समाज

त्रियुगा १६ नगरपालिका उत्कृष्ट वडामा दरिंदै

कार्यपत्र प्रस्तुत गर्दै वडाध्यक्ष मानबहादुर राई। तस्विरः महेश्वर/नागरिक

सदरमुकाम भए पनि दुरदराज र भौगोलिक रुपमा बिकट रहेको त्रियुगा नगरपालिका १६ नं. उत्कृष्ट वडामा दरिदैछ। ८ सय ९ घरधुरीमा महिला २ हजार ४ सय ४३ र पुरुष २ हजार ५ सय ७१ गरी ५ हजार १४ जनसंख्या रहेको वडामा पछिल्लो ५ वर्षयता पूर्वाधार विकासदेखि उद्यम व्यवसाय हुँदै शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई र कृषिमार्फत आर्थिक उपार्जन गर्दै फड्को मार्न थालेको छ।  

पछिल्लो समय अन्य वडाको तुलनामा १६ नं. द्रुतगतिमा अघि बढिरहेको शनिबार आयोजित ‘आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समिक्षा तथा ०७९/८० को बजेट तथा योजना सार्वजनिक कार्यक्रम’का सहभागीहरुले बताए। ०७४ को स्थानीयतह चुनावपछि वडाले सबैक्षेत्रमा फड्को मार्दै आएको उनीहरुको स्वीकारोक्ति छ। वडा कार्यायय चिलाउनेमा आयोजित समीक्षा कार्यक्रममा वडाध्यक्ष मानबहादुर राईले प्रतुतस गरेको ‘५ वर्षे उपलब्धी’को टिप्पणी गर्दै सहभागीहरुले अन्य वडाको तुलनामा १६ नं. वडाले निकै ठूलो प्रगति गरेको र खोट लगाउने ठाउँ नभएको प्रतिक्रिया दिए।  

दोस्रो कार्यकाल वडाध्यक्ष निर्वाचित राईले अघिल्लो कार्यकालको कामको बिबरण प्रस्तुत गर्दै बिकट र अविकसित वडा भएकाले सबभन्दा बढी स्वास्थ्य, शिक्षा, सिंचाई, खानेपानी, विद्युत, सडक, पर्यटन तथा धार्मिक गतिबिधिमा जोड दिएको बताए। त्यसका लागि भौतिक पूर्वाधारदेखि मानवीय समबेदनासम्ममा आफु नेतृत्वको जनप्रतिनिधि टोली समर्पित भएर लागेको बताउँदै उनले नयाँ कार्यकालमा त्यो आधारभूमिलाई थप व्यवस्थित र बलियो बनाउने प्रतिबद्धता जनाए।  

वडाध्यक्ष राईको प्रतिवेदनमा भौगोलिकरुपमा बिकट भएकाले सबभन्दा पहिले बस्ती बस्ती पुग्ने सडक ट्रयाक खन्ने काम गरेको बताए। ५ वर्षे अवधिमा ७६ किलोमिटर नयाँ सडक खनेर सबै बस्तीबासीलाई यातायात सुविधा पुर्‍याइएको उनको दावी छ। त्यस्तै छिमेकी वडा र गाउँपालिकासँग जोड्न भान्टाबारी–कपासे–धौरी–चिलाउने–आहाले–रौता खण्ड र बोक्से–बेलदोभान–चिलाउने भन्ज्याङ जोड्ने लामा सडकहरु निर्माणाधीन रहेको उनको प्रतिबेदनमा छ। दुवै सडकहरु प्रदेश सरकारमार्फत ‘मुख्यमन्त्री ग्रामिण सडक कार्यक्रम’ अन्तर्गत निर्माणाधीन हुन्।  

उदयपुर सिमेन्ट उद्योगको चुनढुंगा खानीक्षेत्र सिंधाली जाने भान्टाबारी–सुकौरा–सिंधाली खण्डको सुकौरा बजारमा २ करोड मूल्यमा ६ सय मिटर सडक आरसिसि ढलान गरेर बजारलाई धुलोमुक्त बनाइएको छ। छिमेकी रौतामाई गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरी पुग्न आहाले–रातापानी–बरुवा डहर नयाँ सडक निर्माणको अन्तिम चरणमा पुगेको छ।  

