समाज

मधेस सवारी दुर्घटनाः दुई महिनामा ६३ जनाको मृत्यु

चालु आर्थिक वर्षको पहिलाे दुई महिनामा मधेस प्रदेशमा सवारी दुर्घटनामा ६३ जनाको मृत्यु भएको छ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाका अनुसार प्रदेशमा गत साउन र भदौ महिनामा ८ हजार ९ सय ४४ वटा सवारी दुर्घटनामा ६३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ महिला र ४७ पुरुष तथा ५ जना बालबालिका रहेका छन्।

दुर्घटनामा १ हजार ४ सय ९९ जना घाइते भएका थिए। घाइते हुनेमा १ हजार २ जना पुरुष, २ सय ७४ महिला र २ सय २३ जना बालबालिका रहेका छन्। यस अवधिमा ४७ हजार ९६ वटा सवारी साधनलाई कारबाही गरिएको छ। ट्राफिक नियम उल्लंघन गर्नेमाथि कारबाही गरेर ३ करोड ३५ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी चालू आर्थिक वर्षको दुई महिनामा मधेस प्रदेश प्रहरीले १७ करोड ३९ लाख २ हजार ७ सय ४७ रुपैयाँ बराबरको विभिन्न सामान पनि बरामद गरेको छ। प्रदेशको विभिन्न जिल्लाबाट १७ करोड भन्दा बढीको सामानसहित ५१ जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी प्रवक्ता तिम्सिनाले जानकारी दिएका छन्।

प्रहरीले ४ करोड २१ लाख बराबरको किराना सामान, ६ करोड ४७ लाख बराबरको सवारी साधन र पार्टपुर्जा नियन्त्रणमा लिएको छ भने कपडा, सुनचाँदी, विद्युतीय सामग्री लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ आश्विन २०७९ १२:३८ बिहीबार

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर