समाज

वैधानिक प्रक्रियामा आउन फुङलिङका व्यवसायीलाई अनुगमन समितिले दियो समय

संयुक्त बजार अनुगमन समितिले वैधानिक प्रक्रियामा आउन बाँकी ताप्लेजुङको फुङलिङका व्यवसायीलाई असोज मसान्तभित्र वैधानिक प्रक्रियामा आउन समयसीमा दिएको छ।

निर्धारित अवधिभित्र व्यवसाय दर्ता, नविकरण, कर चुक्तासहितका कार्य सम्पादन सक्नुपर्ने भन्दै अनुगमन टोलीले असोज मसान्तसम्मको समयसीमा दिएको अनुगमन समिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले जानकारी दिए।

संयुक्त बजार अनुगमन टोलीले पछिल्लो समय कार्ययोजना बनाएर नियमित अनुगमन गरिरहेको छ। अनुगमन समिति सदस्य तथा घरेलु कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साइका अनुसार सम्बन्धित स्थानीय तह समेतको समन्वयमा जिल्लाका मुख्य बजार क्षेत्रको नियमित अनुगमन गर्न थालिएको हो।

खाद्यान्नसहित दैनिक उपभोग्य वस्तु, माछा तथा मासुजन्य पदार्थ, होटल तथा रेष्टुरेन्ट, दुग्द्यजन्य पदार्थ, तरकारी पसल र काष्ठजन्य वन पैदावारको कच्चा उत्पादन गर्ने भेनियर उद्योगसहितमा अनुगमन गर्न थालिएको अनुगमन समितिले बताएको छ।

अनुगमन समितिले भेनियर उद्योगले कच्चा पदार्थको उत्पादनका क्रममा खेर जाने पदार्थ व्यवस्थित नगरी खोला तथा नदी छेउ राखेको घटनाप्रति पनि अनुगमन समितिले ध्यानाकर्षण भएको जनाएको छ।

‘हामी त्यसलाई सुक्ष्म ढंगले हेरिरहेका छौं, केही दिनमै यसका बारेमा निष्कर्षमा पुग्नुपर्ने छ’ अनुगमन समिति संयोजक भट्टराईले भने। अनुगमन समितिले दोभान, सुकेटारसहितका बजार पसलहरुको अनुगमन गरिसकेको छ।

प्रकाशित: ६ आश्विन २०७९ ०९:०६ बिहीबार

संयुक्त बजार अनुगमन समिति ताप्लेजुङको फुङलिङका व्यवसायी अनुगमन समितिले भेनियर उद्योग