यतिबेला सिंगो देश नै दशैँमय बन्दा केही मानिस भने विदेश जान बाध्य छन्। आज (बुधवार) सम्पूर्ण नेपालीहरु महान चाड विजया दशमी मनाइरहँदा रोजगारी र अध्ययनका लागि केही मानिसहरु रातो टीका र जमरा लगाएर विमानस्थलमा परिवारसँग छुट्टिँदै थिए।
आज बिहान दशैँको टीका लगाएर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरु विदेश जानका लागि परिवारसँग खुशी र दुःख एकैसाथ साट्दै गरेको देख्न सकिन्थ्यो। अधिकांश नेपालीहरू दशैँको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका हुन्। तीमध्ये अधिकांश युवा छन्। रहरले भन्दा पनि बाध्यतामा परेर आफूहरू चाडबाडको मुखमा घर परिवार छोडेर विदेश जान लागेको उनीहरू बताउँछन्।
उनीहरु अहिले दशैँ मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर आफू विदेशिन लागेको बताउँछन्। महान चाड बडादशैँको बेलामा सयौँ युवाहरु रोजगारीका लागि विदेशिन बाध्य छन्। घरपरिवारबाट बिदा भइ खादा र टीका लगाई विदेशिने युवाहरुको जमात विमानस्थलमा बाक्लै देख्न सकिन्छ। पर्वमा घर परिवारलाई छाडेर वैदेशिक रोजगारका लागि खाडी मुलुक जान लागेका युवाहरुको मन भारी छ। यद्यपि हातमुख जोर्ने बाध्यताले चाडबाड मनाउने सुविधा भने दिएको छैन।
प्रकाशित: १९ आश्विन २०७९ १०:५९ बुधबार