समाज

कालिकोटमा तीन दिनदेखी विद्युत अवरुद्ध

तीन दिन यता कालिकोट जिल्लामा विद्युत छैन। शुक्रबार अबरोध भएको कालिकोटको विद्युत प्रशारण लाईन अहिले सम्म नआउँदा कालिकोट अन्धकार भएको हो।

धेरै वर्षपछि कालिकोटमा राष्ट्रिय प्रशारण लाईन पुगेपनि आउने जाने हुँदै आएको थियो। एक दिनमा एक सय पटक वत्ती आउने र एक पटक नै जाने भएपनि केही समय त उज्यालो हुने गरेको थियो।

तर शुक्रबार देखि भने कुनै पनि समयमा बत्ती आएको छैन्। विधुत अवरोध हुँदा सबै भन्दा बढी मारमा कालिकोटका सामुदायिक रेडियो परेका छन्। रेडियोले आफ्नो प्रशारण समय समेत कटौती गर्नु परेको छ।  

कालिकोटको सबै भन्दा पुरानो रेडियो नयाँ कर्णालीले दैनिक १६ घण्टा प्रशारणको समय कटौती गरेर सोमबारबाट दश घण्टामा झारेको छ। रेडियोका स्टेशन म्यानेजर भरतराज बिष्टले वर्षातको समयमा घाम पनि नलाग्ने भएकाले वैकल्पिक उर्जा सोलारले समेत काम नगर्ने भएकाले विद्युतका कारणले प्रशारण समय कटौती गर्नु परेको बताए।

कालिकोट वितरण केन्द्रका प्रमुख नारायण प्रसाद पौडेलले दैलेखमा पहिरोले पाँच वटा पोलमा क्षती पुगेका कारणले विद्युत अवरोध भएको बताए।  तीन दिन सम्मको अवरोधले सरकारी कार्यलयमा पनि समस्या भएको छ। जिल्ला प्रशासन देखि केही सेवागा्रहीको भिड लाग्ने कार्यालयमा बत्तीका कारणले सेवा दिन कठिन भईरहेको छ।

प्राइभेट व्यापारीलाई पनि बत्ती अभावले व्यापार ठप्प भएको छ। सिलाई कटाई देखि मोवाईल,तथा इलेक्टीकल पसलमा विद्युत नहुँदा व्यापार ठप्प भएको व्यापारीहरुले गुनासो गरेका छन्।

प्रकाशित: २ आश्विन २०७९ १२:४९ आइतबार