समाज

गैंडाको चोरी सिकार नभएको दुई वर्ष पूरा

चितवर–चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको चोरी सिकार नभएको सोमबार दुई वर्ष पूरा भएको छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले सोमबार प्रेस विज्ञप्ति निकालेर २०७१ बैशाख २० गतेउता निकुञ्ज भित्र चोरी सिकारीका कारण गैंडा नमरेको जानकारी दिएको छ। गैंडाको नाकमा हुने सिंग जस्तो बस्तु खागका लागि तस्करहरुले गैंडा मार्ने गर्छन्।

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले कुनै बेला वर्षमा ३७ वटासम्म गैंडा मारेको दुखद इतिहास छ। निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले निकालेको प्रेश विज्ञप्तिमा समुदायसँगको सहकार्य र उच्च प्रविधि युक्त निरञ्तर गस्तीले संरक्षणमा महत्वपूर्ण सफल्ता मिलेको उल्लेख छ। निकुञ्ज सुरक्षाका लागि नेपाली सेनाको एउटा गण र एउटा गुल्म तैनाथ हुने गरेको छ।

त्यस्तै २२ वटासम्म गैंडा मारेर विदेश गएको राजकुमार चेपाङलाई इनटरपोलको सहयोगमा पक्राउ गरेको छ। विगत छ वर्षमा चोरी सिकारमा संलग्न २५५ जना समातिएको निकुञ्जले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यस्ता प्रयासहरुका कारणले नै सफलता पाएको सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । नेपालभर ६४५ गैंडा छन् । चितवनमा सवैभन्दा धेरै ६०५ गैंडा पाइन्छ।

प्रकाशित: २० वैशाख २०७३ ००:४० सोमबार