समाज

डा. रुइत र ज्ञवाली अभिनन्दित

नागरिक समूहले तिलगंगा आँखा अस्पतालका निर्देशक तथा वरिष्ठ आँखा चिकित्सक डा. सन्दुक रुइत र प्रेरक वक्ता सुधन ज्ञवालीलाई अभिनन्दन तथा सम्मान गरेको छ।  

समूहले शनिबार आयोजित ‘अबको दृष्टि, स्वाभिमानसहितको समृद्धि’ विषयक अन्तक्र्रिया तथा अभिनन्दन कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरूलाई अभिनन्दन गरेका हुन्। पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा. रूइतलाई सन् २००६ मा रमन म्यागासेसे पुरस्कार प्रदान गरिएको थियो। विश्वविख्यात सरल र कम लागतको मोतियाबिन्दुको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’ का सुरुआतकर्ताका रूपमा परिचित डा. रुइतले आफ्नै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दुसम्बन्धी शल्यक्रिया गरिसकेका छन्।  

त्यस्तै विश्व स्वास्थ्य संगठनमा कार्यरत ज्ञवालीले यसअघि लामो समय रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत सञ्चार माध्यममा काम गरिसकेका छन्। पछिल्लो समय पे्ररक वक्ताका रूपमा चर्चित ज्ञवालीले शिखर न्युज डटकमको युट्युब च्यानल शिखरन्युज टिभीबाट सकारात्मक सोचसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरेका छन्।  

सोही अवसरमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले मुलुकको आर्थिक र सामाजिकलगायत सम्पूर्ण विकासका निम्ति आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा युवापुस्तालाई अवसर दिनुपर्नेमा जोड दिए।  

देशभित्र रहेका जल, जमिन, जडीबुटीलगायत स्रोतसाधनको उपयोग गरी देशभित्रै रोजगारीको सिर्जना गर्नुपर्ने उनको भनाइ थियो। अध्यक्ष तिमिल्सिनाले भने, ‘अब आगामी निर्वाचनमा तपाईंहरूले सुशासन ल्याउन सक्ने, दीर्घकालीन भिजन भएको, पारदर्शी, भ्रष्टाचार अन्त्य गर्नसक्ने नेतृत्व चयन गर्नुपर्छ।’ डा. रुइतले देशका लागि काम गर्नेहरूलाई प्रोत्साहन गर्दै देशको विकासका लागि युवा पुस्तालाई स्थान दिनुपर्ने बताए। कार्यक्रममा प्रेरक वक्ता ज्ञवालीले ‘स्टोरी टेलिङ’ गरेका थिए। समूहका अध्यक्ष जयराम सिग्देलले समूहले भ्रष्टाचारविरुद्धमा समेत अभियान सञ्चालन गर्दै आएको बताए।

प्रकाशित: २ आश्विन २०७९ ०२:०१ आइतबार

डा. सन्दुक रुइत वक्ता सुधन ज्ञवाली