समाज

सशस्त्रका डिआईजी र एसपीको घुमुवाको आर्थिक आतंक, दरबन्दी बारामा असुली पर्सामा

नेपालीहरुको महान चार्ड दशैं तिहार नजिकिदै गर्दा डिआईजी र एसपीले घुमुवा परिचालन गरेर आर्थिक आतंक नै मच्चाएको खुल्न आएको छ।  

मधेस प्रदेशमा रहेको सशस्त्र प्रहरी बल नेपाल, छिनमस्त बाहिनीका बाहिनिपति र कलैयामा रहेको १२ नम्बर गणका गणपतिले सादा पोशाकमा खटाएका घुमुवाहरुले आर्थिक आतंक मचाएको व्यपारीहरुले गुनासो गरेका छन्।

तस्कर र व्यपारीसँग महिनवारी रकम पनि लिने, समान समातेर थप पैसा पनि लिने र अहिले ती तस्कर र व्यपारीसँग अग्रीम महिनवारी मागेर घुमुवाहरुले आर्थिक आतंक मच्चाएका भारतबाट कपडा ल्याउँदै आएका मनमोहन यादवले गुनासो गरे।

भारतबाट साइकल र मोटरसाईकलमा कपडा मगाउँदा सशस्त्रको डिआइजीलाई एक लाख ५० हजार महिनवारी दिने गरे पनि उनका घुमुवाहरुले अहिले अग्रिम महिनावारी भनेर चार लाख रुपैयाँ माग्ने गरेको आरोप यादवले लगाए।

आफूहरु सशस्त्र प्रहरी बलका डिआइजी गणेश ठाडामगरका घुमुवा रहेको भन्दै  सशस्त्र प्रहरी हवाल्दार अशोक साह, वशिष्ट पटेल, सहायक हवल्दार सुदर्शन बैठा र इमाम आलमले अग्रीम रकम मागेर हैरान गरेको उनले बताए।

पहिला डिआइजी ठाडामगरले पर्सामा राखेका घुमुवाहरु वशिष्ट पटेल, सुदर्शन बैठाले तस्कर र व्यपारीहरुबाट रकम असुल्ने गरेको भेटिए पछि उनीहरुलाई सशस्त्र प्रहरीको हेड क्वाटरले कारबाही गरेर तानेको थियो। यिनीहरु हेडक्वाटर तानिए पछि डिआइजी ठाडामगरले बर्दिवासमा रहेको बाहिनीमा लगेका थिए।

बाहिनीमा लगेका यिनीहरुको दरबन्दी कलैयामा रहेको १२ नम्बर गणमा कायम गरेर पुनः आर्थिक संकलन गराउनको लागि बारा र पर्सामा खटाइएको छ। घुमुवामा बदनाम भएका पटेल र बैठालाई अहिले डिआइजी ठाडामगरले अर्का सशस्त्र प्रहरी हवाल्दार अशोक साह र इमाम आलमसँगै आर्थिक संकलनमा खटाएका १२ नम्बर गणका एक सशस्त्र प्रहरी निरीक्षकले बताए।

डिआइजी ठाडामगरले खटाएका घुमुवाहरु मार्फमा १२ नम्बर गणका गणपति राजेन्द्र थापाले समेत आफ्नो लागि पनि रकम असुली गराउँदै आएका अर्का एक व्यपारी सुनिल गुप्ताले बताएका छन्। डिआइजी र एसपीको घुमुवाहरुले पहिला एक लाख लिने महिनवारी बढाएर तीन लाखसम्म पुर्‍याएको गुप्ताले बताए। तीन लाख महिनवारी दिँदा पनि ती घुमुवाहरुले बीच बाटोबाटै समान समातेर थप रकम असुल्ने गरेर दुः ख दिने गरेको गुप्ताले बताए।

कलैया उपमहानगरपालिका १६ मा रहेको सशस्त्र प्रहरीको १२ नम्बर गणका गणपति राजेन्द्र थापाले सशस्त्र प्रहरी हवाल्दार अशोक साह, वशिष्ट पटेल, सहायक हवल्दार सुदर्शन बैठा र इमाम आलमको दरबन्दी बारामै रहेको बताए। बारामा दरबन्दी रहेको चारै जना वीरगन्जमा सदा पोशाकमा किन खटिएको प्रश्नमा थापाले उनीहरु आफ्नो निजी कामको लागि वीरगन्ज जाने गरेको तर्क गरे।  

