समाज

मधेसका शक्तिपीठमा खोंइच भराईको उल्लास

दुर्गा मन्दिर लहानमा खोंइच भर्न र पुजा गर्न लागेको श्रद्धालुको भीड। तस्बिरः मिथिलेश यादव/नागरिक

हिन्दु धर्मालम्बीहरू महाअष्टमी पर्व विभिन्न अनुष्ठान गरी मनाइरहेका बेला मधेसका महिलाहरू ‘खाेंइछ भराई’(पति र सन्तान रक्षाको विशेष पूजा) गरी धुमधामसँग मनाइरहेका छन्।

आइतबार दिउँसो २ बजेबाट मधेसका महिलाहरू नजिकको दुर्गा भगवती मन्दिर गई खाेंइछ भरिरहेका छन्। यो सन्तान र पतिको जिवनरक्षाका लागि गरिने विशेष पूजा हो। दुर्गा भगवतीको अगाडि चोखो वस्त्र ओच्छयाएर त्यसमाथि पान, सुपारी, नरिवल, सिन्दुर, चुरा, र पुजा सामग्री राखेर पति र सन्तानको दिर्घायुको कामना गरेर ‘खोंइछ भर्ने’ पर्व मनाउँछन्। लहानकी व्रतालु सुनिती यादव भन्छिन्,‘पति र सन्तान रक्षाका लागि यो व्रत वस्दै आएको एक दशक भयो।’

खोंइछ भर्ने उपक्रम सोमबार मध्याह्नसम्म चल्छ। मिथिलाञ्चलमा चेलीबेटी माइती आउँदा फलफूल,केराउ–बदामको अंकुरी, मिष्ठान्न, श्रृंगार सामग्री, लत्ताकपडासहित खोंइछ भर्ने परम्परा छ। खोंइछ भर्दा सुख,समृद्धि प्राप्त हुने मान्यता छ।

लहानस्थित दुर्गा मन्दिरका प्रमुख पुजारी पण्डित कुशेश्वर झा भन्छन्, ‘यो परम्परा मिथिलानी नारीहरुबाट सुरु भइ अहिले तराई मधेसभरी फैलदै गएको छ।’

दुर्गालाई आँखा प्रदान गर्नेबित्तिक्कै मधेसका गाउँ–गाउँमा मेला सुरु हुन्छ। सोमबार महाअष्टमीको दिन माड्रको दुर्गा मन्दिर, सप्तरीको सखडा भगवती मन्दिर, जनकपुरको राजदेवी मन्दिरलगायत शक्तिपीठहरूमा बोका बली दिने प्रचलन रही आएको छ। लहानको दुर्गा मन्दिरमा भने नवमीको दिन बोका बली दिन पुजा समितिले जनाएको छ।

विजया दशमीको आगमनसँगै मधेसका गाउँसहरको चोक–चोकमा आकर्षक प्रवेशद्वार निर्माण गरिएका छन्। झिलिमिली बिजुली बत्तीले दुर्गा मन्दिर झकिझकाउ छ। पूजास्थलहरूमा निर्माण गरिएका ठूलठूला पण्डाल, आकर्षक प्रवेशद्वार, भजन–कीर्तन आदि सांस्कृतिक कार्यक्रमले रोमाञ्चकता बढाएको छ।

शक्तिपीठहरूमा बिहानैदेखि श्रद्धालु पुजाका लागि लाइन लाग्ने गर्छ। भीड नियन्त्रण र व्यवस्थापन गर्न पुजा समिति, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। जिल्ला उद्योग बाणिज्य संघ लहानका अध्यक्ष विकास सारडाका अनुसार दुर्गा पुजाका कारण बजारमा रौनक बढेको छ। यद्यपी व्यपारमा उत्साह भने अझै थपिएको छैन्, उनले भने। यसपालीको दुर्गा पुजा पहिलाको भन्दा व्यवस्थित र आकर्षक रहेको उनले बताए।

दुर्गा मन्दिर परिसरमा रात्री रंगारंग सांस्कृतिक कार्यक्रम आयोजनाले आकर्षण थपिएको सारडाले बताए। कार्यक्रममा स्थानीय गायक‚ गायिका तथा नर्तक–नर्तकीसँगै बाहिरबाट पनि संस्कृतिकर्मीहरूलाई बोलाइएको छ। सांस्कृतिक कार्यक्रम हेर्न स्थानीयवासीको ओइरो लाग्ने गरेको छ।

प्रकाशित: १७ आश्विन २०७९ ०३:५१ सोमबार

हिन्दु धर्मालम्बी लहान