समाज

अर्ग्यानिक कर्णालीका लागि ‘बृहत् कर्णाली संवाद’ हुँदै

कर्णाली प्रदेशलाई जैविक कृषि खाद्य प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले ‘बृहत् कर्णाली संवाद’ आयोजना हुने भएको छ।

आइतबार मुख्यमन्त्री कार्यालयको आयोजना, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा कार्यक्रम हुन लागेको हो। अर्ग्यानिक कृषि उत्पादन तथा उपभोग, यसका लागि आवश्यक लगानीको आधार लगायतका विषयमा छलफलका लागि संवाद हुन लागेको प्रदेश सरकारले जनाएको छ।

प्रदेशको भू–बनोट, हावापानी, जलवायु, खेतीयोग्य भूमिको स्रोत, कृषक समुदायको सामाजिक तथा आर्थिक अवस्थालाई मध्यनजर गर्दै सांवाद गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए।

प्रवक्ता कठायतकाअनुसार कृषक समुदायको आयआर्जनमा थप टेवा पुर्‍याउन सकिने कृषि र वन क्षेत्रको विकासको सम्भावनालाई विभिन्न गैर सरकारी संस्था, बहुपक्षीय तथा द्विपक्षीय दातृ निकाय लगायतका सरोकारवालाको एकीकृत र प्रभावकारी परिचालन गरी समुदायको जीवनस्तर सुधार गर्ने विषयमा बृहत छलफल गरिने छ।

उक्त संवादमा प्रदेशको कृषि तथा वन विकासको क्षेत्रगत नीति र अवधारणासँग सामञ्जस्यता ल्याउन पहल, दातृ निकायको स्रोतलाई एकीकृत गर्न समन्वय तथा सहकार्य बढाउने र प्रांगारिक कर्णालीको लक्ष्यमा हातेमालो गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ। यस्तै, अर्ग्यानिक कर्णाली प्रदेश घोषणा गर्ने प्रदेश सरकारको लक्ष्यलाई अन्तर्राष्ट्रियकरणका लागि बाह्य लगानीको आधार तय गर्ने, दातृ निकायलाई एकीकृत गर्ने कार्यक्रमको मुख्य उद्देश्य हो।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वय रहने संवादको शिर्षक ‘ट्रान्सफर्मिङ कर्णाली टुवार्ड्स रेजिलियन्ट एण्ड अर्ग्यानिक एग्री–फुड सिस्टम’ राखिएको छ। संवादको व्यवस्थापनमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल)को आर्थिक सहयोग रहेको छ।

करिब १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको कार्यक्रममा चीन, भारत, फिनल्याण्ड र स्वीट्जरल्याण्डका राजदूतहरू सहभागी हुनेछन्। यस्तै, संघका अर्थ, कृषि, वन, ऊर्जा मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका १९ गैरसरकारी संस्था पनि संवादमा सहभागी हुनेछन्। यस्तै निजी क्षेत्रका व्यवसायी, कृषक प्रतिनिधि तथा अन्य सरोकारवालाहरू पनि संवादमा सहभागी हुने किर्डाक नेपाले जनाएको छ।

प्रकाशित: २५ भाद्र २०७९ १५:३६ शनिबार

अर्ग्यानिक कर्णाली बृहत् कर्णाली संवाद