समाज

३७ वर्षमा पनि अलपत्र सेरी पान्तडी सडक

सेरी पान्तडी सडक। तस्बिर: ललित/नागरिक

कालिकोटको सेरी पान्तडी सडक निर्माण कार्य अलपत्र परेको छ। काम सुरु गरेको ३७ वर्ष बित्दा पनि पूरा नहुँदा सेरी पान्तडी सडक निर्माण कार्य अलपत्र परेको हो।

२०४२ सालबाट निर्माण थालिएको खाँडाचक्र नगरपालिकाको सेरीघाटदेखि महावैको पान्तडीसम्मको २३ किलोमिटर सडकको १४ किलोमिटर ट्र्याक खोल्ने काम मात्र भएको छ। सडक पूरा नहुँदा  शुभकालिकाको सुकाटिया, राराकाटिया, महावैको गेला, पाद्मघाट, तिलागुफाका नागरिकको जनजीवन कष्टकर बन्न पुगेको छ।

शुभकालिका गाउँपालिकाका निवर्तमान अध्यक्ष खडानन्द्र चौलागाईंका अनुसार मान्मा जोड्ने सडक निर्माण हुनुअघि २०४२ सालमा सर्भे गरी सीधै सेरीघाटदेखि जुम्ला सडक नाम राखी ५१/५२ सालबाट नेपाली सेनाले काम सुरु गरेको थियो। पछि मान्माबाट काम सुरु हुँदा  त्यो सडक अलपत्र परेको उनले बताए।

शुभकालिका गाउँपालिकाले यो सडक निर्माणमा २ करोड ४९ लाख खर्च गरेको छ। यस्तै पूर्वाधार विकास कार्यालयबाट २०७६ देखि ७८ सम्म दुई करोड ८४ लाख खर्च भएको छ। आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ५५ लाख ६७ हजार ६० रूपैयाँमा ठेक्का भएर काम अगाडि बढेको पूर्वाधार विकास कार्यालयका निमित्त कार्यालय प्रमुख लक्ष्मण पाण्डेले बताए। उनले भने, ‘पहिला जिल्ला विकास समितिले पनि खर्च गरेको देखिन्छ। अहिले प्यासिफिक कर्ण कन्टक्सन र सरिता कृष्ण निर्माण सेवालाई सेरी र पान्तडी सडक निर्माणको जिम्मा दिएको बताए।

प्यासिफिक कर्ण कन्स्ट्रक्सनका इन्जिनियर अर्जुन गौतमका अनुसार सेरीदेखि पान्तडी खण्डको १३ किलोमिटर ट्र्याक खोल्ने जिम्मा आफूले पाएको बताए। उनले भने, ‘सडकको ग्याबिन पाइपको काम पनि छ। सेरी सडक खण्डमा आधा काम गरेका छौं। वर्षाले काम रोकिएको हो।’ ठेकादार तारा शाहले चट्टान धेरै हुँदा  ढिलो भएको बताइन्। उनले चट्टान भएको ठाउँमा नेपाली सेनालाई चट्टान फोर्ने जिम्मा दिएको बताइन्।

प्रकाशित: १ आश्विन २०७९ ०२:२४ शनिबार

सेरी पान्तडी सडक