समाज

सुनको लोभमा महिलाको हत्या, एक किशोर पक्राउ

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले नकुल र सुन राख्न सहयोग गर्ने रञ्जितलाई सार्वजनिक गर्दै।

सुनको लोभमा परेर साताअघि धरान वडा नं. २० विष्णुपादुका तोड्केकी महिलाको हत्यामा संलग्न एक किशोर पक्राउ परेका छन्।

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ८ का १८ वर्षे निखिल भनिने नकुल राई पक्राउ गरेपछि प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। नकुलले भदौ २९ गते धरान वडा नं. २० की ६४ वर्षीया पूर्णसरी राईलाई हत्या गरेको खुलेको छ। पूर्णसरीको हत्यापछि फरार नकुललाई विराटनगरबाट दुई दिनअघि प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ।

पूर्णसरिलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताए। ‘सुन लुट्ने क्रममा पूर्णसरीले प्रतिकार गरेपछि साथमै भएको खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ,’ एसपी ढकालले भने। नकुलले पूर्णसरीको हत्यापछि धरानकै पकुवा खोलाको जंगलमा खुकुरी फालेर बराहक्षेत्र नगरपालिका वडा नं. ४ बाट साइकल चोरेर भागेका थिए।

उनले बराहक्षेत्र हुँदै  भोक्राहा नरसिंह पुगेर स्थानीय २० वर्षीय रञ्जितकुमार साहलाई लुटपाट गरिएको सुनको गहना राख्न दिएपछि  भारततर्फ लागेको सूचना पाएको आधारमा विराटनगरबाट पक्राउ गरिएको थियो। नकुलले दिएको गहना राख्ने र हत्यामा सहयोग गरेकाले साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनालाई मुद्दा चलाइएको छ।

प्रकाशित: ४ आश्विन २०७९ ११:५९ मंगलबार

धनकुटाको साँगुरीगढी गाउँपालिका