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले कुनै पनि बाहिनीपति र गणपतिले सदा पोशाकमा घुमुवा खटाउन नपाइने निर्दैशन दिंदै आए पनि ईजिपीको निर्दैशनलाई डिआइजी ठाडामगर र एसपी थापाले ठाडो उल्घंन गरी यी  घुमुवाहरुलाई परिचालन गरेर आर्थिक संकलन गराउँदै आएका छन्। मधेश प्रदेशमा सशस्त्रका जुन सुकै डिआईजी आए पनि तस्कर र व्यपारीहरुसँग राम्रो साठघाँठ भएकै कारण यी घुमुवाहरुलाई नै वर्षौदेखि आर्थिक संकलन गर्दै आएका छन्।

डिआइजी ठाडामगरको लागि व्यपारी र तस्करहरुसँग रकम उठाएको आरोपमा सशस्त्र प्रहरीको हेड क्वाटरले यी घुमुवाहरुलाई पटक पटक ताने पनि पुनः बारा, पर्सामै पठाएपछि यिनीहरुको मनोवल बढ्दै गएको बताइएको छ। बारा र पर्साको विभिन्न नाकाहरुबाट भन्सार छली गरेर माल वस्तु भित्र्याउने तस्करहरु र कलैया, वीरगन्ज, जीतपुर लगाएत बजारमा माल, वस्तु बेच्ने व्यपारीहरु ती घुमुवाहरुलाई महिनामा ५० लाख भन्दा बढी बुझाउने गरेका तस्करहरुले खुलाएका छन्।

मधेश प्रदेशको बारा, पर्सा जिल्लामा सदा पोशाकमा घुमुवाहरु परिचाल गरेर आर्थिक संकलन गराइएको पटक पटक सार्वजनिक हुँदै आए पनि तस्कर र व्यापरीहरुबाट हाकिमहरुको लागि संकलन गर्ने रकमकै कारण यी घुमुवाहरुले कारवाहीबाट बच्दै आएका छन्।

बारा र पर्सामा  रहेका तस्कर र व्यपारीहरु मदन यादव, मदन गुप्ता, हरदेव यादव, रजनिस गुप्ता, हरेन्द्र पटेल , सरोज श्रीवास्तव , शत्रुधन प्रसाद, भोला , संतोष प्रसाद, सुरेन्द्र पटेल, अरबिन्द यादव, जाटाधारी , सकिला मियाँ, मनोज पटेल, मुन्ना साह, किशोर साह लगाएतकाले कपडा, हाडवेयर, इलेक्ट्रोनिक्स, गुटखा, सुर्ती लगाएत खाद्यान्य समाग्रीहरु भारतबाट चोरी पैठारी गरि भित्र्याउन गरेका छन्।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विदुर खड्काले अहिले कसैले पनि सदा पोशाकमा घुमुवा परिचालन गर्न अनुमति नरहेको बताएका छन्। बाहिनी पति र गणपतिहरुले घुमुवा परिचालन गरेर आर्थिक संकलन गर्न कार्यमा खटाएको पाइएमा उनीहरु कारवाहीको भागिदार हुने खड्काले बताए।

३० लाख अग्रीम महिनवारी जम्मा गर्न घुमुवाहरुलाई डिआइजीको ताकेता  

विदेशमा रहेका डिआइजी ठाडामगरले ३० लाख अग्रीम महिनबारी असुल्नको लागि ती घुमुवाहरुलाई खटाएका खुल्न आएको छ। डिआइजीबाट रकमको माँग भए पछि अशोक साहको नेतृत्वमा रहेको ती घुमुवाहरुको टोलीले तस्कर र व्यपारीहरुसँग पैसा मागेर हैरान बनाएको एक व्यपारीले गुनासो गरेका छन्।

बाहिर भन्दा सशस्त्र प्रहरीका हाकिम र घुमुवाहरुले पछि विभिन्न बहाना बनाएर कारोबार नै गर्न नदिने डर रहेको र उनीहरुले अग्रीम आगने महिनवारी तिर्न समेत आफूसँग पैसा नभएको ती व्यपारीले दुखेसो गरे।  

डिआजी लागि ३० लाख अग्रीम महिनवारी नदिएमा हामीलाई घुमुवाबाट हटाउने र पछि नयाँ राखिने घुमुवाले तिनीहरुलाई काम गर्न नदिने भन्दै ती घुमुवाहरुले बारा र पर्साका व्यपारी र तस्करको घर घरमा पुगेर पहिला नै महिनवारी रकम दिन तागेता गरि रहेका ती व्यपारीले बताए।

डिआइजी ठाडामगरले विदेश जाने बेलामै  ३० लाख रुपैयाँ जम्मा गरेर राख्न घुमुवाहरुलाई निर्दैशन दिएको र ति निर्देशन पालना गर्नकै लागि बारा र पर्सामा सदा पोशाकमा गएर व्यपारी र तस्करहरुसँग अग्रीम महिनवारी संकलन गरी रहेको छन्।

प्रकाशित: ४ आश्विन २०७९ १४:४६ मंगलबार

दशैं तिहार मधेस प्रदेश