समाज

जनक शिक्षाले छाप्ने पाठ्यपुस्तकको बढी अभाव

चितवन–चितवनलाई नेपालकै मुटु मानिन्छ। भरतपुर चितवनको पनि केन्द्र हो। भरतपुरमा रहेको निकै पुरानो विद्यालय चितवन उच्चमाविका विद्यार्थीले समेत अझै पर्याप्त पुस्तक पाउन सकेका छैनन् ।विद्यालयका प्रधान अध्यपक मुक्तिनाथ लामिछाने प्रथामिक तहमा पढ्ने विद्याथी लगभग सवैले किताब पाएका छन्। कक्षा छदेखि १० सम्मका विद्यार्थीमध्ये पुरै किताब नपाउने विद्यार्थी ४० प्रतिशत रहेका छन्।

'कक्षा छ देखि १० सम्म पढ्नेहरुमध्ये पुरै सेट किताब पाउने ६० प्रतिशत होलान । त्यो बाहेकका विद्यार्थीसँग कुन न कुनै विषयको पुस्तक अभाव छ', प्रधानअध्यापक लामिछानेले भने। उनले कक्षा १० मा अर्थशास्त्र र लेखाको कितावै नभएको बताए । कक्षा १० का १०९ जना विद्यार्थीमध्ये नेपाली र अंग्रेजी विषयको किताव ३५ जनासँग छैन। गणित नहुने ३३, जनसंख्या ३७ र सामाजिक किताव ४० जनासँग छैन।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलसहितको टोली आइतबार विद्यालयमा पाठ्यपुस्तकका विषयमा अनुगमन गर्न आउँदा प्रधानअध्यापक लामिछानले सो विवरण सुनाएका हुन् । अनुगमनका क्रममा प्रथामिक तहका पाठ्यपुस्तकको अभाव नभए पनि कक्षा ६ र ७ मा धेरै पुस्तक र कक्षा नौ १० मा ऐच्छिक विषयका पुस्तकको अभाव देखिएको कार्यकारी निर्देशक पौडेलले बताए।

कक्षा छदेखि १० सम्मको पुस्तक सरकारी स्वामित्वको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मात्रै छाप्दै आएको छ। कक्षा एकदेखि पाँचसम्मको पुस्तक जनक शिक्षासहित अन्य १७ वटा निजी छापाखानाहरुले पनि छाप्ने स्वीकृति पाएका छन्। जनकले मात्रै छाप्ने पाठ्यपुस्तकको अभाव देखा परेको छ । सरकारले सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई नै निःशुल्क किताव उपलब्ध गराउँछ ।

पाठ्यक्रम विकास केन्द्रबाट प्राप्त विवरण अनुसार यो वर्ष कक्षा एकदेखि पाँचसम्म ३६ लाख ६५ हजार ६५९ जना विद्यार्थीका लागि एक करोड ८३ लाख २८ हजार २९५ थान किताब छाप्नु पर्ने अनुमान केन्द्रले गरेको थियो । त्यस्तै कक्षा छदेखि आठसम्म १५ लाख ४४ हजार २३९ जना विद्यार्थीका लागि एक करोड ३८ लाख ९८ हजार १५१ थान किताव आवश्यक देखिएको थियो ।

कक्षा नौ र १० का अनुमानित सात लाख २८ हजार २५६ विद्यार्थीका लागि ५८ लाख २७ हजार ६४८ थान पुस्तक चाहिने अवश्था पाठ्यक्रम विकास केन्द्रले आँकलन गरेर छपाईका लागि सोही अनुसार निर्देशन दिएको थियो। कक्षा एकदेखि १० सम्मका कुल ५८ लाख ३८ हजार ३५४ जना विद्यार्थीका लागि तीन करोड ८० लाख ५४ हजार ९४ पुस्तक छाप्नु पर्ने निर्देशन थियो।

कुलमध्ये जनक शिक्षाले एक करोड ९७ लाख २५ हजार ७९९ र निजी क्षेत्रका १७ वटा छापाखानाले एक करोड ८३ लाख २८ हजार २९५ थान किताव छाप्ने जिम्मेवारी थियो । निजी क्षेत्रले आफुले छाप्ने जिम्मेवारी पाएकोभन्दा पनि १७लाखबढी अर्थात कुल दुई करोड थान किताव छापेको निजी मुद्रण क्षेत्रबाट पाठ्यपुस्तक अनुगमन समितिमा रहेका दीपक भण्डारीले जानकारी दिए ।

निजी क्षेत्रले जिम्मेवारी पाएकोभन्दा पनि बढी किताब छाप्दा जनक शिक्षाले भने तोकिए अनुरुपकै किताव छापेको छैन । जन शिक्षा सामाग्री केन्द्रको सञ्चालक समिति सदस्यसमेत रहेका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले अझै १० लाख किताब छाप्न बाँकी नै रहेको जानकारी दिए । दिनमा एक लाख ३५ हजार थानका दरले किताब छापेर हप्ता दिनभित्रै सक्ने लक्ष्य राखेको उनले बताए ।

'कक्षा १ देखि पाँचसम्मको किताव जनक र निजी क्षेत्र दुवैले छाप्ने हुँदा अभाव देखिएन । त्योभन्दा माथिको किताब जनक शिक्षाले मात्रै छाप्छ । त्यसमाथि नाकाबन्दीका कारण कागज आयात समयमा नहुँदा छापेरै भ्याएको छैन त्यसैले अभाव भयो' कार्यकारी निर्देशक पौडेलले भने । अघिल्लो वर्ष असारसम्म पुस्तक पाइएको थिएन । सो वर्ष भुकम्पले गर्दा समस्या आएको बताइएको थियो ।

किताव किन्न जिल्ला शिक्षा कार्यालय मार्फत विद्यालयलाई रकम उपलब्ध गराइन्छ । चितवन जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी भुमिलाल सुवेदीले कितावको भुक्तानि गर्न विद्यालयलाई आवश्यक पर्ने रकमको ८० प्रतिशत दुई महिनाअघि नै निकासा दिइने गरेको बताए । चितवन जस्तो सुगम र जनक शिक्षाको क्षेत्रीय कार्यालयमा नै रहेको ठाउँमा अभाव देखिनु बिडम्बना भएको अनुगमनमा आएका अधिकारीहरुको भनाइ छ ।

'यहाँ त यस्तो समस्या रहेछ अन्यत्र झन के कस्तो होला ? त्यही बुझेर निराकरणका योजना बनाउन अनुगमनका हिँडेको हो' पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले भने । चितवनदेखि पुर्व झापाका जिल्लासम्म पहिलो चरणको अनुगमन हुने छ । सरकारले कक्षा एकदेखि १० कक्षासम्म एक अरब ८५ करोड रुपैयाँ बरारबरको पाठ्य पुस्तक विद्यार्थीलाई निःशुल्क वितरण गर्दछ ।

प्रकाशित: २६ वैशाख २०७३ २३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App