको अष्टमी र नवमीको दुवै भूगोलमा आ–आफ्नै विशेषता छ। पहाडमा मनाउने दशैं उत्सव र चाडपर्वको हिसाबले पहाडी समुदायले मनाउने गर्दछन् भने मधेसमा भिन्नखालले दशैं मनाउने गरिन्छ।
तराई–मधेसमा निराहार व्रत बसेर तपस्याको रुपमा मनाउने गरिन्छ। धनुषाको महेन्द्रनगरका पुरोहित इन्द्रकान्त झाका अनुसार मधेसी समुदायले नवरात्रिको नव दिन फलाहार गरेर कपाल नकाट्ने, ऐनामा अनुहार नहेर्ने, नङ नकाट्ने, निराहार बसेर दुर्गा माताको पूजा गर्ने गर्दछन्। मधेसमा मन्दिरमा ढोग्ने र जईलाई धारण गर्ने गरिन्थ्यो तर अहिले दुबै समुदायले एक अर्काको घरमा पुगेर दशैं टीका थाप्ने क्रम बढेको छ।
वरिष्ठ पत्रकार तथा संस्कृतविद रामभरोस कापडीले दशैं माता भवानीकै पूजा भएकाले तराई–मधेसमा अलग्गै यसको पहिचान रहेको बताउँछन्। कापडीले टीकामा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा अराधनाले यस पर्व मनाउने गरेकाले आजको दिन विशेष रहेको बताए। आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म दुर्गा सप्तशती चण्डी पाठ गरी नवदुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजयी हासिल गरेको उपलक्ष्यमा र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन छ।
शान्ति र सद्भावको सन्देश बोकेर आउने दशैं पर्वले सम्पूर्ण हिन्दू नेपालीलाई साँच्चिकै शान्तिको अनुभूति दिलाउने गर्दछ। कोरोना महामारीको दुई वर्षपछि यसवर्ष आफन्तबाट टाढाटाढा रहेका परिवारका सदस्य आफ्नो जन्मस्थलो र आफन्त भेट्ने तथा मान्यजनबाट टीका र जमराका साथ आर्शिवाद लिन पाएकामा असाध्यै खुसी देखिन्छन्।
तराई–मधेसमा मेला उत्सव
तराई–मधेसको सहर, बजार एवं गाउँमा पोहोर र यसपालिको दशैं निकै फरक देखिएको छ। विगतका दुई वर्ष कोरोनाका कारण बन्दाबन्दीले गर्दा उकुसमुकुसकाबीच मधेसबासीले विजयादशमी मनाएका थिए। त्रासबीच थौर सार्वजनिक यातायात चलेकाले घरबाट निस्केपछि गन्तव्यसम्म पुग्ने÷नपुग्ने अन्योल र तनावका कारण स्थानीयवासीले त्यतिखेर खुलेर दशमी मनाउन सकेका थिएनन्। मठ, मन्दिर, दुर्गा पण्डाल, मेला र सडक सुनसान थिए। यस महान पर्वको आवागमन र बिदाईको राम्ररी अनुभूति हुनै पाइएको थिएन।
यसपाली दशैंको सौन्दर्य उत्कर्षमा देखिएको छ। मधेसमा खानपानको भन्दा पनि दसैँमा पूजाको संस्कृति रहेको छ। देवी दुर्गासहित अन्य विभिन्न देवदेवीका प्रतिमा स्थापना गरी भव्यतापूर्वक मेला लगाउने चलन छ।
मधेस प्रदेशका सबै जिल्लाको प्रमुख बजार तथा केही ग्रामीण क्षेत्रमा पनि भव्यतापूर्वक मेला आयोजना गरिएका छन्। महाअष्टमीमा पर्ने कालरात्रिमा पूजा गर्ने र बलि दिने चलन छ।
नवमी तिथिका दिन सम्पूर्ण शक्तिपीठमा बलि दिने गरिन्छ। नवमीको दिन जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिर, महोत्तरी सोनामाई, सप्तरीको छिन्नमस्तालगायतका शक्तिपीठमा हजारौँको सङ्ख्यामा बोका र राँगा बलि दिइएको छ। मधेसमा दशैंभरि बिहान र बेलुका घरदेखि मन्दिरसम्म पूजा गर्ने चलन रहेकाले हरेक घरमा भक्तिको वातावरण हुने गरेको पण्डित लालबाबु झा बताउँछन्। उनले भने, ‘मधेसको संस्कृतिमा दशैंको अवधिभर खेलिने झिँझिया र भगतईमा केही ह्रास भएको भए पनि पूजापाठमा हरेक वर्ष श्रद्धालुको सङ्ख्या बढ्दै गएको छ।’
दशैंमा एक अर्कालाई शुभकामना आदानप्रदान गर्ने र भोजभतेर गर्ने चलन बढिरहेको नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णको भनाइ छ। उनले भने, ‘मूर्ति स्थापना गर्ने, प्रतिमा बनाएर देवीको पूजा गर्ने, मेला लगाउने तथा घरमासमेत पूजा गर्ने र व्रत बस्ने चलनका कारण मधेसको समाज एक किसिमले भक्तिमय बन्ने गरेको छ।’
दशैंको महाअष्टमीदेखि विजया दशमीको दिनसम्म विभिन्न स्थानमा मेला लाग्ने हुनाले सुरक्षा चुनौती थपिन्छ। मेलामा पहिले जुवा खेलाउने चलन थियो तर सुरक्षा व्यवस्थामा जुवाले चुनौती थपिने गरेकाले अहिले यस्तो चलन हट्दै गएको छ।
प्रकाशित: २० आश्विन २०७९ १०:१२ बिहीबार