समाज

सल्यान दुर्घटनाका गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु

सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका तिलक ओलीको उपचारका क्रममा  मृत्यु भएको छ।

उनको मृत्युसँगै त्यो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। ओलीको उपचारका क्रममा गए राति शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ।

सो दुर्घटनामा परी जिपमा सवार आठ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते तिलकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको थियो।

रा १ ज ५६३ नम्बरको जिप बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका–६ जलवाङतर्फ जाँदै गर्दा मङ्गलबार बिहान २ बजे कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको थियो। सो दुर्घटनामा परी आठ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो। दुर्घटनामा परी ज्यान गुमाउने सबै कपुरकोट गाउँपालिका–६ जलवाङ गाउँका स्थानीय हुन्।

उनीहरु बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्किने क्रममा गाउँ नजिकै पुग्दा दुर्घटनामा परेका हुन्। दुर्घटनामा परी घटनास्थलमै ज्यान गुमाउने ४५ वर्षीय टोपबहादुर ओली, ११ वर्षीय छोरा वसन्त ओली, ४० वर्षीय ललित ओली, ४५ वर्षीया कुमारी ओली र ४५ वर्षीय धर्म ओली एउटै परिवारका सदस्य हुन्। टोपबहादुर र धर्म सहोदर दाजुभाइ हुन् भने वसन्त टोप बहादुरका छोरा हुन्।

कुमारी टोपबहादुर र धर्म सहोदर भाउजू हुने भने ललित टोप बहादुरका काकाका छोरा हुन्। दुर्घटनामा ज्यान गुमाउने अर्का ७० वर्षीय खुमलाल ओली पनि १३ दिने भाइ सन्तानभित्रका पर्दछन्।

त्यस्तै दुर्घटनामा सोही गाउँका चालक २२ वर्षीय जीतबहादुर बोहरा र २७ वर्षीय सुरेश केसीको पनि मृत्यु भएको छ। गाडी सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो। चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।  

यसैबीच दशैंको सबैतिर रौनक सुरु भएको बेलामा यतिखेर जलवाङ गाउँ शोकमा डुबेको छ। एकै गाउँका नौ जनाको मृत्युले गाउँमा सन्नाटा छाएको छ।

प्रकाशित: १४ आश्विन २०७९ ०८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App