समाज

पत्रकार मन्डलको मृत्यु

नेपाल पत्रकार महासंघ रौतहटका पूर्व सचिव, राजधानी दैनिकका रौतहट पूर्व सम्वाददाता तथा राजदेवी एफएम गौरका पूर्व समाचार सम्पादक रवीन्द्र मन्डलको मृत्यु भएको छ। करिब चार वर्षदेखि उपचार गराइरहेका पत्रकार मन्डलको बुधबार राति मृत्यु भएको छ।  

२०७६ साउन ३१ गते काठमाडौँबाट माँ कल्याणी बसमा रौतहट फर्किरहेका पत्रकार मन्डल चढेको गाडी दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते मन्डलको उपचार भरतपुर, काठमाडौँ र भारतमा पनि गरिएको थियो। उपचार गराउँदा गराउँदै सर्वस्व समाप्त भएका पत्रकार मन्डलको स्वास्थ्य स्थिति गम्भीर बनेपछि सोमबार गौर अस्पतालमा भर्ना गरिएको थियो।

उपचार गराउने रकमको अभावमा स्वास्थ्य स्थिति गम्भीर भएको खबर बाहिरिएसँगै विभिन्न क्षेत्रबाट सहयोग आउन सुरु भएको थियो। एक दुई दिनमा भारतको दिल्ली उपचारको लागि लैजाने तयारी भइरहेको अवस्थामा पत्रकार मन्डलको निधन भएको हो।  

पत्रकार मन्डलको निधन भएपछि रौतहटको पत्रकारिता जगत शोकमा डुबेको छ। पत्रकार मन्डलको विहीबार दुर्गा भगवती गाउँपालिकाको मत्सरीनजिक बागमती नदीमा अन्तिम संस्कार गरिएको छ।

प्रकाशित: ६ आश्विन २०७९ १२:३५ बिहीबार