महानगरबासीका समस्या हल गर्नका लागि ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर)मा आएको गुनासोको आधारमा विराटनगर महानगरपालिकाले माछा–मासु पसलमा अनुगमन गर्न थालेको छ।
माछा–मासु पसलमा कैफियत तरिकाले बिक्रीवितरण गरेको गुनासो आएपछि विराटनगरका मेयर नागेश कोइरालाको नेतृत्वमा अनुगमन गर्न थालेको हो। अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटियो। अनुगनका क्रममा खसीको मासुकै मूल्यमा बाख्राको मासु बिक्री गरेर व्यापारीहरूले उपभोक्ता ठगी गर्ने गरेको पाइएको हो। दशैंमा माछा–मासु बढी खपत हुने भएकाले मौका छोपेर व्यापारीले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको छ।
विराटगर–२ तीनपैनीस्थित नेवी फ्रेस हाउस, हाटखोलास्थित जेकी मिटमा बाख्राको मासु बिक्री गरेको भेटिएपछि मासु जफत गरेर तत्कालै नष्ट गरेको थियो। त्यसैगरी विराटनगर–८ देवकोटा चोकस्थित विराट एकीकृत कृषि फार्ममा ५ महिनादेखि डि फ्रीजमा माछा राखेको थियो। पसलका कर्मचारीले समेत ५ महिनादेखि मरेको माछा फ्रिजमा राखेको स्वीकारे।
अनुगमन टोली आएको थाहा पाएपछि अधिकांश पसल बन्द गरेर भागे। मेयर कोइराला नेतृत्वको टोलीले गुद्रीसहित सरोचिया, बरगाछी, तीनपैनीचोक, देवकोटा चोक, हाटखोलालगायतका स्थानमा सञ्चालित करिब डेढ दर्जन माछा–माछा मासु पसलको अनुगमन गरेको हो। टोलीले खान मिट, गाउँले मिट सेन्टर, जाकिर मिट पसल, रोयल मल्लिक मिट सेन्टरलगायतका पसलमा फ्रिजभित्र गनाएको मासु फेला परेपछि सबै माछा–मासु अनुगमन टोलीले फिनेल हालेर नष्ट गरेको छ।
हट लाइनमा आएका गुनासोलाई सम्बोधन गर्ने क्रममा माछा–मासुको पसल अनुगमन गरेको मेयर कोइरालाले बताए। उनले धेरै पसलले उपभोक्तालाई ठगिरहेको भेटिएको बताए। ‘उपभोक्ताको गुनासो आएपछि म आफैं अनुगमनका लागि निस्किएको हुँ,’ मेयर कोइरालाले भने, ‘गुनासो गरे जस्तै नै पाइयो। केहीलाई एक पटकलाई सचेत हुने मौका दियौं भने केहीलाई कारबाही प्रक्रिया अगाडि बढाएका छौं। फेरि भेटिए पसल नै शिल गर्छौं।’
व्यापारीले विशेष गरेर चाड पर्वको मौका छोप्दै अखाद्य वस्तु बिक्रीवितरण गर्ने हुँदा महानगरपालिकाले चाड पर्वमा विशेष अनुगमन गर्ने र कैफियत भेटिए कारबाहीको प्रक्रियामा लैजाने बताउँदै, मेयर कोइरालाले भने, ‘चाड पर्वमा मात्र होइन महानगरपालिकाले समय समयमा छड्के बजार अनुगमन गर्ने छौं।’
प्रकाशित: १५ आश्विन २०७९ ०५:४२ शनिबार