समाज

धरहरामा बाँचेपछिः घाउ बिर्सेर सपना पछ्याउँदै

दार्सिङ (स्याङ्जा)–आफ्नो मोबाइल गाउँमै छुट्यो । दिदीको मोबाइलबाट राम्रो फोटो आउँथेन । बल्लतल्ल गाउँबाट आएकी दिदी (ठूली आमाकी छोरी) लाई काठमाडौं नघुमाउनु नि भएन । नजिकिँदै गरेको कक्षा ११ को बोर्ड परीक्षाको तयारी गरिरहेकी स्याङ्जा, पुतलीबजारकी १८ वर्षे प्रसंशा श्रेष्ठ दिदीसँगै घुम्न हिँडिन् ।

फोटा खिच्ने रहर गर्दै ललितपुर, धोबीघाटस्थित घरबाट बिहान सवा १० बजे खाना खाएर निस्के, दिदीबहिनी । फोटो खिच्ने अनि फेसबुकमा अपलोड गर्ने हडबडीसाथ उनीहरु घरबाट लम्के ।धरहरा, सिभिलमल र स्वयम्भू घुम्ने उनीहरुको निधो थियो ।

धरहरा चढ्न टिकट काटे । धरहरा चढ्न उनीहरु हतारिएनन् । धरहरा इन्ट्री गरेपछि उनी दिदीको मोबाइलले फोटो खिच्न थालिन् । अनि दिदीलाई पनि आफ्नो खिच्न लगाइन् । फोटो खिचिरहे विभिन्न पोजमा । धेरैबेर भुइँमै डुलिरहे ।

अब उकालो सिँढी चढेर धरहराको टुप्पो पुग्नुपर्ने भयो । उनीहरुले धेरैबेर फोटो खिचेपछि चढ्ने निधो गरे । चढ्न थाले । उकालो चढ्दाको थकानले बीचबीचमा रोकिँदै उनीहरु धरहराको टुप्पोसम्म उक्लिए । त्यसपछि काठमाडौंलाई धरहराको बार्दलीबाट चारैतिर नियाले । धरहराको टुप्पोबाट पनि फोटो खिच्ने धोको पूरा गरिहाले ।

दिदीको बिहे हुने टुंगो लागिसकेको थियो । बिहेलाई धेरथोर सपिङ गर्ने पनि उनीहरुको योजना थियो । काठमाडौं घुम्न निस्केको दिदीबहिनीको जोडी २०७२ वैशाख १२ गते एक्लियो ।

भूकम्पले धरहरा भत्काउँदा दिदी शान्ति श्रेष्ठ यो संसार छाडेर गइन् । फोटो अपलोड गर्ने इच्छा अधुरै रह्यो । दिदीलाई काठमाडौं घुमाउने रहरमा पनि पूर्णविराम लाग्यो ।

बिहान ११ बजेर ५० मिनेटको भूकम्पले देशभर करिब ९ हजार मानिसको ज्यान लियो । दिदीसँगै रहे पनि प्रशंसा भने बाँच्न सफल भइन्, धरहराको टुप्पोबाट खसेर ।

'झ्याम्म झ्याम्म हल्लिन थाल्यो, म थचक्क भुइँमा बसें,' स्याङ्जाको सिर्कोट नगरपालिका वडा–५, दार्सिङस्थित मामाघर घुम्न पुगेकी प्रशंसाले नागरिकलाई घटना बताइन्, 'भूकम्पले हल्लाएको त फोटो खिच्दा जस्तो भिज्युअल आएजस्तो याद छ । म डराएर थचक्क बसें । धरहराको रेलिङ समातें । अरु केही याद भएन । दिदीको पत्तो पाइनँ ।'