वर्षायाममा बाढीले अउजाउ गर्न नदिने बरुवा खोलामा १.७ मिटर चौडाको सिद्रे–अजिंगरे झोलुंगे पुल निर्माण भएको छ भने बरुवाकै बेल्दोभान–तीनतलेमा अर्को झोलुंगे पुल अन्तिम चरणमा पुगेको छ। बरुवाकै रातापानी–बरुवाडहर जोड्न अर्को झोलुंगे पुलको योजना स्वीकृत भएको छ।  

कृषितर्फ ‘एक घर एक भैँसी, खाऔँ दुध नखाऔँ रक्सी’ भन्ने नारासहित ३ वर्षअघि सुरु भएको भैँसी पालन कार्यक्रमबाट अहिले ३७ घर किसान लाभान्वित भईरहेका छन्। वडाको ५० हजार अनुदानमा सुरु भैँसी पालन कार्यक्रम निकै लोकप्रिय भएकाले यसलाई वडाभरी बिस्तार गर्ने लक्ष्य वडाध्यक्ष राईले लिएका छन्। कृषिलाई प्रबद्र्धन गर्न यो अवधिमा बिभिन्न ८ वटा सिंचाई योजना निर्माण भएको छ।  

विदेशबाट फर्केका युवालाई कृषि र पशुपालनबाट स्वरोजगार बनाउँदै गरिवी घटाउने प्रयास स्वरुप तरकारी खेती र पशुपालनमा लगाइएको छ। जसबाट १ सय युवाले वडाबाट सहयोग पाएका छन्। उनीहरुले उत्पादन गरेको कृषि उपज संकलन केन्द्र सञ्चालन गरेर बजारीकरणको व्यवस्था गरिएको छ।  गतवर्ष १ सय ५० जनाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत स्वरोजगार भएकोमा यो वर्ष दोब्बर बनाउने योजना अध्यक्ष राईले सुनाए।  

स्वच्छ खानेपानी उपलब्ध गराउन ‘एक घर एक धारा, पूर्ण सरसफाई हाम्रो अभिभारा’ भन्ने नाराका साथ ३ सय घरधुरीमा धारा जडान गरी खानेपानी व्यवस्था गरिएको छ। बाँकी वडाबासीका लागि संघीय खानेपानी मन्त्रालयबाट ५ ओटा योजनाको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी ‘बरुवा बृहत खानेपानी तथा सरसफाइ आयोजना’को काम अघि बढेको छ।  

‘बालमैत्री र पूर्ण सरसफाई वडा’ घोषित भईसकेको १६ न. मा सहज सञ्चार सेवाका लागि नेपाल टेलिकमको टावर निर्माण गरेर कुना कन्दरा र खोँच, खोल्सीसम्म मोवाईल स्पष्ट सुन्न सकिने भएको छ। चुस्त प्रशासनिक सेवा दिन बिभिन्न बस्तीमा घुम्ती टोली पठाएर वडाले दिने सेवासुविधामा नागरिकको पहुँच पुर्‍याइएको छ। वडाको नयाँ प्रशासनिक भवन बनिसकेकाले त्यहीँबाट सेवा दिने तयारी भएको छ।  

विद्युततर्फ पूर्ण उज्यालो विद्युत बनाउन ‘उज्यालो वडा कार्यक्रम’ घोषणा गरेर सबै गाउँटोलमा विद्युत सेवा विस्तार गरिएको छ। पातलो बस्ती भएको गाउँमा एउटै घरका लागि १४ वटा पोल गाडेर विजुली पुर्‍याएको वडाध्यक्ष राईले बताए। ३ वर्षअघि विस्तार गरिएको काठको पोल विस्थापित गरी ५ सय थान स्टील पोल गाडिएको छ। सुकौरा बजारक्षेत्र र बेल्दोभान तथा वडा कार्यालय क्षेत्रमा सोलार जडान गरी २४ घण्टै उज्यालो बनाइएको छ।  

