त्यही बसले मुग्लिनबाट करिब ३० किलोमिटर टाढा रामनगरसम्मको दुरी पार गर्दा सवा ११ बज्यो । राजमार्गको यात्रा जम्मा ३० किमी पार गर्न झन्डै चार घन्टा लाग्नुको प्रमुख कारण थियो– सवारी जाम।
'तीन घन्टाजस्तो जाममा परियो, अझै बढी कुर्नुपर्ने हो कि भन्ने पिर भो,' बसका चालक चालक नेत्रलाल थारुले अनुभव सुनाए, 'यो त अझ कम हो।'
बिहानपख पानी परेकाले उनी लामो जाममा परिने पो हो कि भन्ने त्रासमा थिए। यो रुटमा १० वर्षदेखि गाडी चलाउँदै आएका थारु सामान्य अवस्थामा एक घन्टामा बाटो पार गर्थे। यो खण्डमा पाँच घन्टाभन्दा पनि लामो जाममा परेको अनुभव छ उनीसँग।
जामको सास्ती नेत्रलालजस्ता चालकलाई मात्र होइन, राजधानीलाई बाहिरका जिल्लासँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक खण्ड विस्तार सुरु भएसँगै यात्रुले अत्याशलाग्दो जाम सामना गर्नुपरिरहेको छ।
उक्त खण्ड बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म घोषित रूपमै बन्द हुन्छ, निर्माण कार्यका लागि। त्यसबाहेक अन्य समयमा पनि त्यहाँ यात्रा सहज छैन। सामान्य बेलामा एक घन्टामा पार गर्न सकिने उक्त सडक छिचोल्न अचेल घन्टौं लाग्ने गरेको यात्रु सुनाउँछन्।
उक्त सडक खण्डमा बिहान ११ बजेदेखि ३ बजेसम्म अरु गाडी ठप्पै भए पनि एम्बुलेन्सलगायत अत्यावश्यक गाडी भने चल्छन्। तर, सडकमा काम भइरहेका बेला एम्बुलेन्स पनि रोकिनुपर्ने बाध्यता छ।
बुधबार दिउँसो घुमाउने भन्ने स्थानमा काम भइरहेकोले मोटरसाइकल, साना गाडी र दायाँ–बायाँ गरेर पाँच एम्बुलेन्स करिब आधा घन्टा जाममा परे। 'कहिलेकाहीँ त यो बाटोमा एम्बुलेन्स पनि पाँच घन्टासम्म जाममा पर्छन्,' भरतपुरबाट सुत्केरी लिएर गोरखा जाँदै गरेका ना३च ५५९५ नम्बरको एम्बुलेन्स चालक सञ्जय देउजाले भने।
सडक निर्माण सन् २०१७ अप्रिलमा सक्ने लक्ष्यसाथ गत वर्ष काम सुरु भए पनि अहिलेसम्म आधा पनि काम सकिएको छैन। नारायणगढ– मुग्लिन सडक खण्ड ३६ किमी लामो छ। मुग्लिनभन्दा अगाडि गोरखासम्म पुगेको यो सडकले मुग्लिनमा काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्ग छुन्छ।
४४ वर्षअघि सन् १९८२ मा चीन सरकारको सहयोगमा बनेको यो बाटो दुई लेन पनि थिएन। नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा अहिले यस सडकको स्तरोन्नति हुन लागेको हो। निर्माण पूरा भएपछि यो सडक एसियाली मापदण्डअनुसार दुई लेनको हुनेछ। तीन खण्ड बनाएर फरक–फरक कम्पनीलाई ठेक्का दिइएको यो सडक बनाउन करिब ३ अर्ब खर्च हुने अनुमान छ।
मुग्लिन–नारायणगढ सडक निर्माण आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार अहिलेसम्म ४० प्रतिशत सडक निर्माणको लक्ष्य राखिए पनि तीन खण्डमा २० प्रतिशत हाराहारी मात्र काम भएको छ। 'काम समयमै नसकिने हो कि भन्ने अन्योल बढेको छ,' यादवले भने।
काममा प्रगति छैन
भूकम्प र नाकाबन्दीका कारण सोचेअनुरुप काम हुन नसकेको अधिकारीको भनाइ छ । लक्ष्यभन्दा थोरै काम पूरा भएकाले चाँडो सिध्याउन दिउँसो चार घन्टा भाडाका गाडी पूरै बन्द गर्ने निर्णय गरिएको थियो । गत माघ २८ देखि यो नियम लागू भए पनि निर्माण कार्यमा भने सोचअनुसार प्रगति देखिएको छैन।
