समाज

दार्चुलामा बाढी: पाँच जनाको मृत्यु, १० जना बेपत्ता, ८ घाइते (अपडेट)

शुक्रबार रातिको अविरल वर्षाका कारण दार्चुलामा बाढी र पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। लास्कु नदीमा आएको बाढीमा परेर २ जना र पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्।  

लास्कु नदीमा आएको बाढीका कारण महाकाली नगरपालिका–१ बस्ने मानमती कार्की र महाकाली नगरपालिका–२ बस्ने नन्दराम बोहराको मृत्यु भएको छ। त्यस्तै नौगाड गाउँपालिका–२, सल्लामा खसेको पहिरोले घर बगाउँदा स्थानीय जानकी ठगुन्ना, धनुली ठगुन्ना र मोहनराम पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै लास्कु नदीमा आएको बाढीमा परेर महाकाली नगरपालिका–४ की सरस्वती लुहार र उनका पति मोहन लुहार, महाकाली नगरपालिका–३, डुङ्ग्रीका धनसिंह कार्की, उनका छोराहरु दीपक कार्की र दिनेश कार्की तथा महाकाली नगरपालिका–२ मैखोलीकी मानमती शाहू, महाकाली–१, का मन्जु लुहार, दिनेश लुहार, डल्ली लुहार र साजन लुहार बेपत्ता भएका छन्। उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

बाढीमा परेर ८ जना घाइते भएका छन्। महाकाली–२ का हर्क शाहू, अभिषेक कामी, गीता कामी, रम्भा ठगुन्ना, फागती ठगुन्ना, जयबहादुर ठगुन्ना, देवसिंह ठगुन्ना, वीरे ठगुन्ना घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यस्तै बाढी र पहिरोका कारण दार्चुलामा ४२ घरमा पूर्ण क्षति पुगेको छ भने ९ घरमा आंशिक क्षति भएको छ।

बाढी र पहिरोका कारण सो क्षेत्रमा ४० घर उच्च जोखिममा रहेका छन्। यस्तै बाढीका कारण महाकाली नगरपालिका–२ स्थित माइकेश्वरी आधारभूत विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने वडा नम्बर ४ बाङ्गेबगडस्थित दशरथ आधारभूत विद्यालयको भवनमा भने आंशिक क्षति पुगेको छ। छपारी जाने झोलुङ्गे पुल र लास्कु खोलामा रहेको मोटरेवल पुल बाढीले बगाएको छ। लास्कु खोला नजिकै पार्किङ गरी राखिएका ६ जिप, १ कार, १ ट्याक्टर, १ जेसिबी गरी ९ वटा सवारी साधन बगेका छन्।

प्रकाशित: २५ भाद्र २०७९ ११:३८ शनिबार

बाढी र पहिरो