धरहरासँगै ढले पनि रेलिङ उनका दुवै हातले समातिरहे । उनको अनुहारको दायाँपट्टि चोट लाग्यो । दाहिने खुट्टा त्यही रेलिङले थिचिएको अवस्थामा सुन्धारा क्षेत्रको होटलमा बस्ने राजु लामासहितको टोलीले उद्धार गरेर एम्बुलेन्समा पु¥यायो ।

उता, घरमा भूकम्पले धरहरा भत्काएको खबर पाएपछि आमा पशुपति झन् भक्कानिइन् । छोरी खोज्न बाइकहरुको सहारा माग्दै उनी हिँडे पनि धरहरा क्षेत्र जान प्रहरीले दिएन ।

'म घरमा बसेर टिभी हेरिराखेकी थिएँ । भूकम्प गएको सुरुमा थाहै पाइनँ । मेरी सानी छोरीले भूकम्प आयो भनेपछि म पनि उसलाई लिएर बाहिर निस्केँ,' उनले भनिन्, 'फोन गर्दा लागेन । अनि तत्काल मैले रेडियो सुनेँ । अनि खबर बज्यो– भूकम्पले धरहरा क्षतिग्रस्त ।'

धरहरा चढ्दा आफैंलाई डर लाग्ने भएपछि परीक्षा नजिकिँदै गरेका बेला प्रशंसालाई दिदीकी छोरी घुमाउन उनले पठाएको सुनाइन् । छोरीहरुलाई पठाएपछि घरमा आफ्नी ११ वर्षीय कान्छी छोरीसँगै थिइन्, आमा पशुपति ।

'घरबाट बल्लतल्ल हिँडें तर धरहरा जान पाइनँ । त्यसपछि वीर अस्पताल र ट्रमा सेन्टर डुलें,' उनले सुनाइन्, 'त्यहाँका हरेक घाइतेलाई एकएक गरेर हेरें । लासतिर जान सकिनँ ।' त्यो दिन मोबाइल अफ भएपछि उनी घर पुगिन्, छोरीहरु कतै डराएर लुके होलान् भन्ने आसमा ।

वैशाख १२ को रात जसरी बित्यो अर्को दिन । उनको मोबाइल बज्यो, नर्भिक अस्पतालबाट । अस्पतालका एक बिरामी कुरुवाले उनकी छोरी त्यहाँ भएको खबर पु¥याए । उनी तत्काल अस्पताल पुगिन् ।

'त्यसरी दुर्घटना भएपछि प्रशंसाले नै मेरो नम्बर दिएकी रैछ,' माइतीघरमा छोरीलाई हेर्दै उनले सुनाइन्, 'धरहरामै उसको होस खुलको रैछ । सबै कुरा बोलेकी रैछ । तर अहिले उसलाई केही याद छैन । उसले आफूलाई त्यतिबेला बोलेको केही याद छैन भन्छे ।' छोरीलाई बचाउन राजु लामाले धेरै सहयोग गरेको उनले स्मरण गरिन् । उद्धारपछि एम्बुलेन्सको जिम्मा लगाएका लामा पछि नर्भिक अस्पतालमा रहेको खबर पाएर प्रशंसालाई भेट्न पुगे ।

भुइँमै उनले 'मम्मी अइया' भन्दै रोएको आमा पशुपति श्रेष्ठले बताइन् । 'राजु लामाजीले मेरी छोरीलाई रेलिङबाट निकाल्नुभएछ, उसको अनुहार पुछ्नुभएछ,' आमाले नागरिकसँग भनिन्, 'लामाजीले नै छोरीलाई एम्बुलेन्समा हाल्नुभएछ । उहाँको गुन निकै ठूलो छ ।'

छोरीलाई दुई दिनपछि नर्भिकमा बेड देखेपछि उनी छोरीलाई देखेर खुसी भइन् । नर्भिकमा बिरामीको भीड देखेपछि धोबीघाटस्थित मेगा अस्पताल लगियो । तर उनको उपचार जटिल देखेपछि जसोतसो गरेर पुनः नर्भिक अस्पताल ल्याइयो र वैशाख १९ गते उनको सफल अप्रेसन भयो । यसपछि बल्ल उनको राम्ररी होस आयो ।

