समाज

रहेनन् तीन पुराना पत्रकार

नेपाली राजनीतिक परिवर्तनमा पत्रकारितामार्फत योगदान पु्र्‍याएका वरिष्ठ तीन पत्रकार देशले गुमाएको छ। पछिल्ला १३ दिनयता तीनजनाको निधन भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी र एएफपीमा लामो समय काम गरेका पत्रकार केदारमान सिंह श्रेष्ठ, सम्पादक समाज नेपालका पूर्वअध्यक्ष एवं नेपाल पत्रकार महासंघका उपसभाति रहिसकेका वरिष्ठ पत्रकार देवेन्द्र गौतम र वरिष्ठ कार्टुनिष्ट गोवद्र्धनविक्रम शाहको निधन भएको हो।

यही असोज ७ गते ८१ वर्षको उमेरमा सिंहको निधन भएको हो। लामो समयदेखि मुटुरोगबाट पीडित रहेका सिंहको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। स्वर्गीय सिंहले नेपाली पत्रकारितामा निकै ठूलो योगदान पुर्‍याएको नजिकबाट चिन्नेहरू बताउँछन्।  

झण्डै पाँच दशक पत्रकारितामा रहेका उनले फ्रान्सको समाचार एजेन्सी एएफपीमा ४० वर्ष र बिबिसीमा २० वर्ष नेपाली प्रतिनिधिका रूपमा काम गरेका थिए। पछिल्लो समय नेपाली सञ्चारमाध्यमहरूमा समसामयिक विषयमा आलेखहरू लेख्दै आएका थिए।

सिंहले प्रतिबन्धित समयमा अन्तर्राष्ट्रिय पत्रकारितामा नेपाली राजनीतिक आन्दोलनका आवाजहरू बुलन्द गराउन भूमिका निर्वाह गरेको वरिष्ठ पत्रकार डा. कुन्दन अर्याल बताउँछन्।

‘उहाँ नेपाली पत्रकारिताको त्यो पहिलो पुस्ताको पात्र हो, जसले अन्तराष्ट्रिय प्लेटफर्ममा नेपाली समाजलाई प्रवेश गरायो,’ उनी भन्छन्, ‘पञ्चायतकालीन दबाबका दिनमा पनि उहाँले निर्भयका साथ नेपाली राजनीतिक आन्दोलनका आवाज अन्तर्राष्ट्रियकरण गर्नुभयो।’

जानकारहरूका अनुसार त्यो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विदेशी नागरिकलाई नै नेपाल पठाउने गथ्र्यो। त्यस्तो परिवेशमा नेपाली पत्रकार नै पहिले स्थापित भएका पात्र हुन सिंह। उनको त्यसबेलाको पत्रकारिता स्मरण गर्नेहरू बताउँछन्। २०४६ ताका सिंहको अनुपस्थितिमा पत्रकार सम्मेलन नै रोकिने स्थितिसम्म बन्ने गरेको जानकारहरू बताउँछन्।

यस्तै अर्का वरिष्ठ पत्रकार गौतमको असोज २ गते निधन भएको छ। २००२ सालमा जन्मिएका गौतमको ७७ वर्षको उमेरमा निधन भएको हो। कोभिड–१९ को संक्रमणले थलिएका गौतम संक्रमणले छाड्दा पनि बाँच्न सकेनन्। ललितपुरको बिएन्डबी अस्पतालमा उपचारका क्रममा निधन भएको परिवार स्रोतले बताएको छ।

स्वर्गीय गौतमले पञ्चायतकालमा एकपछि अर्कोगरी १३ पत्रिका निकालेको नजिकबाट चिन्नेहरू बताउँछन्। दलहरू प्रतिबन्धित भएको अवस्थामा गौतमले पत्रकारितामार्फत राजनीतिक सम्बादको मौका दिएको वरिष्ठ पत्रकार अर्याल बताउँछन्।

‘देवेन्द्र दाइ दलहरू प्रतिबन्धित रहेका बेला पुरानो कांग्रेस, पुरानो कम्युनिस्ट वा प्रतिबन्धित कांग्रेस, प्रतिबन्धित कम्युनिस्ट भनेर स्थान दिनुहुन्थ्यो। जसले राजनीतिक सम्बादको मौका दिन्थ्यो,’ अर्याल स्मरण गर्छन्, ‘यसरी स्थान दिँदा पञ्चायतले पत्रिकाको दर्ता खारेज गर्दिन्थ्यो। फेरी अर्को पत्रिका दर्ता गरेर निकालेर उही काम गरिहाल्नुहुन्थ्यो।’

अहिलेको नेकपा एमालेको आधार पार्टी मानिने कोर्डिनेसन कमिटी (कोके) स्थापना हुँदा उक्त पार्टीको पहिलो ‘घोषणा पर्चा’ गौतम सम्पादक रहेको नेपाल पोष्ट पत्रिकाले प्रकाशन गरेको थियो। यस्तै चारतारे झण्डा ओढेको बीपी कोइरालाको तस्बिर छाप्दा तत्कालीन पञ्चायत प्रशासनले गौतमसँग स्पष्टिकरण लिएको जानकारहरू बताउँछन्।

गौतमले २०४२ सालमा भएको ‘बमकाण्ड’का मुख्य योजनाकार रामराजाप्रसाद सिंहको भाषण छापेकै कारण ६ महिना जेल जीवन भोग्नुपरेको थियो। जसमा उनले निर्मम यातना भोग्नुपरेको जानकारहरू बताउँछन्।

यस्तै वरिष्ठ कार्टुनिस्ट शाहको भदौ २८ गते निधन भएको छ। कुपण्डोलस्थित आफ्नै घरमा उनको निधन भएको हो। १९९० भदौ २० गते जन्मिएका शाहको ८९ वर्षको उमेरमा निधन भएको परिवारस्रोतले  जनाएको छ।

वरिष्ठ पत्रकार अर्यालका अनुसार नेपाली सञ्चारमाध्यममा कार्टुन छपाउने शाह पहिलो कार्टुनिस्ट थिए। २०१४ साल साउनको संयुक्त प्रयास नामक साप्ताहिक पत्रिकामा उनको त्यो कार्टुन छापिएको अर्यालले जनाएका छन्। अर्याल भन्छन्, ‘अभिलेख पल्टाएर हेर्दा ०१४ साल साउन महिनाको सुरुआतमै छापिएको त्यही कार्टुन नेपाली अखबारमा छापिएको पहिलो कार्टुन हो भन्ने देखिन्छ।’

शाहका कार्टुन नेपालमा मात्र नभई भारतका पत्रपत्रिकामा समेत छापिएको जानकारहरू बताउँछन्। शाहको कार्टुनमार्फतको व्यंग्यचेतले नेपालका पछिल्ला कार्टुनिष्टहरू जन्माएको धेरैको बुझाई छ।

शाहले आफ्नो जीवनकालमा सरकारी सेवामा पनि संलग्न थिए। परराष्ट्र सेवामा रहेका उनी ल्हासाको कन्सुलेट जनरल र स्विजरल्याण्डस्थित नेपाली राजदूतावासमा रहेर पनि काम गरेका थिए।

प्रकाशित: १० आश्विन २०७९ ०२:०४ सोमबार

केदारमान सिंह श्रेष्ठ पत्रकार देवेन्द्र गौतम गोवद्र्धनविक्रम शाह