समाज

जापानद्वारा श्रवण पहिचान उपकरण हस्तान्तरण

जापान सरकारले बिपी नेत्र विज्ञान प्रतिष्ठानलाई श्रवण पहिचान उपकरण तथा ध्वनिरोधी कक्ष हस्तान्तरण गरेको छ। नेपालस्थित जापानी राजदूतावासका डिपुटी चिफ अफ मिसन तामुरा ताकाहिरोले भक्तपुरको मध्यपुर नगरपालिकामा रहेको प्रतिष्ठानको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा उक्त सामान तथा कक्ष हस्तान्तरण गरेका हुन्।

जापान सरकारको ग्रासरुट ह्युमान सेक्युरिटी प्रोजेक्ट (जिजिपी) ले यो सहयोगका लागि कुल एक करोड ४ लाख ४३ हजार रूपैयाँ उपलब्ध गराएको जापानी राजदूतावासले जनाएको छ।

ताकाहिरोले नवजात शिशुमा श्रवणसम्बन्धी समस्या समयमै पहिचान गर्न यी उपकरणले सहयोग गर्ने बताए। नवजात शिशुमा देखिने श्रवणसम्बन्धी समस्याले भाषालगायतका अन्य सिकाइ हासिल गर्न समस्या उत्पन्न हुने गर्दछ।

डिपुटी चिफ अफ मिसन तामुरा ताकाहिरोले यो सहयोगले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ पार्ने बताए। यी मेडिकल सामान तथा कक्ष मध्यपुर ठिमीसहित उपत्यकाका पाँच मेडिकल सेन्टरमा उपलब्ध हुनेछन्।

सन् १९९१ मा स्थापित फाउन्डेसनले जिजिपीको सहयोगमा नेपालभर सयवटा परियोजना कार्यान्वयन गरिसकेको छ।

प्रकाशित: ३१ भाद्र २०७९ ०३:०५ शुक्रबार

जापानद्वारा श्रवण पहिचान उपकरण हस्तान्तरण