सबैलाई विद्युतमा पहुँच पुर्‍याउने उदेश्यले तत्काल विद्युतीकरण गर्न नसकिने ४४ घरधुरी बिपन्न परिवारलाई सोलार वितरण गरी उज्यालो बनाइएको छ। तत्काल विद्युत बिस्तार नहुने बस्तीका बालबालिकालाई पढ्न र चुलाचौका गर्ने गृहिणी महिलाहरु यसबाट लाभान्वित भएका छन्।  

गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि पूर्वाधारदेखि दक्ष जनशक्ति व्यवस्थापन गरिएको छ।  नयाँ भवन, शैक्षिक सामग्री, शिक्षक अनुदान र अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने व्यवस्था वडाबाटै गरिएको छ। शिक्षा क्षेत्रमा वडाले कुल बजेटको २० प्रतिशत हिस्सा खर्चदै आएको राईले बताए।  

दलित र जनजाति बालबालिकाको शैक्षिक अधिकारको ग्यारेन्टी गर्न विकट तीनधारेमा बैकल्पिक विद्यालय सञ्चालन गरेर बिपन्न र जेहेन्दार करीव ५ सय जेहन्दार, विपन्न र आर्थिक अवस्था कमजोर परिवारका बालबालिकालाई छात्रबृत्ति प्रदान गरिएको छ। वडाले स्वास्थ्य चौकी चिलाउनेमा नयाँ भवन निर्माण गरी पुरानो भवन मर्मत गरेर प्रसुति सेवा बिस्तार गरेको छ। २ ठाउँ सुकौरा बजार र जाँतेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी सामुदायिक स्वास्थ्य सेवा सञ्चालन गरेको छ।  सुकौरामा उच्च रक्तचाप र मधुमेह (सुगर) र मुटुरोगीको उपचारका लागि रक्त परीक्षण गर्ने ल्याव र इसिजी  सेवा सञ्चालन गरिएको छ।  

स्वास्थ्य चौकीसम्म आउन नसक्ने अशक्त, अपाङ्गता र बृद्धबृद्धालाई घरमै सेवा दिन विशेषज्ञसहितको टोलीले बिकट क्षेत्रका ४ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी ३ सय जनालाई सेवा दिइएको छ। कोभिड संक्रमण रोकथाम र नियन्त्रण गर्न स्थानीय संयन्त्र बनाई परिचालन गर्ने क्रममा वडाध्यक्ष राई र सदस्य गोमा कार्की आफै संक्रमित भई १ महिनामा सञ्चो भएको स्मरण राईले गरे।  

‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गत २५ घरधुरीलाई जस्तापाताको छानोसहितको घर निर्माण भएको र त्यसमा वडाले थप १४ घर थपेर ३९ परिवार अति विपन्न परिवारलाई घर बनाइदिएको छ। वडा कार्यालयनजिकै भोर्ले खोलामा स्ल्याप कल्भर्ट बनाइएको छ भने अम्बोके खोला, काभ्र, चुनिया र केप्छाकी खोलामा तत्कालका लागि ४ ओटा काठेपुल निर्माण गरेर आउजाउ सहज पारिएको छ। ती खोलामा छिट्टै स्ल्याब कल्भर्ट वा पक्की पुल निर्माण गर्न नगरपालिका, प्रदेश र संघमा योजना माग गरिएको वडाध्यक्ष राईले बताए।  

कार्यक्रममा वडा सदस्यहरु घमानसिंह राई, कुन्ति परियार र इन्द्रनारायण श्रेष्ठ, १४ वटै टोल विकास संस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा अध्यक्ष, सामुदायक वन र संघसस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय अगुवा, युवा, महिला, विद्यार्थी, शिक्षकलगायतको सहभागिता रहेको वडा सचिव महेश खनालले बताए।

प्रकाशित: २ आश्विन २०७९ १०:५४ आइतबार