बिहान ११ देखि ३ बजेसम्म गाडी रोकिँदा उक्त खण्डमा धमाधम काम भइरहेको होला भन्ने लाग्न सक्छ। तर, छिटो गतिमा काम हुन सकेको छैन। गाडी बन्द हुने समयमा बुधबार दिउँसो उक्त राजमार्ग हेर्दा केही ठाउँमा मात्र काम भइरहेको देखिन्थ्यो। नारायणगढदेखि १७ किलोमिटर पर एम्बुलेन्सलगायत अत्यावश्यक गाडीसमेत पार गर्न नमिल्ने गरी काम भइरहेको थियो।
सडक विभागद्वारा खटाइएका आयोजनाका आवासीय इन्जिनियर विप्लव कार्कीका अनुसार गाडी बन्द हुने र कामदारले खाना खाने समय एउटै भएकाले काम चुस्त गतिमा अगाडि बढ्न सकेको छैन। 'तर, यो बेला डोजर र एक्जाभेटरको काम भने रोकिन्नँ,' उनले भने।
गाडी चलेका बेला काम गर्नु कामदारका लागि पनि जोखिमपूर्ण रहेको कार्कीको भनाइ छ। 'एक किनारमा भएको बालुवा, सिमेन्ट, ढुंगा बोकेर काम हुँदै गरेको अर्को किनारमा जानुपर्ने हुन्छ। जाम खुलेका बेलामा गाडी बेजोडले हुइँकिने भएकाले यस्तो बेलामा कुरेर बस्नुपर्ने हुन्छ र काममा ढिला हुन्छ,' उनी भन्छन्। भौगोलिक अवस्था असजिलो भएकाले पनि काममा सोचेअनुरुप प्रगति नभएको उनको आँकलन छ।
पर्याप्त छैनन् कामदार
राजधानीको 'लाइफ लाइन' मानिएको यो सडक निर्माण कार्यमा थोरै जनशक्तिले काम गरिरहेको देखिन्छ। दासढुंगादेखि केही पर पर्खाल लगाउने कामको नेतृत्व गर्दै थिए, रामेछापका दावा छिरिङ । उनको १० सदस्यीय टोलीले १० मिटर लम्बाइ, दुई दशमलव ६ मिटर उचाइ र साढे तीन मिटर चौडा पर्खाल लगाइरहेको थियो।
बुधबार दिउँसो काम गर्दै गरेको अवस्थामा भेटिएका दावाले पर्खाल लगाउन सुरु गरेको आठ दिन भएको र पूरा गर्न अझै हप्ता दिन लाग्ने बताए । उनका अनुसार १० मिटर लामो पर्खाल लगाउन १५ दिन लाग्छ । कामदार कम भएकाले समय बढी लागेको उनको भनाइ छ ।
'अझै ३–४ जना डकर्मी थपिए मात्र छिटो काम सकिन्छ, थोरै मजदुरले काम गर्दा बढी समय त लागिहाल्छ नि,' उनी भन्छन्।
सकेसम्म पर्याप्त कामदार राखेर महत्वपूर्ण आयोजना चाँडो सिध्याउनुपर्नेमा त्यसो नभएको देखिन्छ । सरकारी अधिकारी भने आवश्यकताअनुसार मजदुर खटाइएको दाबी गर्छन्। 'चाहिएको ठाउँमा कामदार खटाउन कन्जुस्याइँ गरेजस्तो लाग्दैन, अप्ठ्यारो ठाउँ भएर पनि काम ढिलो भएको हो,' यादवले भने।
खेतीपातीको सिजन सुरु हुन लागेकाले केही कामदार गाउँ फर्किएकाले यसले काममा झनै असर पुर्याउने दावाको अनुमान छ। मुग्लिनतर्फको तेस्रो खण्डमा मेसिन औजार थप्नुपर्ने आवश्यकता देखिएको इन्जिनियर कार्की बताउँछन्।
'औजार थपेर मात्र के गर्नु र, चाहिने कामदार पर्याप्त छैनन्,' उनी भन्छन् । निर्माणका लागि तीनैवटा खण्डमा गरेर दक्ष २ सय २५ र अदक्ष ४ सय २ कामदार कार्यरत रहेको सडक निर्माण आयोजना कार्यालयले जानकारी दिएको छ। बाँकी काम सक्न चार महिना दिइए पनि त्यस अवधिमा काम पूरा हुने छाँट छैन।
'यतिखेरसम्म ४० प्रतिशतसम्म सक्ने भन्ने थियो। समग्रमा २० प्रतिशत हाराहारी काम भएको छ। बाँकी काम चारदेखि साढे चार महिनाभित्र पूरा गरे मात्र जरिवाना लाग्दैन,' इन्जिनियर कार्कीले भने। वर्षा सुरु हुने बेला भइसकेकाले काम गर्न गाह्रो छ।
बिहीबार बिहानपख पानी पर्दा दिनभरको काम प्रभावित भएको थियो।
