समाज

जीर्ण बन्दैछन् झोलुङ्गे पुल

चौतारा–मेलम्ची सडकको निर्माण  पूरा भएपछि झ्याडी खोलामा रहेको झोलुङ्गे पुलमा मान्छे हिँँड्न छाडेका छन्। मान्छे नहिँड्ने र त्यसको संरक्षण पनि नभएकाले अहिले सो पुलको भग्नावशेष मात्र बाँकी छ।

सडकको विकाससँगै खोला र नदीमा पक्की पुल बन्न थालेपछि झ्याडीखोलाको जस्तै जिल्लाका एक दर्जन झोलुङ्गे पुल ओझेलमा परेका छन्। पक्की पुल बनेपछि मान्छे झोलुङ्गे पुलमा हिँड्न छाड्ने र त्यसको संरक्षण पनि नगर्ने भएकाले पुलको भग्नावशेष मात्र बाँकी रहेको कुञ्चोकका जीवन गिरी बताउँछन्। एक गाउँबाट अर्को गाउँमा जाँदा खोला र नदी तर्नका लागि सहज बनाउन निर्माण गरिएका त्यस्ता पुल कुनै समय मानिसका लागि यातायात र सञ्चार क्षेत्रमा वरदान सावित भएका थिए। अहिले यातायात र सञ्चारको आधुनिकीकरणसँगै झोलुङ्गे  पुलको महत्व घटेको छ।  

पहिला–पहिला जिल्लाको पश्चिमी क्षेत्रका अधिकांश जनता हिँड्डुल गर्ने सिन्धुखोलाको झोलुङ्गे पुलको भग्नावशेष मात्र बाँकी छ। मेलम्चीमा मोटरबाटो निर्माण हुँदा पक्की पुल बनेपछि यसबाट मान्छे हिँँड्न छाडेको र त्यसको संरक्षण पनि नगरिएकाले सो पुल काम नलाग्ने अवस्थामा पुगेको स्थानीयवासी पुरुषोत्तम घोरासैनी बताउँछन्। तालामाराङ, खाल्डेखोला, शिखरपुरको सहरेखोलालगायत यस क्षेत्रका एक दर्जन जति पुल सडकको विस्तरसँगै उपयोगविहिन बनेका हुन्।

प्रकाशित: १ आश्विन २०७९ ०५:५७ शनिबार

झोलुङ्गे पुल