समाज

बर्खा सकियो तर सडक मर्मत भएन

नरहरिनाथको सडक खुलाउँदै।

स्काभेटरले खनेका ग्रामिण सडक वर्षातको पानीले कतै पहिरो गयो भने कतै खाल्डाखुल्डी परेको छ।

जिल्लाको शुभकालिका गाउँपालिका जोड्ने सडक गत जेठवाट सञ्चालनमा आएको छैन। स्थानीय चुनावका बेला जसोतसो राजनीतिक दलले आफैं मर्मत गरेर चुनाव प्रचार सम्म गरे। तर चुनावको परिणाम आए यता सडकमा गाडी चलेका छैनन्। कर्णाली राजमार्गको सेरीघाट वाट शुभकालिका गाउँपालिकाको –२ हुदै ३ सम्म जाने सडक र वडा –४ को डौठा हुँदैै गाउँपालिका जोड्ने सडक अहिले सम्म सञ्चालनमा छैन।  

शुभकालिका गाउँपालिका–३ का खडानन्द अधिकारीले अघिल्लो सरकारले एक कल फोनमा सडक मर्मत गरेर यातायातका साधन सञ्चालन ल्याएको स्मरण गरे। ‘भनेपछि विरोध गरे भन्छन्,नभनौं चार महिना सम्म सडक बन्द छ मर्मत गर्ने कुनै पनि योजना गाउँपालिकाले बनाएको छैन’, उनले भने ‘दशैं आयो शहरमा पढ्न गएका बालबालिका गत वर्ष झैं गाउँमै गाडी पुग्छ भनेर पैदल हिँड्न नपर्ने मनसाय बनाएर आउलान्।  

यहाँ भने सडकवाट घर सम्म पुग्न पाँच घण्टा उकालो चढ्नु पर्छ।’ उता रास्कोट नगरपालिकाको सडक पनि वर्षातको बाढीले चिरा पारेको उस्तै छ। साना गाडी जसोतसो चलेपनि यात्रा भने निकै कष्टकर छ। रास्कोट नगरपालिका–१ का चरित्रराज न्यौपानेले एक सय भन्दा वढी रास्कोट सडकका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गदै कहिले र कसले बनाउने यो सडक भनेर प्रश्न गरे।  

रास्कोट नगरपालिकाको २५ किलोमिटर मुल सडकका सयौं ठाउँमा बाढीले चिरा पारेको छ भने पचास भन्दा बढी ठाउँमा खहरे खोलाले सडक भत्काएको छ। नगरको मूल सडक भित्रको १२ किलोमिटर सडक कालोपत्रे गर्ने भनेर भत्काइएको छ। डवल कटिङ भन्दै स्काभेटरले भत्काएकाले झन् खाल्डाखुल्डी परेका छन्। ठेकेदार कम्पनीले काम जारी रहेकाले यस्तो भएको भनिरहेको छ भने नगरपालिकाले मर्मतको कुनै सुरसार गरेको छैन।  

नगरका प्रमुख प्रशासकीय अधिकृत जवानसिहं बमले तत्काल भाडामा स्काभेटर लगाएर दशैं अगाडी मर्मतको काम गर्ने बताए। तर स्थानीयले भने नयाँ जनप्रतिनिधिहरुले चर्चामा आउनका लागि सडक सिलान्यास,क्याम्पस स्थापना,रैथाने पेशा जोगाउन पहल गर्ने जस्ता विषय सार्वजनिक गरेर समय बिताइरहेको गुनासो गर्दै आएका छन्।

सान्नीत्रिवेणी गाउँपालिका जोडीएका सडक पनि प्रयोगमा छैनन्। आकाशको पानी रोकिए पनि स्थानीय सरकारले सडक मर्मत नगर्दा नागरिकलाई सास्ती भइरहेको छ। नरहरीनाथ गाउँपालिकाको –८ र ९ जोड्ने सडक मर्मत सुरु गरिएको छ।  दशैं नजिक आएपछि स्थानीय सरकारले सडक मर्मत देखि नागरिकलाई सहज हुने काममा ध्यान दिएको छ।

 

प्रकाशित: ९ आश्विन २०७९ ०५:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App