समाज

असोज ३ गतेदेखि ‘काभ्रे महोत्सव’ हुने

फाइल तस्बिर।

दशैंको अवसरमा काभ्रेको बनेपामा काभ्रे महोत्सव हुने भएको छ। जिल्लाका परम्परागत कला संस्कृति, औद्योगिक व्यापार, घरेलु, कृषि, पर्यटन प्रवद्र्धनका लागि पाँचौं काभ्रे महोत्सव हुन लागेको हो।  

कोभिडले थलिएको व्यापार व्यवसाय क्षेत्रमा सकारात्मक सन्देश प्रवाहका लागि हुने महोत्सव असोज ३ गतेदेखि १५ गतेसम्म स्थानीय उग्रेश्वर मन्दिर परिसरमा हुन लागेको काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेले जनाए। दशैंको बेला सहज र सुलभ ढंगले उपभोग्य सामाग्री उपलब्धताका लागि महोत्सवले भूमिका खेल्ने उनको विश्वास छ।  

संघका महासचिव रवीन्द्र वैदारले महोत्सले स्थानीय कला संस्कृति, उत्पादनलाई समेत जोड दिने बताए। स्थानीय उत्पादनदेखि अन्य औद्योगिक सामाग्री, कृषि उपजका स्टलदेखि मनोरञ्जनका लागि बाल उद्यान, रोटे पिङ, मिनी बञ्जीजम्प, मिकी माउस, नाउ, ड्रागन, टेम्पोलिङ्गका साथै महोत्सव अवधिभर स्थानीयदेखि राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती हुने महोत्सव व्यवस्थापक ममता केन्द्र नेपालका निर्देशक संगम लामाले बताए।  

लामाका अनुसार महोत्सवमा विभिन्न बस्तु, उत्पादनका एक सय १५ वटा स्टलहरु राखिने छन्। ती स्टलहरु बस्तुको प्रकृति अनुसार १७ हजार ५ सयदेखि ३५ हजारसम्ममा उपलब्ध हुने जनाइएको छ। बनेपाभित्र दर्ता भएका उद्योग तथा कम्पनीका लागि १५ प्रतिशत र एक भन्दा बढी स्टल लिनेलाई १० प्रतिशत छुटको व्यवस्था गरिने आयोजकले जनाएको छ।

५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा १ करोडको आर्थिक कारोवार हुने अनुमान गरिएको छ।

प्रकाशित: २५ भाद्र २०७९ ०७:०५ शनिबार

काभ्रे महोत्सव