समाज

नारायणीमा पानीको बहाव यस वर्षकै उच्च

अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारी अनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको हो।

नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ। नौ दशमलव आठ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ। नारायणगढ क्षेत्रमा बिहान ६ बजे नै पानीको सतह नौ दशमलव आठ मिटर पुगेको थियो। एघार मिटर पुग्नासाथ खतराको संकेत मानिन्छ।

यस्तै देवघाट मापन केन्द्रमा पनि पानीको बहाव सात दशमलव चार मिटर पुगेको छ। सात दशमलव तीन मिटर पुगेपछि सतर्कता तह पार हुन्छ। देवघाटमा ९ मिटर पानीको बहाव पुगेपछि खतराको संकेत मानिन्छ। नारायणीमा पानीको बहाव आज यस वर्षकै उच्च रहेको चितवन जिल्ला प्रशासन कार्यालयले बताएको छ। पानी निरन्तर परिरहेकाले बाढीको सतह बढ्ने क्रममा छ। नारायणीमा बहाव बढेपछि पश्चिम चितवनका नदी तटीय क्षेत्र जोखिममा परेका छन्।

चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेले आज साँझसम्म उच्च सतर्कतासाथ सुरक्षित स्थानमा रहन उक्त केन्द्रले जनाएको छ। चितवन, नवलपरासी लगायत जिल्लामा रातभर पानी परेकाले नारायणी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेको अनुसार जिल्लाका सबै सुरक्षा निकायलाई ‘अलर्ट’ रहन निर्देशन दिइएको छ। रासस 

प्रकाशित: २० आश्विन २०७९ ०२:४७ बिहीबार

अविरल वर्षा नारायणी नदीमा आएको बाढी सबै सुरक्षा निकायलाई ‘अलर्ट’ रहन निर्देशन