'अप्रेसन नगर्दासम्म ऊ जति बोलेकी थिई, अहिले छोरीलाई याद छैन,' आमा पशुपति भन्छिन्, 'त्यसपछि मात्रै बोलेको याद उसलाई आइरहेको छ ।'

धरहरा १९९० सालको भूकम्पले पनि धरहरा ढालेको सुनेकी थिइन् उनले । तर आफू चढ्दा त्यस्तो फिलिङ नभएको बताइन् । दिदीसँग फोटो खिचिरहिन् । रमाइरहिन् ।

'धरहरामा फोटो खिचेको खिचेइ गरेका थियौं,' मुस्कुराउँदै उनले भने, 'फेसबुकमा पनि राख्न पाइएन ।'

करिब दुई वर्षअघि प्रशंसाको एसएलसी सकिएपछि दुवै छोरी पढाउन भएको व्यवसायसमेत बेचेर काठमाडौं आएकी पशुपति वैशाख १२ को भूकम्पले ठूलै गुन लगाएको ठान्छिन् । तर पनि दिदीकी छोरीको मृत्युको दुःख अझै उनको मनमा छ ।

'११ को वार्षिक परीक्षा दिन पाइनँ । त्यसैले अहिले घरमै पढेर ११ को परीक्षा दिन्छु,' क्यारेबियन कलेजमा अध्ययनरत उनले गर्वसाथ भनिन्, 'जे हुने भयो, अब १२ पास गरेर नर्सिङ पढ्छु ।'

अब स्याङ्जा फर्किने भन्दै छोरीलाई सल्लाह दिन्छिन्, आमा । तर प्रशंसा भने काठमाडौंमै बस्न अडिग छन् । 'भूकम्प आयो । जे हुनु भयो । अब म आफ्नो सपना पूरा गर्छु । बिएस्सी नर्सिङ पढ्छु,' उनले योजना सुनाइन्, 'अरु कुरा सोच्न १ वर्ष अझै समय छ । हेर्दै जाम के हुन्छ !' अहिले उनले आमालाई पनि विश्वास दिलाइसकिन्, अब काठमाडौंमै बस्नुपर्छ भनेर ।

कक्षा ३ मा पढ्दै गर्दा स्याङ्जामा सवारी दुर्घटनामा पिता गुमाएकी प्रशंसा अहिलेको खाली समय उनी पढ्ने काममा लागिरहेकी छन् । अहिले मामाघरमा पुगेकी प्रशंसा बिस्तारै हिँडडुल गर्न सक्छिन् । घरमा ससाना काममा मम्मीलाई सहयोग गर्छिन् ।

'कहिलेकाहीँ बसिरहँदा बोर लाग्छ अनि युट्युबमा हेरेर तरकारी पकाइदिने गर्छु । चटपट बनाउँछु,' उनले भनिन्, 'अहिलेलाई काम गर्ने भनेको यही हो ।' नर्भिकमा डा. प्रविन नेपालले खुट्टाको स्याहार गरेको उनले बारम्बार दोहो¥याइरहिन् । अझै पनि बेलाबेला खुट्टा देखाउन अस्पताल जानुपर्ने उनले बताइन् ।

'पहिलाभन्दा अहिले धेरै सुधार भएको छ । कुद्न त सक्दिनँ तर बिस्तारै हिँड्न सक्छु,' उनले भनिन् । धन्न अनुहारको उपचारका लागि ३ लाख रुपैयाँ खर्च भएको आमा पशुपतिले बताइन् । 'खुट्टाको सबै उपचार खर्च वसन्त चौधरीले व्यहोरिदिनुभो,' उनले भनिन् ।

प्रकाशित: ११ वैशाख २०७३ ००:३८ शनिबार