समाज

विराटनगरमा लापसे परीक्षण सुरु

मादक पदार्थ सेवन (मापसे) मात्रै ट्राफिक प्रहरीले परीक्षण गर्दै आएकोमा अब लागूपदार्थ सेवन (लापसे)को पनि परीक्षण विराटनगरमा सुरु गरिएको छ। लागुपदार्थ खाएर सवारी साधन चलाउने चालकमाथि प्रहरीले निगरानी सुरु गरेको हो।

जिल्ला ट्राफिक कार्यालय मोरङले प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोसँगको समन्वयमा विराटनगरबाट परीक्षण थालेको छ। सार्वजनिक सवारीसाधनका चालक, सहचालक, परिचालकलाई लक्षित गरेर परीक्षण  सुरु गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए।

सवारीसाधनका कर्मचारीले लागूपदार्थ सेवन गरेका छन् कि छैनन् भनेर मंगलबारदेखि परीक्षण सुरु गरेको बताउँदै, ट्राफिक प्रमुख कार्कीले भने, ‘यस प्रकारको परीक्षण गर्दा सबै पक्षको सुरक्षित यात्रा हुनेछ। पहिले मापसे मात्रै परीक्षण गर्दै आएकोमा लागूऔषध नियन्त्रण ब्यूरोसँग समन्वय गरी लागूपदार्थ परीक्षणको काम थालेको हौं।’

मादक पदार्थ सेवन जाँच प्रभावकारी हुँदा सेवन गरी सवारी चलाउनेको संख्या धेरै नै कम भएको छ। पछिल्लो समय मापसे छाडेर चालकलगायत यातायात कर्मचारीले लागूपदार्थ सेवन गर्ने गरेको पाइएपछि निगरानी बढाएको ट्राफिक प्रमुख कार्कीले बताए। लागूपदार्थ सेवन गरी गाडी चलाउँदा दुर्घटनाहरु बढेको प्रहरीले अनुमान गरेको छ।

पिसाब परीक्षणबाट तत्कालै लागूऔषध सेवन गरे वा नगरेको थाहा पाइन्छ। त्यसरी जाँच गर्दा कुन प्रकारको सेवन गरेको हो भन्ने मात्र नभइ चार दिन अघिसम्मको लागूऔषध सेवन गरेको पत्ता लाग्ने प्रहरीले जनाएको छ। विराटनगर बसपार्कमा जाँचका क्रममा एक जनाले लागुपदार्थ सेवन गरेर बस चलाएको पाइएपछि पक्राउ गरिएको छ।

मे १ ख ३०८९ नम्बरको बसका चालक सुनसरीको इटहरीका २३ वर्षीय शौरभ लाखेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। उनीविरुद्ध लागूऔषध सेवनमा मुद्दा चलाउने तयारी गरेको छ। जाँचका क्रममा उनले गाँजा र ब्राउन सुगर सेवन गरेको पत्ता लागेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ आश्विन २०७९ १४:५६ मंगलबार

जिल्ला ट्राफिक कार्यालय मोरङ