'पहिरो झर्ने, हिलोलगायत समस्याले अलि गाह्रो भयो । जाम पनि लामै थियो,' आयोजनाका इन्जिनियर शिव खनालले भने । नारायणगढ, रामनगर उकालोमा पनि हिलो माटोका कारण गाडी सहज रुपमा उकालो चढ्न नसक्दा डोजरको सहयोग लिनुपरेको थियो । वर्षामा यो समस्या झनै थपिनेछ ।
मध्यजेठपछि दिउँसो गाडी बन्द गर्ने समय फिर्ता लिइने आयोजनाप्रमुख चन्द्रनारायण यादवले बताए।
जामले यात्रुको बिजोग
लु१ख ७२०१ यात्रुबस चढेर दमौलीबाट नारायणगढ आउँदै गरेका रोशन शर्माले बिहीबार चार घन्टा लामो जामको दिक्दारी भोगे । 'एकदुई घनटामा पुगिएला भनेर त्यहीअनुसार योजना बनाएर आएको, जाममा परेर तनाबै भो,' रोशनले भने । जाममा नियम मिचेर हिँड्ने साना गाडीलाई नियन्त्रण गर्ने कोही नभएको उनले सुनाए । चार घन्टा जाममा बस्दा एक जना मात्रै प्रहरी भेटे उनले ।
'मान्छे भोकाउँछ, दिसापिसाबको समस्या हुन्छ । जाम हुने ठाउँमा मोबाइलको नेटवर्क पनि हुँदैन, तनाबसँग बस्नुपर्छ,' चालक नेत्रलाल थारुले भने । गलत नियत राख्नेले यस्तो बेला समस्या ल्याउन सक्ने खतरा उनले देखेका छन् ।
'त्यसैले ठाउँठाउँमा प्रहरी राख्नुपर्छ । यसले मनपरी दौडने साना गाडी रोकर जाम नियन्त्रणमा लिन्छ र गलत नियत राख्ने पनि प्रकट हुँदैनन्,' रोशनले भने ।
आयोजना कार्यालयबाट प्राप्त जानकारीअनुसार आँपटारीदेखि झन्डै १३ किलोमिटरसम्मको खण्ड बिएलए तथा श्रेष्ठ निर्माण कम्पनीलाई संयुक्त ठेक्का दिइएको छ । ६० करोड १० लाख ६३ हजार रुपैयाँ लागतमा बन्ने सो खण्डको निर्माण सम्झौता सन् २०१५ को २४ अप्रिलमा भएको थियो । त्यसपछि साढे २३ किमीसम्म जिम्मा उडहिल तथा लामा निर्माण कम्पनीलाई दिइएको छ ।
उक्त खण्डको लागत ९७ करोड ६६ लाख ८१ हजार रुपैयाँ छ । एक वर्षअघि ३१ मार्चमा उक्त खण्डको निर्माण सम्झौता भएको थियो । त्यसअघि २३ मार्चामा भएको सम्झौताअनुसार सुप्रिम तथा रौताहा निर्माण कम्पनीलाई साढे २३ किलोमिटरदेखि मुग्लिनसम्मको निर्माण जिम्मा दिइएको छ । सो खण्डको निर्माण लागत सबैभन्दा धेरै एक अर्ब ३० करोड ४२ लाख ६८ हजार रुपैयाँ छ ।
सम्झौता भएको २४ महिनाभित्र निर्माण सक्ने सर्त रहे पनि भूकम्प र नाकाबन्दीका बेलामा इन्धन अभावले काम सहज हुन नपाएकाले म्याद थप हुने निश्चित छ । तर म्याद थपको अवधि तय भएको भने छैन । यो सडक खण्डमा दैनिक ७ हजार ३ सय गाडी ओहोरदोहोर गर्ने आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।
'मैले गाडी चलाउन थालेदेखि नै यो रुटमा कहिल्यै राम्रोसँग चलाउन पाइनँ । केही न केही कारण जाम परिहाल्छ । अब एकदुई वर्ष दुःख पाए पनि अरु वर्ष सर्रर चलाउन पाइने आस छ । काम चाँडै पूरा होस् भन्ने कामना गर्छु,' चालक नेत्रलालले भने ।
उक्त सडकमा अहिले रहेको बढीमा पाँच मिटर फराकिलो पिचलाई सातदेखि ११ मिटरसम्म फराकिलो पार्न लागिएको हो । नारायणगढदेखि १६ किलो मिटर दुरीसम्म सडक ११ मिटर फराकिलो हुनेछ । त्यसपछि मुग्लिनसम्म सात मिटरको फराकिलो पिच हुने आयोजना कार्यालयले जानकारी दिएको छ । पुल निर्माण कार्य सडक पूरा भएपछि थप बजेटसहित सुरु हुनेछ ।
प्रकाशित: ३० वैशाख २०७३ १८:३६ बिहीबार